सल्यानको कालिमाटी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष मित्रलाल रिजालले आफ्ना गाउँवासीको पीडा बोकेर कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय अगाडि रातभर झुल टाँगेर धर्ना दिएका छन्।
सडक नहुँदा बिरामीले सास्ती खेप्नुपरेको, फोन गर्न अग्ला डाँडा चढ्नुपर्ने बाध्यता अझै अन्त्य नभएको र अन्धकारमै जीवन बिताइरहेका गाउँलेको आवाज सरकारसम्म पुर्याउन उनी रातभर खुला आकाशमुनि बसे।
“जनताको समस्या सुनिदिने कोही भएन,” भन्दै उनले सरकारको ध्यानाकर्षण गराउन यस्तो कठोर कदम चाल्नुपरेको बताएका छन्। उनले राखेका मागहरमा घुईयाबारी–स्वामीबास–बबई सडकको स्तरवृद्धि तथा कालोपत्रे, टेलिकम टावर निर्माण, विद्युत विस्तार छन।
वडाध्यक्ष रिजालको यो कदम अहिले सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनेको छ। धेरैले जनताको आधारभूत अधिकारका लागि आफ्नै शरीरलाई संघर्षको माध्यम बनाएको भन्दै उनको प्रशंसा गरेका छन्।
“कुर्सीमा बसेर होइन, जनताको पीडामा रात कटाएर आवाज उठाइरहेका छन्,” भन्दै स्थानीयले सरकारलाई अब कम्तीमा दुर्गम बस्तीको पीडा बुझ्न आग्रह गरेका छन्।