साउन १० म्यान्मा – म्यान्मारको सैन्य ‘जुन्ता’ले चारजना प्रजातान्त्रिक आन्दोलनका ‘प्रतीक’लाई सोमबार मृत्युदण्ड दिएको छ। क्रूर शासकको घिनलाग्दो रबैया देखेर स्वदेश तथा विदेशमा ‘म्यान्मालीप्रति थप चिन्ता’ व्यक्त गरिएको छ।

सन् १९८८ मा सैन्य शासनविरूद्धको विद्रोहका एक दिग्गज कार्यकर्ता को जिम्मी र लोकप्रिय कलाकार तथा पूर्वसांसद फ्यो जेया थाअलाई जनअभियानमा लाग्दा शासकले फाँसी दिएको छ।

जिम्मी र थाअसहित ह्ला म्यो आङ र आङ थुरा जअलाई म्यान्मारमा ‘आतंकारी गतिविधि’ गरेको आरोप लगाइएको थियो। चारजना क्रान्तिकारी योद्धाको मृत्युले लाखौं जनताको मन भाँचिएको छ।
अत्याचार सहन बानी परिसकेका म्यान्मालीहरू सोमबार पनि आ–आफनो कर्ममा जुटिरहेका थिए। तर उज्यालो नहुँदै ‘जुन्ता’को मुखपत्रले फुक्यो– मृत्युदण्डको समाचार। सामाजिक सञ्जालमार्फत् चारजनाको अन्यायपूर्ण हत्याबारे सब् म्यान्मालीले पत्तो पाउँदा निःशब्द बने।

म्यान्मारका लागि हरेक सोमबार ‘कालो सोमबार’ बनेको छ। सोमबारले आफ्नो प्रिय प्राजतन्त्रवादी नेताहरू गुमाएको दुःखद सन्देश प्रवाह गरेको छ। सेनाको आतंकबाट थलिएका लाखौं–लाख म्यान्मालीहरू थप थलिएका छन्। उनीहरू सबैको छापीमा गोली लागे झैँ भएको छ। बोल्न सक्ने अवस्थामा छैनन्। तर अन्याय र अत्याचारले नेटो काटिसकेको छ।

पीडितका परिवार–आफन्तले शुक्रबार र शनिबार सैन्य आदेशमा भिडियो कुराकानी गरेको बताउँछन्। तर उनीहरूलाई ‘अन्तिम भेट हुनेछ’ पनि भनिएन। चारैजना निर्दोष नागरिकमाथि सेनाले मृत्युदण्डजस्तो गैर–कानूनी सजाय सुनाइयो। सरकारले लाखौं प्रदर्शनकारीमाथि डर पैदा ग¥यो। सैन्य अदालतले उल्टै मान्यता दियो। परिवारमा पीडै–पीडा थप्यो। जनतामा थप आक्रोश।
त्यसो त हत्याराहरूले शासन गरेको देश हो, म्यान्मार। जहाँ राज्य नै आफ्ना जनताको ज्यान लिन्छ। निर्दोष जनता यत्तिमात्रै भन्न सक्छन्– ‘ज्यानमारा राज्य’को अति भो ज्यादती। प्रदर्शनकारीहरूलाई टाउकोमा गोली हान्न बन्दुक ताकिन्छ। गाउँ सखाप पार्न हवाई आक्रमण गरिन्छ। कैदीहरूलाई मृत्युको लागि यातना दिइन्छ। सत्ता प्राप्तिका लागि जनता मारेर रगतको खोलो बगाइन्छ।

डेढ वर्षदेखि जलिरहेको म्यान्मार फेरि रोयो– चारजना राजनीतिक बन्दीलाई मृत्युदण्ड दिएको खबरले धेरैलाई स्तब्ध बनाएको छ। सैन्य क्रूरताले जताततै त्राश फैलिएको छ। सेनाको अमानवीय कूकर्मले पिंजडाभित्र थुनिएकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीसँगै संसारै मर्माहत भएको छ।
एउटा सुन्दर देश ‘बर्मा’ अर्थात म्यान्मार डरलाग्दो गृहयुद्धको भुमरीभित्र फसेको छ। वर्षौंदेखि सैनिकको जुत्तामुनि दबिएका म्यान्मालीहरू अन्ततः युद्ध–मैदानमा उत्रिएका छन्। युद्धस्थलमा अनेकौं जाति–जनजाति छन्। अनि सेनाविरूद्ध लडिरहेका छन्, गोर्खा अर्थात् नेपालीभाषी। सशस्त्र विद्रोही समूह कचिन गोर्खा बटालियनभित्र कैयौं गोर्खाली दाजु–भाइ र दिदी–बहिनीहरू छन्। उता पिपुल्स डिफेन्स फोर्समा पनि उतिकै संख्यामा जोडिएका छन्।

नयाँ पुस्ताका युवा–युवतीहरू ‘जुन्ता’विरूद्ध सबैभन्दा आक्रोशित देखिएका छन्। तर कठोर शासकसामु निर्दोष जनता निरीह छन्। आँखै अघिल्तिर ‘जनताको आवाज बोलिरहेका’ प्रदर्शनकारी ज्यान गुमाउन बाध्य छन्। कैयौं परिवारका सदस्यको हत्या भएको छ। कलिला केटाकेटीहरू अकालमै मारिएका छन्। शान्तिपूर्ण आन्दोलन गर्दा जेल पठाइन्छ। चारैतिर अत्याचार छ। जताततै अन्याय छ। यतिबेला ‘डेमोक्रेसी’बारे मन्थन गर्ने नेता–कार्यकर्ता सुरक्षित छैनन्। शासकको कदम कठोर छ। म्यान्मारलाई अँध्यारो बाटोमा हिँडाएको छ।

जनता बढ्दो सामाजिक र आर्थिक कठिनाइबाट बाहिर आउन संघर्ष गरिरहेका छन्। राजनीतिक संकट उस्तै छ। एउटा बर्मेली जीवनमा अनगिन्ती चुनौतीहरू थपिएका छन्। सत्ता कब्जा गरेर सैन्य ‘जुन्ता’ले पूर्ण बर्बरता निम्त्याएको छ।

प्रकाशित मिति : २०७९ साउन १० गते मङ्गलवार