नेत्र विक्रम चन्द `विप्लव´ नेतृत्वको  नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले संगठन अधिवेशन आयोजक समितिका सदस्य तथा पार्टीका सक्रिय नेता चन्द्र खडका `असल सी´ लाई पार्टीको सम्पूर्ण जिम्मेवारी र साधारण सदस्यताबाट समेत मुक्त गरेको घोषणा गरेको छ।

महासचिव विप्लव सी द्वारा जारी विज्ञप्तिअनुसार असलले पार्टीमा रहँदै ‘वाम–लोकतान्त्रिक युवा अभियान’ निर्माण गरेको र त्यसबारे पार्टी नेतृत्वलाई जानकारी गराएको विषयलाई लिएर कारबाही गरिएको हो। उनी विप्लवका विश्वास पात्र मध्येका एक हुन। गत प्रतिनिधि सभा निर्वाचनमा सल्यानबाट उम्मेदवार असल पराजित भएका थिए।

विज्ञप्तिमा पार्टीको जिम्मेवारीमा बसेर अलग राजनीतिक दिशा र अभियान सञ्चालन गर्न नसकिने उल्लेख गर्दै पार्टीको विचार, नीति र कार्यक्रमविपरीत गतिविधि स्वीकार्य नहुने स्पष्ट पारिएको छ। पार्टीले असलको गतिविधिलाई संगठनको निर्णय र कार्यदिशाविरुद्ध रहेको निष्कर्ष निकाल्दै उनलाई सबै जिम्मेवारीबाट मुक्त गरेको जनाएको छ।

माओवादीले आफूहरू वैज्ञानिक समाजवाद र समाजवादको लक्ष्यसहित अघि बढिरहेको दाबी गर्दै पार्टीको मूल विचार र आन्दोलनभन्दा बाहिर गएर नयाँ मोर्चा तथा अभियान निर्माण गर्ने प्रवृत्ति स्वीकार गर्न नसकिने बताएको छ।

यो निर्णयसँगै नेकपा (माओवादी) भित्र नयाँ राजनीतिक बहस र ध्रुवीकरणको संकेत देखिएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

‘वाम–लोकतान्त्रिक युवा अभियान’ काे तयारी के छ ?

लोकतन्त्रप्रति प्रतिबद्ध वामपन्थी, समाजवादी, प्रगतिशील तथा पहिचानवादी धाराका युवाहरूले संयुक्त रूपमा नयाँ राजनीतिक–सामाजिक अभियानको तयारी गरेका छन् । त्यसका लागि आगामी ४ असारमा काठमाडौंमा बृहत् छलफल आयोजना गर्ने गरि सार्वजनिक आह्वानपत्र समेत सार्वजनिक भइसकेको छ। जसमा पूर्वमन्त्री तथा पूर्वसांसद, नागरिक समाजका प्रतिनिधि, कलाकार, युवा अभियन्ता र पत्रकारसहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहमति हस्ताक्षर छ ।

लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता तथा संविधानले सुनिश्चित गरेका जनअधिकारहरूको रक्षा गर्दै राज्य प्रणालीलाई थप उत्तरदायी बनाउने उद्देश्यसहित राष्ट्रियता, सुशासन, सामाजिक न्याय र समृद्धिसम्बन्धी मुद्दामा साझा अभियान निर्माण गर्ने उद्देश्यसहित छलफल गर्न लागिएको हो।

संविधानको पुनरावलोकन प्रक्रियामा जनअधिकारको पक्षमा सक्रिय भूमिका निर्वाह गर्ने, सरकारबाट हुने जनविरोधी तथा संविधानविपरीत गतिविधिको खबरदारी गर्ने र उत्पीडित वर्ग, समुदाय, जाति, क्षेत्र तथा लिङ्गका अधिकारका पक्षमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

