नेपाली राजनीतिक इतिहासमा विचार, निष्ठा र वैचारिक स्पष्टताका लागि सधैं स्मरण गरिने नाम हो मदन भण्डारी। उनि केवल व्यक्तित्व थिएनन्, एक युग थिए, एक विचारको नाम थिए। आजको जटिल र दिशाहीन जस्तो देखिन थालेको नेपाली राजनीतिक परिपाटीमा उनका दृष्टिकोण, व्यवहार र मार्गदर्शन अझ सान्दर्भिक बन्न पुगेका छन्। उनको योगदान र शिक्षाले वर्तमान राजनीति कर्मीहरूलाई गहिरो सन्देश दिएको छ राजनीति सत्ताको लोभभन्दा बढ्ता विचार, प्रतिबद्धता र जनताप्रतिको उत्तरदायित्व हो भनेर ।
1.विचारधारामा स्पष्टता र सामाजिक यथार्थमा आधारित प्रगतिशीलता:-
मदन भण्डारीको राजनीतिक दर्शन ‘जनताको बहुदलीय जनवाद’ (ज.ब.ज.) ले मार्क्सवादी वैचारिकता र नेपाली समाजको यथार्थबीचको सेतु निर्माण गर्यो। उनले आदर्श र व्यवहारबीचको दूरी घटाउँदै व्यावहारिक समाजवादको नेपाली रूप दिन खोजे। आजको सन्दर्भमा, जब विचार भन्दा सत्ता प्राथमिक बन्न थालेको छ, उनका शिक्षाबाट आजका नेतृत्वहरुले विचारधारा प्रतिको इमानदारी, नवप्रवर्तनशील सोच र समाजमुखी दृष्टिकोण सिक्न जरुरी छ।
२. वैचारिक अनुशासन र सांगठनिक निष्ठा:-
भण्डारीको नेतृत्वमा नेपाली कम्युनिष्ट आन्दोलन संस्थागत अनुशासनमा अडिएको थियो। उनले पार्टी संगठनलाई केवल सत्ता प्राप्तिको साधन होइन, विचार प्रसारको माध्यम माने। आज नेताहरूबीच देखिने गुटबन्दी, भातृसंघहरूलाई प्रयोग गर्ने प्रवृत्ति, र सत्तामुखी प्रतिस्पर्धाले संगठनहरू गुट उपगुट बनेका छन्। यस्तो अवस्थामा भण्डारीले देखाएको सांगठनिक निष्ठा, सहमतिमा आधारित नेतृत्व शैली, र वैचारिक बहसमा आधारित निर्णय प्रक्रिया आजको राजनीतिक संस्कारमा झनै आवश्यक देखिन्छ।
३. जनतासँगको नाताको पुनर्परिभाषा:-
मदन भण्डारी ‘सडकदेखि संसदसम्म’ जनताको आवाज बोकेर जान सक्ने नेता थिए। उनले जनताको बीचबाटै राजनीति गरे, जनताको मुहारमा परिवर्तन ल्याउने सपना देखे र त्यसको खाका तयार गरे। आज राजनीति धेरै हदसम्म जनदृष्टिबाट टाढिएको छ। नेताहरू जनतासँग कम र सत्ता केन्द्रित छलफलमा बढी केन्द्रित छन्। भण्डारीले सिकाएको कुरा हो राजनीतिक शक्ति जनताको विश्वासबाट आउँछ, केवल चुनावी जितबाट होइन।
४. विचारको विनम्रता र समावेशी दृष्टिकोण:-
उनको विशेषता केवल कम्युनिष्ट विचारमा अडान थिएन, उनले अन्य विचारप्रति पनि समादरजन्य दृष्टिकोण राख्दथे। उनले वैचारिक बहसलाई राजनीतिक संस्कारको अङ्ग बनाए। आजको ध्रुवीकरण र सामाजिक संकीर्णताले भरिएको राजनीतिक वातावरणमा विचारको सहिष्णुता, वैचारिक बहसको संस्कृति र समावेशी राष्ट्र निर्माणको दर्शन उनको बाटो देखाउने एउटा दियो बन्न सक्छ।
५. राजनीतिलाई सेवाको रूप दिन सकिने सम्भावना:-
उनको जीवनले प्रमाणित गर्छ राजनीति सत्ताको सीढी मात्र होइन, त्यो सेवा, समर्पण र परिवर्तनको माध्यम पनि हुन सक्छ। जब राजनीति व्यवसायीकरणतर्फ उन्मुख छ, जब पद र सुविधा प्रमुख मापन भएका छन्, त्यस्तो घडीमा मदन भण्डारीको निस्वार्थ योगदान आजका राजनीतिज्ञहरूका लागि आचारसंहिता बन्न सक्छ।
निष्कर्ष
आजका दिनहरूमा, जब राजनीति भटकिँदै गएको महसुस भइरहेको छ, जब जनता राजनीति प्रती निःस्वार्थ भावले होइन, शङ्काका दृष्टिले हेर्न थालेका छन्, त्यस्तो सन्दर्भमा मदन भण्डारीको राजनीति दर्शन केवल स्मृति होइन मार्गदर्शन हो। उनी न केवल नेपाली वाम आन्दोलनका नेतृत्वकर्ता थिए, उनी एउटा वैकल्पिक राजनीतिक संस्कारका वाहक पनि थिए। आजका राजनीतिज्ञहरूले उनले देखाएको दृष्टिकोणबाट लोकतान्त्रिक समाजवाद, जनउत्तरदायित्व र निष्ठा–आधारित राजनीतिलाई आत्मसात् गर्न सकेमा मात्र नेपाली राजनीति साँच्चिकै परिवर्तनको दिशामा अघि बढ्न सक्छ।