ईश्वरी जीएम एमालेकी सबैभन्दा कान्छी केन्द्रीय सदस्य। उनी ३२ की मात्र भइन् तर रोल्पाकी छोरी उनी हालै चितवनमा सम्पन्न एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।

२०४६ सालमा जन्मिएकी उनी ०६२ सालदेखि एमालेको राजनीतिमा सक्रिय छिन्। माओवादीले ‘आधार क्षेत्र’ दाबी गर्ने रोल्पाकी उनी  तत्कालीन नेकपा माओवादीको सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको बेला अनेरास्ववियूमा आबद्ध भएकी थिइन्। 

शान्ति प्रक्रियापछि उनी विद्यार्थी राजनीति छाडेर केही समय पत्रकारिता गरिन्। त्यसबेला उनी प्रेस चौतारी रोल्पाको अध्यक्ष र पत्रकार महासंघ रोल्पाको सचिव भएर पनि काम गरिन्। उनले एमाले जिल्ला कमिटी रोल्पाको दुई कार्यकाल सदस्य र लुम्बिनी प्रदेश संगठन कमिटी सदस्य भएर काम गरिसकेकी छन्। 

केन्द्रीय सदस्य जीएमसँग तेजन खड्काले गरेको संवादः

एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभयो। त्यसपछि कान्छी केन्द्रीय सदस्य भनेर चर्चा चुलिएको छ। नेता–कार्यकर्ताबाट कस्तो प्रतिक्रिया पाउनुभयो?

केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएपछि हाम्रो जिल्ला रोल्पाल गायत मलाई चिन्नुहुने जिल्लाका धेरै साथीभाइ शुभेच्छुकहरुले फोन र सामाजिक सञ्जालमार्फत् बधाई–शुभकामना दिनुभएको छ। आगामी राजनैतिक यात्राको लागि सुझाव पनि दिनुभएको छ।

धेरैजतो शुभेच्छुकहरुले उमेरले कम भए पनि काममा उत्कृष्ट हुने गरी पार्टी काममा लाग्न प्रेरणा दिनुभएको छ। काठमाडौँ केन्द्रितभन्दा पनि भूगोल (रोल्पा) केन्द्रित भएर जिल्लामा एमालेलाई बलियो बनाउन महत्वपुर्ण भूमिका खेल्न नेता–कार्यकर्ताले सुझाव दिनुभएको छ।
म उहाँहरुका सबैखाले सल्लाह–सुझावलाई सकारात्मक रुपमा लिएकी छु। आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउनेतर्फ लाग्ने छु। नेतृत्व र अग्रज कमरेडहरुले विश्वास गरेर दिएको जिम्मेवारी पूरा गर्नेछु। म उहाँहरूलाई निराश बनाउँदिनँ भन्नेमा विश्वस्त छु।

‘माओवादी जनयुद्ध’ को आधार क्षेत्र मानिने रोल्पाबाट तपाईं सशस्त्र द्वन्द्व कालमा एमालेको विद्यार्थी राजनीतिमा कसरी लाग्नुभयो?

म ३–४ कक्षामा पढ्दाताका नै शायद् २०५३–५४ सालतिर रोल्पामा तत्कालीन नेकपा (माओवादी)को सशस्त्र द्वन्द्वले निकै उग्र रूप लिइसकेको थियो।

म वाल्यकाल सम्झन्छु– हाम्रो घरदेखि करिब एक घण्टाको दूरीमा रहेको होलेरी प्रहरीचौकीबाट माओवादी कार्यकर्ता खोज्दै गाउँमा सुरक्षाफौज गस्ती गर्न आउँथे। प्रहरीको आँखा छल्दै माओवादी कार्यकर्ताहरु गाउँमा संगठन विस्तार गर्न आरहन्थे।

बालकदेखि वृद्धसम्म सबैलाई माओवादीमा लाग्न जोडबल गर्थे– उनीहरु। भनेको नमान्नेलाई मानसिक र शारीरिक यातना समेत दिइन्थ्यो– माओवादीबाट।

त्यसबेला पनि साविक नुवागाउँ गाविसमा एमालेको पकड थियो। गाविस पनि एमालेले नै जितेको थियो।

