भारतबाट सुन जस्तो देखिने पहेँलो धातु नेपाल भित्र्याएर कारोबार गर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लमही नगरपालिका–९ अमिलियास्थित नमस्ते होटलमा सुनकाे काराेबार हुदैछ भन्ने विशेष सुचनाकाे आधारमा इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको टोलीले खानतलासी गर्दा दाङको राजपुर गाउँपालिका–७ सुनपथरी निवासी ४० वर्षीय रूपलाल गिरी र रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–६ निवासी २२ वर्षीय दिलिप परियारलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले उनीहरूको साथबाट २१६.५०० ग्राम तौलको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको जनाएको छ। बरामद धातुको अनुमानित बजार मूल्य ५२ लाख ७४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्ने २ जना मध्ये गिरी बेच्ने र परियार किन्ने व्यक्ति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर केसीले बताए।

प्रकाशित मिति : २०८३ जेष्ठ ३० गते शनिवार