क्रोएसियाको राजधानी Zagreb मा एक नेपाली युवकलाई बलात्कार प्रयासको आरोपमा अदालतले दुई वर्ष कैद सजाय सुनाएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार २६ वर्षीय नेपालीले ३७ वर्षीय फिलिपिनो नागरिकमाथि बलात्कार प्रयास गरेको आरोपमा उक्त सजाय पाएका हुन्। घटना सन् २०२४ डिसेम्बर २३ तारिख बिहान करिब ३ बजे शहरको केन्द्रमा रहेको एक होस्टेलमा भएको थियो।
समाचारअनुसार तीन वटा बंक बेड भएको कोठामा सुतिरहेका फिलिपिनो नागरिकमाथि ती नेपाली युवकले बलात्कार प्रयास गरेका थिए। घटनापछि पीडित व्यक्ति होस्टेलको रिसेप्सनमा पुगेका थिए, तर त्यहाँ कर्मचारी नभएकाले उनले बाहिर रहेका अर्का एक जनालाई प्रहरी बोलाइदिन आग्रह गरेका थिए। त्यसपछि प्रहरी घटनास्थल पुगेर कोठामै रहेका आरोपीलाई पक्राउ गरेको थियो।
जाग्रेबस्थित जिल्ला अदालतले उनलाई दुई वर्ष कैद सजाय सुनाउनुका साथै जेलभित्रै मनोचिकित्सकीय उपचार गराउने आदेश दिएको छ। अदालतले पीडितलाई ५ हजार युरो क्षतिपूर्ति दिन पनि आदेश दिएको छ।
सुनुवाइका क्रममा आरोपीले सुरुमा आफ्नो दोष स्वीकार गरेका थिए। तर उनले घटना सम्झन नसक्ने दाबी गर्दै आफू अत्यधिक मदिरा सेवन गरेको अवस्थामा रहेको बताएका थिए। उनले त्यसअघि आफू लुटपाटमा परेको र बाँकी पैसा मदिरामा खर्च गरेको पनि बताएका थिए।
तर अदालतले यस्तो बचाउ स्वीकार नगरेको बताइएको छ। अदालतको निष्कर्षअनुसार घटनाको समयमा उनी मानसिक रूपमा जिम्मेवार अवस्थामै थिए, यद्यपि केही हदसम्म क्षमता कम भएको मानिएको छ। साथै उनले पीडित पुरुष भएको थाहा नपाएको र महिलाको पहिरन लगाएका कारण महिला ठानेको पनि अदालतले जनाएको छ।
अदालतका अनुसार आरोपी यसअघि कुनै मुद्दामा दोषी ठहर नभए पनि सन् २०२४ मा उनीविरुद्ध यौन दुर्व्यवहारसम्बन्धी अर्को उजुरी दर्ता भएको र जसबारे निर्णय भने अझै भएको छैन।