असलकाे धारणा जस्ताको तस्तै

सम्पुर्ण रुपमा स्वतन्त्र भएको घोषणा गर्दछु ।

नेपाली कम्युनिस्ट आन्दोलन आज गम्भीर वैचारिक, राजनीतिक र संगठनात्मक चुनौतीहरूको सामना गरिरहेको छ । एक समय समाज परिवर्तनको प्रमुख शक्ति मानिएको कम्युनिस्ट आन्दोलन विभिन्न विभाजन, अवसरवाद, व्यक्तिवाद र सत्ता–केन्द्रित प्रवृत्तिका कारण कमजोर बन्दै गएको देखिन्छ । जनताको आकांक्षा र आन्दोलनको मूल उद्देश्यबीच दूरी बढ्दै गएको अवस्था छ । यस्तो परिस्थितिमा आन्दोलनको पुनः समीक्षा, आत्मआलोचना र पुनर्गठनको आवश्यकता झन् बढेको महसुस भएको छ ।

मैले १० वर्षे जनयुद्ध, त्यसपछिको शान्ति प्रक्रिया तथा पछिल्लो १२ वर्षसम्म विप्लव नेतृत्वको पार्टी साथै नेतृत्व सङ्ग विभिन्न जिम्मेवारी र भूमिकामा रहेर काम गर्ने अवसर पाएँ । यस अवधिमा करिब १० महिना जेल हिरासत यातना भोगे पनि । आन्दोलनका सकारात्मक पक्षहरूबाट धेरै सिक्ने अवसर पनि पाए । जनताको अधिकार, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र परिवर्तनका लागि भएका संघर्षहरू ऐतिहासिक महत्वका छ्न । साथै, संगठन निर्माण, राजनीतिक चेतना विस्तार र संघर्षशील संस्कृतिको विकासमा पनि महत्वपूर्ण योगदान पुर्याएको अनुभुति हुन्छ ।

तर, आन्दोलनभित्र देखिएका वैचारिक अस्पष्टता, नेतृत्वको कमजोरी, संगठनात्मक असन्तुलन, आत्मआलोचनाको कमी तथा जनअपेक्षाअनुसार परिणाम दिन नसक्ने कार्यनिति र कार्यक्रम नकारात्मक पक्षहरू पनि उत्तिकै गम्भीर बने। यसका बाबजुत क्रान्ति केवल जिवन जिउने साधन मात्र बन्न पुग्यो । यिनै अनुभव र निष्कर्षका आधारमा आन्दोलनलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने आवश्यकता मैले महसुस गरेको थिए । परिणाम त त्यो अनुभुत हुन सकेन ।
त्यसकारण आजकै मितिदेखि मैले पार्टी तथा आन्दोलनभित्र निर्वाह गर्दै आएका सम्पूर्ण जिम्मेवारीहरूबाट राजीनामा दिने निर्णय गरेको छु । यो निर्णय कुनै व्यक्तिगत असन्तुष्टि वा पलायनका कारण होइन, बरु व्यापक वामपन्थी एकता, वैचारिक बहस र कम्युनिस्ट आन्दोलनको पुनर्गठनमा स्वतन्त्रतापूर्वक योगदान गर्ने उद्देश्यले लिएको हु । क्रान्ति मेरो अभिस्ट हो किनकि क्रान्तिमा मेरो बुवाको बलिदान भएको छ भने मेरो पनि रगत बगेकोछ । रगतको बलिदान गर्न सक्ने मान्छेले  गद्दारी गर्न कठिन हुन्छ ।

आगामी दिनहरूमा म कुनै पद, प्रतिष्ठा वा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सच्चा कम्युनिस्ट मूल्य, जनताको पक्षधर राजनीति र बाम आन्दोलनको पुनर्गठन अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु । नेपालको प्रगतिशील, देशभक्त तथा परिवर्तनकामी शक्तिहरूबीच संवाद, सहकार्य र एकताको पहलमा आफ्नो भूमिका निरन्तर जारी रहने छ ।जनताको मुक्तिको लक्ष्य र समाज परिवर्तनको सपनाप्रति मेरो विश्वास यथावत् रहेको छ । महान सहिदहरुको बलिदान र सपनालाइ अन्न्तिम सम्म आत्मसाथ गरेर लडिरहने प्रतिबद्द्ता गर्दछु ।
आन्दोलनको यो अबधि सम्म सकारात्मक र नकारात्मक भुमिका सहित साथ दिने सम्पुर्ण कमरेडहरुमा मनै देखि धन्यवाद ।
चन्द्र खड्का असल

प्रकाशित मिति : २०८३ जेष्ठ २६ गते मङ्गलवार