माघ १२, सुर्खेत – राष्ट्रियसभा सदस्य पदका लागि कर्णाली प्रदेशमा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।

गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उदय बोहोरा, माओवादीका नरबहादुर विष्ट र काँग्रेसकी दुर्गा कुमारी गुरुङ निर्वाचित बनेका हुन् ।

निर्वाचित बनेका बाेहराले बोहोराले प्रदेश सभाका २१ र स्थानीय तहका १११ सहित ३००६ मतभार प्राप्त गरेका छन् । त्यस्तै विष्टले तीन हजार ६ र गुरुङले २ हजार ९ सय ७० मत ल्याएका छन् ।

पराजित बनेका एमालेका गंगा थापा महतले १,४१६, पदम बहादुर माझीले १,३९८ र चुडामणी शर्माले १,४१६ मत मात्र प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएकाे छ ।

बुधबार बिहान ९ बजेदेखि प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर सुर्खेतमा भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । मतदान गर्ने ३५ प्रदेशसभा सदस्यमध्ये ३४ र १५६ पालिका पदाधिकारीमध्ये १५५ जनाको मत खसेको थियो ।

मतदान नगर्नेमा प्रदेशसभा सदस्य तथा राप्रपा नेतृ सोशिला शाही र कालिकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली रहेकी छन् ।

प्रकाशित मिति : २०७८ माघ १२ गते बुधवार