कार्तिक ०९, सल्यान – नेपाली कांग्रेस दार्मा गाउँपालिकाले सल्यानको दार्मा गाउँपालिकाभित्रका विभिन्न विषयमा गाउँपालिकाको गम्भीर ध्यानाकर्षण गराएको छ। कांग्रेसले गाउँपालिकामा निर्माण गरिएको सहिद गेटमा राजनीतिक दलको चुनाव चिह्न राखिएको भन्दै आपत्ति जनाउँदै उक्त चिह्न तत्काल हटाउन माग गरेको छ।

नेपाली कांग्रेस दार्मा गाउँपालिका कार्यसमितिले गाउँपालिका अध्यक्षलाई सम्बोधन गर्दै मिति २०८३/०७/०९ मा बुझाएको पत्रमा सहिद गेटमा राखिएको राजनीतिक दलको चुनाव चिह्नप्रति आपत्ति जनाएको हो।

पत्रमा सहिद गेटजस्तो साझा तथा सार्वजनिक स्थलमा कुनै एक राजनीतिक दलको चुनाव चिह्न राखिनु अनुचित भएको उल्लेख गर्दै सहिदहरू राष्ट्रका साझा सम्पत्ति भएकाले सबै सहिदप्रति समान सम्मान हुनुपर्ने कांग्रेसको धारणा छ।

कांग्रेसले सहिद गेटमा राखिएको राजनीतिक दलको चुनाव चिह्न तत्काल हटाएर उक्त स्थानमा नेपालको राष्ट्रिय झण्डा राख्न गाउँपालिकासँग आग्रह गरेको छ। सार्वजनिक तथा साझा स्थलमा दलगत चिह्न राखिँदा त्यसले गलत सन्देश दिने भन्दै कांग्रेसले यस्तो कार्य सच्याउनुपर्नेमा जोड दिएको छ।

पत्रमार्फत ध्यानाकर्षण गराउँदा पनि १५ दिनभित्र गाउँपालिकाबाट कुनै ठोस पहल नभए नेपाली कांग्रेस दार्मा कानुनी उपचारको बाटोमा जान बाध्य हुने चेतावनीसमेत दिइएको छ।

नेपाली कांग्रेस दार्मा गाउँपालिकाका सभापति विशाल सिंह र सचिव पदम के.सी.द्वारा हस्ताक्षरित पत्रमा उक्त विषयलाई गम्भीरतापूर्वक लिएर आवश्यक कदम चाल्न गाउँपालिकालाई अनुरोध गरिएको छ।

सहिद गेटजस्तो सार्वजनिक र साझा महत्वको संरचनामा दलगत चिह्न राख्ने विषयले स्थानीय राजनीतिक वृत्तमा बहस सिर्जना गर्न सक्ने देखिएको छ। अब गाउँपालिकाले यस विषयमा कस्तो कदम चाल्छ भन्ने चासो बढेको छ।

प्रकाशित मिति : २०८३ कार्तिक १० गते सोमवार