मलेसियामा एक नेपाली युवकले आफ्नै साथीकाे छुरा प्रहार गरी हत्या घटनामा संलग्नहरुकाे पूरा विवरण सार्वजनिक भएको छ।
प्राप्त जानकारी अनुसार रोल्पाकाे गंगादेव गाउँपालिका -३ भालुमारेका २५ वर्षीय चाेपिलाल डाँगीले सल्यानकाे कपुरकोट कपुरकाेट गाउँपालिका – ३ दमारखाेला घरभई हाल दाङको तुलसीपुर स्थित पाते टाकुरा बस्दै आएका टंक बहादुर बुढाका २१ वर्षिय छाेरा वेद बहादुर बुढालाई छुरा प्रहार गरि हत्या गरेका हुन।
घटना पेनाङ राज्य अन्तर्गत पर्ने बुकीट मर्टाजामको पर्माटाङ टिङ्गी क्षेत्रमा रहेको कामदार होस्टेलमा आइतबार बिहान करिब १:१० बजे भएको हो। दुवै जना एउटै डक (हाँस) प्रशोधन कम्पनीमा कार्यरत थिए र सोही होस्टेलमा बस्दै आएका थिए।
प्रहरीका अनुसार घटना अघि उनीहरूबीच होस्टेलमै विवाद भएको थियो। त्यसपछि मृतक खाना खान बाहिर गएका थिए। फर्किने क्रममा डाँगीले अचानक छुरा प्रहार गरेका थिए। जसका कारण गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको हो।
घटनापछि प्रहरीले २५ वर्षीय डाँगीलाई होस्टेलबाटै पक्राउ गरेको हाे। घटनास्थलबाट घटनामा प्रयोग भएको छुरा पनि बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको साेधपुछका लागि संगै बस्ने अन्य ८ जनालाई समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका डाँगीमाथि मलेसिया स्थित अदालतका मजिस्ट्रेट सविन्दर सिंह जुगिन्दर सिंहले मलेसियन कानुनको दण्ड संहिताको धारा ३०२ अन्तर्गत अनुसन्धानका लागि आरोपितलाई मार्च २९ तारिखसम्म ( ७ दिन )रिमाण्ड (हिरासत)मा राखी थप अनुसन्धान गर्न आदेश दिएका छन।
उनीमाथि मलेसियाको दण्ड संहिता अनुसार हत्या सम्बन्धी मुद्दा दर्ता गरिएको छ। जसमा दोषी ठहर भएमा मृत्युदण्ड वा ३० देखि ४० वर्षसम्म कैद सजाय हुन्छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।