२०५८ सालतिर सरस्वती निमाविमा अनेरास्ववियूका अमृत बुढालगायतका टोलीले म लगायतका स्कुले साथीहरुलाई गोप्य बैठक गराई प्रारम्भिक कमिटी बन्यो तर त्यसको भोलिपल्टै माओवादीका विद्यार्थी नेताहरु आएर हामीलाई धम्काए। त्यसपछि हाम्रो संगठनको गतिविधि नै हुन सकेन।

२०६२ सालको असोजतिर माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन प्रचण्डसँग ६ बुँदे सम्झौताका लागि वामदेव गौतम रोल्पा आउनुभयो। माओवादीको सल्लाहमै होलेरीमा एमालेको खुला सभा भयो। गौतमले सम्बोधन गर्नुभएको थियो। त्यहाँबाट नुवागाउँ हुँदै घर्तीगाउँको ब्याङखोला प्रस्थान गर्नुभयो।

त्यही मौका छोपी हामीले नुवागाउँको अरनिको मावि अनेरास्ववियू गठन गर्‍यौँ। म  उपाध्यक्ष भएँ।

स्कुलमा एमालेको संगठन बनाएपछि माओवादी र उनका विद्यार्थी संगठनसँग धेरै बहस चल्थ्यो। हामीलाई कमिटी विघटन गरेर माओवादीमा विलय हुन दबाब दिन्थे तर हामी प्रतिवादमा उत्रेर अन्य आसपासका ४–५ वटा स्कुलमा समेत कमिटी बनाएपछि उनीहरुको दबाबले थेग्न सकेन।

एसएलसी पास गरेपछि २०६३ सालमा संगठनको सल्लाहअनुसार म र केही साथीहरु पढाइसँगै संगठन विस्तार गर्ने उद्देश्यसहित सदरमुकाम गयौँ।

लिबाङको बालकल्याण माविमा त्यो बेलासम्म हाम्रो संगठन थिएन। पार्टी कार्यालयमा चुकुल लगाई लुकेर पाँच जनाको कमिटी बनायौँ। म अध्यक्ष भएँ। अरु चार जना पदाधिकारीमा बसेँ। सदस्य बस्ने मान्छे भएन।

अर्को दिनदेखि पार्टी र अन्य माध्यम प्रयोग गर्दै विद्यार्थीहरुलाई कमिटीमा बसाल्ने अभियान चलायौँ। करिब दुई महिनापछि हामी ४० जनाजति भयौँ।

हामीले संगठन विस्तार गरेको थाहा पाएपछि अखिल क्रान्तिकारीले कोठामै आएर धम्क्याए तर हामी डराएनौँ। विस्तृत शान्ति सम्झौतापछि माओवादी शान्ति प्रक्रियामा आएपछि केही सजिलो भयो तर त्राश पछिसम्मै दिन्थे।

त्यसबेला तपाईंलाई माओवादीले ‘जनयुद्ध’ मा लाग्नुपर्छ भनेर दबाब दिएनन् ? अभियानमा हिँडाए कि हिँडाएनन्?

स्कुलबाट जबरजस्ती कार्यक्रममा त कति लगे–लगे। एकचोटी स्कुलबाट टाढैको गाउँको कार्यक्रममा जबर्जस्ती लगे। कार्यक्रम सकिएपछि फर्काउलान् नि भनेको त उतै पूर्णकालीन भएर लाग्नुपर्छ भन्न थाले। त्यसपछि हामी भाग्यौँ। उनीहरुले पछि–पछि लखेटे।

पछि हामीले पनि माथिबाट ढुंगा लडाइदियौँ। उनीहरु फकिए। अनि हामी घनघोर जङ्गलको बाटो हुँदै घरतर्फ लाग्यौँ। हामीसँगै पढ्ने धेरे साथीहरु त त्यही कार्यक्रममा हिँड्दा–हिँड्दै पढाइ छाडेर माओवादीमै पूर्णकालीन भएर हिँड्नुभयो। अहिले पछुताउनुहुन्छ– पढाइ छोडेकोमा।

०६२ सालमा अखिल क्रान्तिकारीले ‘वैकुण्ठ स्मृति संगठन सुदृढीकरण तथा विस्तार अभियान’ भनेर जिल्लाव्यापी अभियान चलायो। हामीलाई स्कुल ड्रेससँगै लगे।

अभियानमा गएका जति सबैलाई माओवादी पार्टी र अखिल (क्रान्तिकारी) को सदस्यता दिए। कमिटीको सपथसमेत ख्वाएर मात्रै बिदा गर्ने उनीहरुको योजना थियो तर हामीले मानेनौँ। मरे पनि माओवादी सदस्यता लिदैनौँ भनेर अडान राख्यौँ। १२ दिनपछि बल्ल छाडे।

सयौँको संख्यामा रहेको उक्त अभियानमा ४–५ वटा समूह विभाजनसमेत भएको थियो। एउटा समूहको उपनेता मलाई पनि तोकिएको थियो। बस्दिनँ भन्नै पाइँदैन्थ्यो।

सिकाइए अनुसार गाउँमा खाना माग्दै खाइयो। साथीहरुलाई पनि खुवाइयो। ठाउँ–ठाउँ पुगेर सार्वजनिक कार्यक्रम गर्दा ‘हामीहरुलाई जबर्जस्ती लगेका होइनन्, आफुखुशी आएका हौँ’ भनी भाषण भने। अनि मैले पनि सोहीबमोजिम भाषण गरिदिएकी थिएँ।

जिल्लाको पत्रकारितादेखि प्रदेशको पार्टी राजनीतिसम्मको यात्रा कस्तो रह्यो?

बाहिरबाट देख्नेलाई मेरो राजनीतिक यात्रा निकै सुखद्जस्तो लाग्छ तर संघर्षका भित्री कथा र यात्राहरु धेरै चुनौतीपूर्ण थिए र छन्।

विद्यार्थी राजनीति हुँदै जिल्ला पार्टीका नेताहरुले भन्नुभो, ‘एमालेको विचारलाई मिडियामार्फत् जनतासम्म पुर्‍याउने हाम्रा मान्छे भएनन्, तपाईंले लेखनमा रूचि राख्नुहुन्छ। केही समय यो क्षेत्रतिर लागी जिल्लामा हामीनिकट पत्रकारहरु उत्पादन गर्नुपर्‍यो।’

यस्तो जिम्मेवारी दिएकाले विद्युतीय सञ्चार र छापा माध्यममा जोडिएँ। प्रेस चौतारी रोल्पाको अध्यक्ष र पत्रकार महासंघ रोल्पाको सचिव भएर पनि काम गरेँ। जिल्लामा प्रेस चौतारीनिकटका थुप्रै नयाँ साथीहरु तयार हुनुभयो।

त्यसपछि म त्यो क्षेत्र नै पूर्ण रुपमा छोडेर पार्टीको इलाका कमिटी उप–सचिव हुँदै, अनेमसंघको रोल्पा जिल्ला अध्यक्ष, लुम्बिनी प्रदेश कमिटी सदस्य हुँदै केन्द्रिय सदस्य भएँ।

जिल्ला पार्टीमा दुई कार्यकाल सदस्य भएपछि लुम्बिनी प्रदेश कमिटीको सचिवालय सदस्य भएँ। पार्टीको दशाैं महाधिवेशनबाट अहिले केन्द्रीय कमिटीमा आइपुगेँ।

बाहिरबाट हेर्दा राजनीतिक रुपमा छिटो–छिटो फड्को मारेजस्तो देखिन्छ तर रोल्पाको परिवेशमा त्यो चुनौतीपूर्ण छ। विशेषगरी माओवादीकेन्द्रका धेरै प्रभावशाली नेताहरु रोल्पाकै भएकाले पनि एमालेका नेता–कार्यकर्ताहरुका लागि रोल्पा ‘गर कि मर’को अवस्थामा अझै पनि छ।

पछिल्लो समय एमाले रोल्पाका सबै नेता–कार्यकर्ता एकढिक्का भएर हिम्मतका साथ अघि बढ्दा धेरै विकास भइसकेको छ। यही सिलसिलामा मैले पनि पार्टीको जिल्ला र प्रदेश कमिटीमा बसेर आफुले सकेको र पार्टीले दिएको जिम्मेवारी पूरा गरेँ। कमिटीको हिसाबले अब हिजोभन्दा जिम्मेवारी थपिएको छ। नयाँ रणनीतिका साथ नयाँ यात्राको तय गर्नुपर्छ।

महिला, विद्यार्थी र युवालाई राजनीतिमा तान्न के–कस्ता योजना छन्, तपाईसँग?

