भारतको मुम्बईस्थित पायधोनी क्षेत्रमा एउटै परिवारका चार सदस्य मृत फेला परेको घटना भएको झण्डै तीन सातापछि पनि प्रहरीले वास्तविक कारण पत्ता लगाउन सकेको छैन ।
अब्दुल्लाह डोकाडिया, उनकी पत्नी नसरीन तथा दुई छोरी आयशा र जैनब अप्रिल २५ मा आफ्नै घरमा मृत फेला परेका थिए । परिवारले मृत्यु हुनुअघि खाएको अन्तिम वस्तु तरबुजा भएका कारण भारतीय सञ्चारमाध्यमहरूले घटनालाई ‘तरबुजा मृत्यु’ नाम दिएका छन् ।
घटनापछि भारतभर तरबुजा विषालु भएको आशंकासहित व्यापक चर्चा भएको थियो । कतिपय सञ्चारमाध्यमहरूले तरबुजामा विष मिसाइएको दाबी गरेका थिए । यसले मुम्बईका बजारमा तरबुजाको माग घट्नुका साथै मूल्यसमेत घटेको बताइएको छ ।
मुम्बई प्रहरीले गत साता सार्वजनिक गरेको फरेन्सिक परीक्षण रिपोर्टमा भने परिवारको मृत्यु जिंक फस्फाइड नामक विषालु रसायनका कारण भएको पुष्टि भएको छ । यो रसायन प्रायः मुसा मार्ने विषमा प्रयोग गरिन्छ ।
प्रहरीका अनुसार मृतकहरूको शरीरका विभिन्न अंग तथा उनीहरूले खाएको तरबुजाको नमूनामा पनि जिंक फस्फाइड भेटिएको छ । तर उक्त विष तरबुजामा कसरी पुग्यो भन्ने विषय अझै रहस्यमै रहेको प्रहरीले जनाएको छ ।
‘हामी हत्या, दुर्घटनावश विष सेवन वा आत्महत्यासहित सबै सम्भावनाको अनुसन्धान गरिरहेका छौं,’ एक वरिष्ठ प्रहरी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रहरीका अनुसार घटनाको रात डोकाडिया परिवारले केही आफन्तलाई घरमा बोलाएर बिरयानी खुवाएको थियो । आफन्तहरू राति करिब १०:३० बजे फर्किएपछि परिवारले तरबुजा खाएको र त्यसको केही समयपछि सबैको स्वास्थ्य अचानक बिग्रिएको बताइएको छ ।
उनीहरूलाई लगातार बान्ता, पखाला तथा सास फेर्न गाह्रो भएपछि नजिकैको अस्पताल लगिएको थियो । पछि जेजे अस्पतालमा सारिए पनि चारै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले घरबाट तरबुजाको बोक्रासहित सबै खाद्य सामग्री जफत गरी परीक्षण गरेको थियो । परीक्षणमा अन्य खानेकुरामा विष नदेखिए पनि तरबुजाको नमूनामा मात्रै जिंक फस्फाइड भेटिएको अनुसन्धान टोलीले जनाएको छ ।
भारतीय सञ्चारमाध्यम ‘इन्डियन एक्सप्रेस’का अनुसार डोकाडिया परिवार बस्ने भवनमा मुसाको समस्या रहेको र धेरै परिवारले मुसा मार्न विष प्रयोग गर्ने गरेका थिए ।
मुम्बईका चिकित्सक डा. भूषण रोकाडेका अनुसार जिंक फस्फाइड अत्यन्त घातक रसायन हो । शरीरमा पुगेपछि यसले फस्फिन ग्यास उत्पादन गरी शरीरका कोशिकाले अक्सिजन प्रयोग गर्न नसक्ने अवस्था सिर्जना गर्छ । अत्यन्त कम मात्रामा पनि यसले ज्यान लिन सक्ने चिकित्सकहरूको भनाइ छ ।
हाल प्रहरीले परिवारका आफन्त, छिमेकी, साथीभाइ तथा सहकर्मीहरूसँग सोधपुछ जारी राखेको जनाएको छ । अनुसन्धानमा विभिन्न टोली परिचालन गरिए पनि घटनाको वास्तविक कारण अझै खुल्न सकेको छैन ।