एमाले महासचिव शंकर पाेखरेलले ‘जान्नेलाई छान्ने’ भन्ने नाराको वास्तविकता एकपछि अर्को गर्दै उजागर भइरहेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले देशविरुद्धका गतिविधिलाई सामान्य ठान्ने, राज्यविरुद्धका विध्वंसात्मक अपराधलाई बहादुरीका रूपमा प्रस्तुत गर्ने, स्वार्थमा आधारित सेटिङलाई विधि बनाउने तथा अर्थविधेयकजस्तो संवेदनशील दस्तावेजमा गैरकानुनी छेडखानी गर्ने प्रवृत्तिको आलोचना गरेका छन्।

पोखरेलले अवैध धनका स्रोतलाई प्रणालीको कमजोरीका रूपमा व्याख्या गर्ने, आफ्ना मानिसलाई विभिन्न जुक्ति प्रयोग गरी उन्मुक्ति दिने र अरूलाई जसरी पनि दोषी देखाउन खोज्ने कार्यलाई ‘जान्नेलाई छान्ने’ को उदाहरण मान्न नसकिने बताएका छन्।

“यदि यही कुरालाई नै ‘जान्नेलाई छान्ने’ भनेको हो भने यो योग्यता होइन, पाखण्ड हो। स्वेच्छाचारिता, पक्षपात र भ्रष्टताको संस्थागत रूप हो,” उनले उल्लेख गरेका छन्।

उनले सुशासन र तीव्र विकासका लागि विगतका कमजोरी सच्याउनु आवश्यक भए पनि ती कमजोरीलाई बिर्साउने गरी नयाँका नाममा गरिने कुकर्म कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्।

पोखरेलको उक्त टिप्पणी पछिल्लो समय सुशासन, भ्रष्टाचार र राज्य सञ्चालनको विषयलाई लिएर भइरहेको राजनीतिक बहसका बीच आएको हो।

प्रकाशित मिति : २०८३ जेष्ठ २७ गते बुधवार