सामाजिक सञ्जालमा हातमा तरवार समातेर सर्वसाधारणलाई त्रसित बनाउने खालको भिडियो पोस्ट गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शारदा नगरपालिका–१ सितलपाटी निवासी २१ वर्षीय विक्की मल्ल ठकुरीलाई फेसबुक र टिकटकमार्फत हातमा हतियार (तरवार) लिएर समाजमा आतंक फैलाउने किसिमका भिडियो पोस्ट गरेको आरोपमा नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार उनले आफ्नो फेसबुक तथा टिकटक आईडीमार्फत सार्वजनिक गरेको भिडियोले आम नागरिकमा त्रास सिर्जना गर्ने तथा सामाजिक शान्ति खलबल्याउने सम्भावना देखिएपछि पक्राउ गरिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। पक्राउ परेका ठकुरीविरुद्ध म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८३ असार २ गते मङ्गलवार