मलेसियामा एक नेपाली युवकले आफ्नै साथीकाे छुरा प्रहार गरी हत्या गरेका छन्।
प्राप्त जानकारी अनुसार रोल्पाका २५ वर्षीय युवकले सल्यान जिल्लाको कपुरकोट गाउँपालिका –३ का २१ वर्षीय एक युवकको छुरा प्रहार गरी हत्या गरेका हुन्। अहिले अनुसन्धानमै भएको हुदा उनिहरुकाे नाम भने प्रहरीले सार्वजनिक नगर्न मलेसिया स्थित सञ्चार माध्यमहरुलाई भनेको छ।
घटना पेनाङ राज्य अन्तर्गत पर्ने बुकीट मर्टाजामको पर्माटाङ टिङ्गी क्षेत्रमा रहेको कामदार होस्टेलमा आइतबार बिहान करिब १:१० बजे भएको हो। दुवै जना एउटै डक (हाँस) प्रशोधन कम्पनीमा कार्यरत थिए र सोही होस्टेलमा बस्दै आएका थिए।
प्रहरीका अनुसार घटना अघि उनीहरूबीच होस्टेलमै विवाद भएको थियो। त्यसपछि मृतक खाना खान बाहिर गएका थिए। फर्किने क्रममा अभियुक्तले अचानक छुरा प्रहार गरेका थिए, जसका कारण गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको हो।
घटनापछि प्रहरीले २५ वर्षीय अभियुक्तलाई होस्टेलबाटै पक्राउ गरेको हाे। घटनास्थलबाट घटनामा प्रयोग भएको छुरा पनि बरामद गरिएको प्रहरीले जनाएको छ। मजिस्ट्रेट सविन्दर सिंह जुगिन्दर सिंहले मलेसियन कानुनको दण्ड संहिताको धारा ३०२ अन्तर्गत अनुसन्धानका लागि आरोपित नेपालीलाई मार्च २९ तारिखसम्म ( ७ दिन )रिमाण्ड (हिरासत)मा राखी थप अनुसन्धान गर्न आदेश दिएका छन।
उनीमाथि मलेसियाको दण्ड संहिता अनुसार हत्या सम्बन्धी मुद्दा दर्ता गरिएको छ। जसमा दोषी ठहर भएमा मृत्युदण्ड वा ३० देखि ४० वर्षसम्म कैद सजाय हुन्छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।