काठमाडौंको टोखा र चन्द्रागिरी नगरपालिका क्षेत्रमा फार्महाउस सञ्चालन गर्दै आएका १३ जना लागूऔषध कारोबारीलाई प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा नुवाकोट किस्पाङ गाउँपालिका–२ का २२ वर्षीय निमा तामाङ र २३ वर्षीय बिक्रम लामा, रूपन्देही बुटवल उपमहानगरपालिका–७ का २९ वर्षीय सागर बुढाथोकी, भक्तपुर मध्यपुर थिमि नगरपालिका–४ का ४५ वर्षीय उद्धव श्रेष्ठ, भक्तपुर चाँगुनारायण नगरपालिका–७ का २७ वर्षीय विकास काफ्ले, सिन्धुली फिक्कल गाउँपालिका–४ की ३२ वर्षीया माया विशङ्खे, कालिकोट पलाँता गाउँपालिका–३ का २६ वर्षीय खड्क रोकाया र २७ वर्षीया कमला थामी, बाजुरा स्वामिकार्तिक खापर गाउँपालिका–१ की २९ वर्षीया मेनुका थामी, बारा जीतपुरसिमरा उपमहानगरपालिका–७ का ३४ वर्षीय प्रदिप भनिने सञ्जय साह सोनार, पर्सा बहुदरमाई नगरपालिका–९ का ३६ वर्षीय प्रमोद प्रसाद कलवार, काठमाडौं महानगरपालिका–१६ की ४० वर्षीया मोनिका श्रेष्ठ तथा काठमाडौं महानगरपालिका–७ की २९ वर्षीया सुशिला महर्जन रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ लाख ९ हजार ट्याब्लेट, बुप्रेनोर्फिन, डाईजेपाम र फेनारगन गरी जम्मा २ हजार ४ सय एम्पुल, नगद ७ लाख ८७ हजार ५ सय रुपैयाँ तथा २८ थान मोबाइल फोन बरामद गरिएको छ।

प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकाहरूले भारतबाट लागूऔषध खरिद गरी नेपाल ल्याउने, त्यसपछि आफूहरूले सञ्चालन गर्दै आएका फार्महाउसको परिसरभित्र खाडल खनेर लागूऔषध लुकाउने र विभिन्न स्थानमा बिक्री वितरण गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

फार्महाउसलाई आवरण बनाएर सञ्चालन भइरहेको उक्त अवैध कारोबारबारे विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो। त्यसक्रममा गरिएको कारबाहीमा ठूलो परिमाणमा लागूऔषध बरामद हुनुका साथै गिरोहमा संलग्न १३ जनालाई नियन्त्रणमा लिन सफल भएको हो।

बरामद लागूऔषधको परिमाण र कारोबारको शैली हेर्दा यो संगठित सञ्जालमार्फत सञ्चालन हुँदै आएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनामा संलग्न अन्य व्यक्ति तथा सञ्जालको खोजी कार्य जारी रहेको जनाइएको छ।

यस सम्बन्धमा पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ असार १ गते सोमवार