असोज २१, सल्यान – सल्यानको बाफुखोला निवासी नेपाली कांग्रेसका नेता दिपेन्द्र प्रकाश खत्रीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (कर्णाली प्रदेश भूगोल) पदमा उम्मेदवारी दिएका छन् ।
करिब ३० वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका खत्रीले पार्टीको १२औँ महाधिवेशनदेखि निरन्तर महाधिवेशन तथा महासमिति प्रतिनिधिका रूपमा भूमिका निर्वाह गर्दै आएको बताइएको छ । लामो समयदेखि पार्टी संगठनमा सक्रिय भए पनि आफूले अहिलेसम्म कुनै महत्वपूर्ण अवसर नपाएको खत्रीको भनाइ छ ।
खत्रीले आफ्नो लामो राजनीतिक योगदान, संगठनप्रतिको निरन्तर सक्रियता र कार्यकर्तासँगको सम्बन्धलाई आधार बनाएर यसपटक केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बताएका छन् । “राजनीतिक यात्रामा लामो समयदेखि सक्रिय रहँदै आए पनि अहिलेसम्म कुनै अवसर पाएको छैन । यसपटक भने पार्टीका नेता–कार्यकर्ताले न्याय गर्नुहुनेछ र पक्कै पनि विजयी गराउनुहुनेछ भन्ने अपेक्षा गरेको छु,” खत्रीले बताए ।
राजनीतिसँगै सामाजिक तथा व्यावसायिक क्षेत्रमा समेत सक्रिय खत्री तुलसीपुर उद्योग वाणिज्य संघको दुई पटक अध्यक्ष भइसकेका छन् । उनले स्थानीय, प्रदेश तथा संघीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको उनका समर्थकहरूको भनाइ छ ।
लामो समयदेखि पार्टी संगठनमा सक्रिय, विभिन्न तहका महाधिवेशन तथा महासमिति प्रतिनिधिका रूपमा अनुभव हासिल गरेका खत्रीले कर्णाली प्रदेशको भूगोलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएसँगै उनको उम्मेदवारीलाई कर्णालीका कांग्रेस कार्यकर्ताले चासोका साथ हेरेका छन् ।
१५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (कर्णाली प्रदेश भूगोल) पदका उम्मेदवार खत्रीलाई अत्यधिक बहुमतका साथ विजयी गराउन उनका समर्थकहरूले महाधिवेशन प्रतिनिधिहरूसमक्ष अपिल गरेका छन् ।