मसँग व्यक्तिगत कार्यक्रमभन्दा पनि रणनीतिक योजनाहरु छन्। थप योजना बनाएर अघि बढ्नुपर्छ। विद्यार्थी राजनीति सबै नेता–कार्यकर्ताहरुको राजनीतिको प्रारम्भिक थलो हो।

नेपाललगायत विश्वका प्रायः सबै चर्चित नेताहरुको राजनीतिक यात्रा विद्यार्थी जीवनबाटै सुरु भएको पाइन्छ। त्यसैले विद्यार्थीहरुलाई राजनीतिमा प्रेरित गर्ने, संगठित गर्ने र राजनीतीक फिल्डमै टिकाउने वातावरण निर्माण गर्न पार्टी र स्वयम् विद्यार्थी संगठनहरुले योजना बनाउनुपर्छ।

जहाँसम्म महिला र युवाको सवाल छ, उनीहरुलाई संगठित गरेर थप सशक्तीकरण गर्ने र उनीहरुलाई सैद्धान्तिक वैचारिक रुपमा निखार्नुपर्छ। क्षमता अभिवृद्धिका कार्यक्रम र क्षमताअनुसारको जिम्मेवारी दिन सकियो भने पार्टीमा महिला र युवाको संख्यात्मक र गुणात्मक रुपमा सहभागिता रहन्छ। त्यसैले म यी वर्गलाई राजनीतिमा स्थापित गर्ने सवालमा म अत्यन्तै गम्भीर भएर कार्ययोजना निर्माण कार्यमा भूमिका खेल्ने छु।

एमालेका तमाम नेता–नेतृहरूले केन्द्रीय सदस्य नपाएको गुनासो गरिरहेका छन् थर तपाईंले ३२ वर्षमै महत्वपूर्ण भूमिका पाउनुभयो। यो कसरी सम्भव भयो?

एमाले उमेरका आधारमा कम र बढी जिम्मेवारी दिने पार्टी होइन। जननेता मदन भण्डारीले २०४६ सालमा तत्कालीन मालेको नेतृत्व (महासचिव) सम्हाल्दा जम्मा ३७ वर्षको हुनुहुन्थ्यो। उहाँले पार्टी निर्माणमा खेलेको भूमिकालाई आत्मसात गर्दै उमेरले उहाँभन्दा सिनियर थुप्रै कमरेडहरुसदस्य भएर बस्नुभएको इतिहास सुरक्षित छन्।

मैले यो प्रसङ्ग किन जोडे भने पार्टीमा भूमिकाअनुसारको जिम्मेवारी तय हुन्छ। पार्टी र संगठन निर्माणको सवालमा खेलेको भूमिकाकोे मूल्यांकन गरेर होला सायद् अहिले केन्द्रीय कमिटीमा म लगायत थुप्रै ४० वर्षमुनिकाले पनि केन्द्रीय कमिटीमा जाने अवसर पायौँ।

पार्टी र नेतृत्वले मलगायत हामीलाई विश्वास र भरोसा गर्दै यो जिम्मेवारी सुम्पिएको होला भन्ने लाग्छ। केन्द्रीय कमिटीमा नपर्नुभएका कमरेडहरुलाई कुन जिम्मेवारी दिएर पार्टी काममा लगाउने भन्ने विषयमा पार्टी नेतृत्वले पनि योजना बनाउँछ।

फेरि हामी सधैँका लागि केन्द्रीय सदस्य पनि होइनौँ। पार्टीले आशा, भरोसा र विश्वास गरेर दिएको जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्न सकेनौँ भने त एघारौँ महाधिवेशनले बिदा गर्छ नि ! त्यसैले पार्टी निर्माणमा निरन्तर लागिपर्ने सबैको पालो आउँछ। पाएको जिम्मेवारीलाई गर्न दत्तचित्तका साथ लाग्नुपर्छ।

प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार