असार ११, सल्यान – छत्रेश्वरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। मंगलबार भोटेचौरस्थित गाउँपालिकाको सभाहलमा सम्पन्न १८औँ गाउँसभामा ५२ करोड ५३ लाख ३८ हजार १९४ रुपैयाँ बराबरको बजेट पारित गरिएको हो।
सभामा अध्यक्ष ओज बहादुर बुढाथोकीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुशासन, संस्थागत विकास, न्यायिक सेवा, नागरिक हक–अधिकारको संरक्षण, स्थानीय संस्कृति र परम्पराको संरक्षण, अन्तरसरकारी समन्वय, सहकारी प्रवर्द्धन, गरिबी निवारण, आन्तरिक लेखा परीक्षण र जीन्सी व्यवस्थापनसम्बन्धी नीतिहरू समावेश गरिएका छन्।
अध्यक्षले चालु वर्षमा ३० किमि नयाँ सडक निर्माण, २,१८६ मिटर सडक कालोपत्रे, ३८ किमि सडक स्तरोन्नति र ६८ किमि सडक मर्मत गरिएको जानकारी दिए।
गाउँपालिका उपाध्यक्षले बजेट प्रस्तुत गर्दै गत १६औँ अधिवेशनबाट स्वीकृत ४९ करोड ४७ लाख २६ हजार बजेटमध्ये असार ८ सम्ममा ३५ करोड ७४ लाख ७९ हजार ६९९ रुपैयाँ खर्च भइ ७१ प्रतिशत प्रगति हासिल भएको उल्लेख गरिन्। आगामी वर्षको लागि चालु खर्चतर्फ १३ करोड ३९ लाख २ हजार र पुँजीगत खर्चतर्फ ८ करोड ९० लाख ६४ हजार १९४ रुपैयाँ विनियोजन गरिएको छ।
सभामा वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्यहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने अन्य सदस्यहरूले छलफलमा सक्रिय सहभागिता जनाएका थिए।