असोज १०, काठमाडौँ –नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको पाँचौँ ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ ।

अष्ट्रेलियाको सिड्नीस्थित रकडेलमा रहेको एभरेष्ट फङ्सन सेन्टरमा गत १९ सेप्टेम्बर २०२६ मा आयोजित उक्त अधिवेशनबाट केन्द्र सभापतिमा शीतल गिरी र केन्द्रीय सदस्यमा नवीन विक्रम ओली निर्वाचित भएका छन् ।

अधिवेशनमा जनसम्पर्क समितिका अष्ट्रेलियाभर रहेका क्रियाशील तथा साधारण सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो । प्रवासमा रहेका नेपालीहरूलाई मातृभूमि र लोकतान्त्रिक आन्दोलनसँग जोड्न यो अधिवेशन महत्त्वपूर्ण साबित भएको सहभागीहरूले बताएका छन् ।

नवनिर्वाचित केन्द्रीय सदस्य नवीन विक्रम ओलीसँग विद्यार्थी राजनीति र सामाजिक क्षेत्रमा लामो कार्यअनुभव छ । उनले यसअघि सल्यानी विद्यार्थी मञ्चको केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा राप्ती प्राविधिक शिक्षालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका रूपमा कुशल नेतृत्व सम्हालिसकेका छन ।

 ओलीमा नेपाली कांग्रेस तुलसीपुर नगर सदस्यको रूपमा काम गरेको सांगठनिक अनुभव हुनुका साथै विभिन्न विद्यार्थी आन्दोलनहरूमा सक्रिय सहभागिता जनाएको राजनीतिक पृष्ठभूमि समेत रहेको छ । हालै नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको केन्द्रीय सदस्यमा निर्वाचित भएका ओलीको यो सबल सांगठनिक अनुभवले अष्ट्रेलियामा समितिलाई थप गतिशील र बलियो बनाउने विश्वास लिइएको छ ।

निर्वाचित भएपछि केन्द्रीय सदस्य ओलीले सम्पूर्ण प्रवासी नेपालीहरूलाई गैरआवासीय नागरिकता प्राप्तिको प्रक्रिया सहज बनाउन पहल गर्ने र गैरआवासीय नेपालीहरूको सीप तथा पुँजीलाई स्वदेशमा भित्र्याउन लगानीमैत्री वातावरण सिर्जना गर्ने आफ्नो मुख्य एजेन्डा रहेको बताएका छन् । साथै उनले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूलाई कुनै पनि समस्या वा अप्ठ्यारो परेमा आफूलाई सिधै सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।

उक्त विशेष समारोहमा नेपालबाट नेपाली कांग्रेसका प्रमुख नेताहरूले भर्चुअल माध्यमबाट आफ्नो उपस्थिति जनाएका थिए । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, महामन्त्री प्रदीप पौडेल, प्रवक्ता देवराज चालिसे र केन्द्रीय सदस्य दिनेश कोइरालाले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अधिवेशन सफलताको शुभकामना दिनुका साथै नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार