दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर डर–धम्की दिँदै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने युवक लागुऔषधसहित पक्राउ परेका छन्।

प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगर ले करिब तीन महिनाअघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाउँदै कुटपिट गरेको भिडियो मंगलबार राति आफ्नै फेसबुक आईडीमार्फत सार्वजनिक गरेका थिए।

भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले तत्काल अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा मंगलबार राति १०:४० बजे मगरलाई उनकै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले उनको साथबाट Pregamax १ ट्याब्लेट, Trohmo ४१ ट्याब्लेट, Antikop २ ट्याब्लेट र Nitrazohm ५ ट्याब्लेट बरामद गरेको छ। बरामद औषधिहरू लागुऔषधजन्य रहेको भन्दै प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

घटनासँग सम्बन्धित रहेको आशंकामा तुलसीपुर–२ बालापुर निवासी २१ वर्षीय जिबराज खत्री लाई समेत नियन्त्रणमा लिइएको छ।

युवतीमाथि भएको कुटपिटको भिडियो आफैंले सामाजिक सञ्जालमा पोस्ट गरेपछि घटना सार्वजनिक भएको हो। प्रहरीले घटनाको वास्तविकता, कुटपिटको कारण र अन्य संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : २०८३ असार ३ गते बुधवार