दाङको घोराही उपमहानगरपालिका–८ का वडा अध्यक्ष जितेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य विपिन कुमार आचार्य माथि सार्वजनिक रूपमा आक्रोश पोख्दै कडा टिप्पणी गरेका छन्।

शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद आचार्यमाथि जनप्रतिनिधिसँग सम्पर्कविहीन बनेको आरोप लगाएका हुन्। उनले आफूले पटक–पटक गरी ६ पटक फोन गर्दा अधिकांश समय फोन नउठाएको र एकपटक सम्पर्क हुँदा पनि भेटका लागि समय नदिएको दाबी गरेका छन्।

फेसबुक स्टाटसमार्फत शाहले “आफूलाई नयाँ र फरक भन्ने सांसद पनि अन्ततः कायर नै साबित भएको” टिप्पणी गर्दै चुनावअघि जनतामाझ रहने प्रतिबद्धता व्यक्त गरे पनि अहिले त्यसको विपरीत व्यवहार देखिएको आरोप लगाए।

उनले चुनावताका हरेक दिन रातिराति घरमै आएर ‘दाइ–दाइ’ भन्ने नेता अहिले भेट्नसमेत नचाहेको उल्लेख गर्दै पूर्वमन्त्री रेखा शर्मा र शंकर पोखरेल सँग तुलना गरेका छन्।

शाहले आफ्नो स्टाटसको अन्त्यमा जनतासँग टाढिने नेताहरूलाई जनताले नै राजनीतिक रूपमा टाढा पुर्‍याउने चेतावनी दिँदै “एकपटक सांसद भएको थिएँ भन्नेबाहेक केही बाँकी नरहने” टिप्पणी गरेका छन्।

वडा अध्यक्ष शाहको यो अभिव्यक्तिपछि स्थानीय राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ भने सांसद आचार्यको प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

प्रकाशित मिति : २०८३ असार ४ गते बिहिवार