दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ दोघरेमा शनिबार पार्किङ गरेर राखिएको रा १ ख ३०३८ नम्बरको बसमा एक्कासी आगलागी भयो। केही क्षणमै आगोले बसलाई पूर्ण रूपमा घेरेको थियो। उक्त बस तुलसीपुर–८ कटकुँइयाँ निवासी ३२ वर्षीय दुर्गा डाँगीको हो। उनले डेढ वर्षअघि मात्रै ठूलो संघर्ष गरेर बस किनेका थिए। तर हिजो केही मिनेटको आगोले उनको वर्षौँको मेहनत र सपना खरानी बनाइदियो।

सबैभन्दा दुःखद पक्ष के रह्यो भने — आगो निभाउन दमकल थिएन। बस जलिरह्यो, धुवाँ आकाशमा फैलिरह्यो, मानिसहरू वरिपरि उभिएर हेर्दै रहे। कसैले भिडियो खिचे, कसैले टुलुटुलु हेरे। तर आगो नियन्त्रण गर्ने साधन समयमै नहुँदा सबै रमिते बन्न बाध्य भए।

तुलसीपुर उपमहानगरपालिकाको दमकल नै अहिले सञ्चालनमा छैन। कारण गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उक्त दमकलमाथि आगजनी गरिएको थियो। आन्दोलनको आक्रोशमा जनताको सुरक्षाका लागि प्रयोग हुने दमकल नै भीडको निशानामा परेको थियो। त्यसबेला धेरैले त्यो घटनालाई सामान्य राजनीतिक क्रोधको रूपमा हेरे होलान्, तर हिजोको बस आगलागीले त्यसको वास्तविक परिणाम देखाइदियो।

यदि दमकल सञ्चालनमा हुन्थ्यो भने सायद आगो यति धेरै फैलिने थिएन। बस पूर्ण रूपमा जलेर नष्ट हुने अवस्था आउँदैनथ्यो। क्षति कम हुन सक्थ्यो। एउटा परिवारको भविष्य जोगिन सक्थ्यो। तर जब आगो निभाउने साधन नै जलाइन्छ, त्यसपछि आगो हेरेर बस्नुबाहेक विकल्प रहँदैन।

यो घटना एउटा गम्भीर चेतावनी पनि हो। सार्वजनिक सम्पत्ति जलाउँदा धेरैलाई लाग्छ — “सरकारको सामान जलेको हो।” तर वास्तविकता त्यस्तो होइन। दमकल सरकारको होइन, जनताको जीवन र सम्पत्ति जोगाउने साधन हो। जब त्यो नष्ट हुन्छ, असर सीधा नागरिकमाथि पर्छ। त्याे जनताको सम्पत्ति हाे। जहाँ हाम्रो कर लगानी भएको छ।

आज दुर्गा डाँगीको बस जलेको छ। भोलि कसैको घर, पसल वा पूरा बस्ती जल्न सक्छ। अनि त्यतिबेला फेरि प्रश्न उठ्नेछ — “दमकल खोइ ?” उपमहानगरले दमकल किन पठाएन ? कहाँ छ ? तर यी सबैकाे उत्तर हाे “हामीले नै जलाएका थियौँ र आएन। थाहा छ र पनि दाेष सरकारलाई नै दिने हाम्रो संस्कार बनिसकेको छ। सोच्नुस् त, यदि भोलि मध्यरातमा तपाईंको घरमा आगो लाग्यो भने ? तपाईंले सबैभन्दा पहिले कसलाई सम्झिनुहुन्छ ? त्यही दमकललाई होइन र ? तर यदि त्यो पहिले नै जलाइसकिएको छ, तपाईंको घरमा पनि आउने छैन अब त्यसको जिम्मेवार को ? त्यसकाे पीडा कति ? कल्पना गरौ त ?

आन्दोलन, विरोध र आक्रोश लोकतान्त्रिक अधिकार हुन्। अन्यायविरुद्ध आवाज उठाउनु नागरिकको स्वतन्त्रता हो। तर जब त्यो आक्रोशले जनताको सुरक्षामाथि नै हमला गर्न थाल्छ, तब प्रश्न उठ्छ — आखिर हामी कसको लागि लडिरहेका छौँ ?

त्याे एउटा दमकल केवल एउटा गाडी थिएन, त्यो त कसैको ज्यान बचाउने आशा थियो। कसैको जल्दै गरेको घरमा पुग्ने अन्तिम भरोसा थियो। कुनै बालक, वृद्ध वा परिवारलाई आगोबाट जोगाउने माध्यम थियो। तर भीडको रिसले त्यो सबै जलाइदियो।

दमकल सरकारको सम्पत्ति मात्र होइन, जनताको सुरक्षाको साधन हो। जब अस्पताल तोडिन्छ, एम्बुलेन्स जलाइन्छ, दमकलमाथि हमला हुन्छ — त्यसको पीडा कुनै मन्त्री वा नेताले होइन, सामान्य नागरिकले भोग्नुपर्छ।

विरोध गरौँ, आवाज उठाऔँ, सरकारसँग असन्तुष्टि राखौँ — तर आफ्नो समाजलाई नै कमजोर बनाएर होइन। सार्वजनिक सम्पत्ति जलाउनु भनेको अन्ततः आफ्नै भविष्य जलाउनु हो। एउटा दमकल बनाउन करोडौँ खर्च लाग्छ, तर त्यसलाई जलाउन केही मिनेट मात्र पर्याप्त हुन्छ। निर्माण कठिन हुन्छ, विनाश सजिलो।

त्यसैले समयमै चेतना आवश्यक छ। आन्दोलन जनताको पक्षमा हुनुपर्छ, जनताको सुरक्षाविरुद्ध होइन। मानवीय नेतृत्वको गलतीबाट जनताले अनेक दु:ख भाेग्नु पर्याे तर भौतिक स्राेत साधनले त हैन नि । त्यसैले हरेक परिवर्तनका लागि आक्राेश, आक्रमण, आन्दोलन बाट भौतिक संरचना वा साधन प्रति क्षति हुने गरि समाधान भन्दा समस्या निम्त्याउने चरित्र हाे।

प्रकाशित मिति : २०८३ जेष्ठ १० गते आइतवार