विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र म्यासेन्जरमा शुक्रबार साँझदेखि व्यापक प्राविधिक समस्या देखिएको छ। नेपाली समयअनुसार साँझ करिब ७:१५ बजेदेखि सुरु भएको समस्याले विश्वभरका लाखौं प्रयोगकर्तालाई प्रभावित बनाएको छ।

डाउनडिटेक्टरका अनुसार फेसबुकमा ६२ हजारभन्दा बढी र इन्स्टाग्राममा हजारौं गुनासो दर्ता भएका छन्। धेरै प्रयोगकर्ताले फेसबुकमा लग–इन गर्न नसकेको, अकाउन्ट आफैं लगआउट भएको तथा “This page isn’t available right now” वा “Something went wrong” भन्ने सन्देश देखिएको बताएका छन्। इन्स्टाग्राममा फिड, स्टोरी र पोस्टहरू लोड हुन छाडेका छन् भने म्यासेन्जरमार्फत सन्देश पठाउन र प्राप्त गर्नसमेत समस्या देखिएको छ।

यो समस्या अमेरिका, बेलायत, भारत, फिलिपिन्स, क्यानडा, अष्ट्रेलिया, जापान, स्पेन, कम्बोडिया, हंगेरी, अफगानिस्तान लगायत ७० भन्दा बढी देशमा रिपोर्ट गरिएको छ। विभिन्न देशका प्रयोगकर्ताले एकै समयमा फेसबुक, इन्स्टाग्राम र म्यासेन्जर प्रयोग गर्न नसकेको बताएका छन्, जसले यो स्थानीय नभई विश्वव्यापी (Global Outage) भएको पुष्टि गरेको छ।

नेपालका धेरै प्रयोगकर्ताले पनि फेसबुक र म्यासेन्जर चल्न छाडेको, लग–इन समस्या आएको तथा पोस्ट र सन्देशहरू लोड नभएको गुनासो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

फेसबुकको मातृ कम्पनी Meta Platforms ले समस्या भएको स्वीकार गर्दै प्राविधिक टोली समाधानमा जुटेको जनाएको छ। कम्पनीका प्रवक्ता Andy Stone ले सामाजिक सञ्जाल एक्समार्फत सेवामा समस्या आएको र त्यसको समाधानका लागि काम भइरहेको बताएका छन्। तर समस्या के कारणले उत्पन्न भयो र पूर्ण रूपमा कहिलेसम्म समाधान हुन्छ भन्नेबारे कम्पनीले अहिलेसम्म विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

यसबीच विज्ञहरूले प्रयोगकर्तालाई अनावश्यक रूपमा पासवर्ड परिवर्तन नगर्न तथा अकाउन्ट ह्याक भएको ठानेर हतारमा कुनै कदम नचलाउन सुझाव दिएका छन्, किनकि यो समस्या मेटाको सर्भरसँग सम्बन्धित देखिएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ २९ गते शुक्रवार