बैशाख २७, दाङ – तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार लवरू चौधरीको निधन भएको छ ।

उनी तुलसीपुर वडा नम्बर १७ मा उम्मेदवार थिए । चौधरीको कलेजोमा समस्या भएको र उपचारका क्रममा काठमाडौंमा निधन भएको हो ।

चुनाव प्रचारप्रसारका क्रममा बिरामी परेपछि उनलाई उपचारका लागि दुई पटक नेपालगन्जस्थित भेरी अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार संभव नभएपछि थप उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएको थियो । चौधरी ०७४ को चुनावमा तुलसीपुर १७ को वडा सदस्यमा निर्वाचित भएका थिए । उनको शव दाङ ल्याउने तयारी भइरहेको पारिवारिक स्रोतले बताएको छ ।

वडाको निर्वाचन स्थगित हुन्छ: निर्वाचन अधिकृत

वडाध्यक्षका उम्मेदवारको निधन भएपछि वैशाख ३० मा यो वडामा निर्वाचन नहुने भएको छ ।

निर्वाचन अधिकृत राजेश्वर अर्यालले यो वडामा निर्वाचन स्थगित हुने बताए। एमालेबाट उम्मेदवारको मृत्यु भएको भन्नेबारे उक्त पार्टीले आधिकारीक जानकारी हालसम्म नपठाएको भए पनि आफूहरुसम्म त्यो सूचना भने आइसकेको उनले बताए ।

आयोगको निर्देशनअनुसार आफूहरु अगाडि बढ्ने हुँदा आयोगको निर्णय पर्खिनु पर्ने उनले बताए।

प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार