चैत २४, सल्यान – बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले एकै दिन ९ वटा कार्यक्रम सम्पन्न गरेका छन ।
बिहीबार मात्रै ९ वटा कार्यक्रममा व्यस्त भएका बुढाथोकीले जनताको सेवामा निरन्तर लागिरहने प्रतिवद्वता समेत गरेका छन । उनले आज मात्रै थारमारे फ्यूज सेवा, बागचौरमा विद्युत महसुल काउन्टर शुभारम्भ उद्घाटन, घुईयालीबोट- भरारे सिचाइ कुलो अनुगमन, शारदा खोला खत्रीगाउँ लिफ्ट खानेपानी उद्घाटन, अवकाश महिला स्वास्थ्य स्वयंसेवीका बिदाई तथा बागचौर नगरपालिका वडा नं. ८ र ९ का सुनौलो हजार दिने आमाहरुलाई सर्वोत्तम कोसेली वितरण कार्यक्रम, ७२ वर्ष भन्दा माथिका जेष्ठ नागरिक सम्मानसँगै रेडियो वितरण कार्यक्रम, बागचौर नगरपालिका वडा नं. ८ मा रहेको मावि तथा अन्य विद्यालयका जेहेन्दार विद्यार्थीलाई सम्मान स्वरुप मेयरसँग उज्यालो कार्यक्रम अन्तर्गत सोलार टुकी वितरण कार्यक्रम, कोटबारा स्वास्थ्य चौकी भवन उद्घाटन कार्यक्रम, ३ दिने पत्रकारिता सम्बन्धि आधारभुत तालिको समापन र बागचौर न.पा. ८ को तिल्चामा विद्युत उद्घाटन कार्यक्रम सम्पन्न गरेका छन । विगत केही महिनायता आफू निर्वाचित भएयता काम गरि सम्पन्न गरेका विकास निर्माणका कामहरुको उद्घाटनसँगै अनुगमन कार्यमा व्यस्त भएको बताए ।
उनले दैनिक रुपमा करिब ५ देखि माथि नै विभिन्न कार्यक्रमसँगै भौतिक संरचनाहरुको उद्घाटन गरेको बताउँदै काम सम्पन्न गरेर नै उद्घाटन गर्ने अवसर पाएको दाबी गरेका छन ।
विभिन्न ठाउँका कार्यक्रममा बोल्दै विगतमा नै ल्याईएको तर कोरोनाका कारण वितरण गर्न नसकिएको ७२ वर्ष माथिका बागचौर नगरपालिका वडा नं. ८ का करिब ६० जना भन्दा बढि बृद्वहरुलाई सम्मानसँगै रेडियो वितरण कार्यक्रम र जेहेन्दार एवम् मेहनती विद्यार्थीहरुलाई थप हौसला प्रदान गर्नका लागि ८ नं. वडाकै मावि र अन्य विद्यालयका करिब १५ जना विद्यार्थीलाई सोलार टुकी वितरण र सुनौला हजार दिने आमाहरुलाई सर्वोत्तम आहारा वितरण गरेको र बाँकी अन्य वडाहरुमा यी कार्यक्रम निरन्तर गर्ने जानकारी दिए ।
कार्यक्रममा कोटमौला स्वास्थ्य चौकीमा कार्यरत स्वयंसेवीका बागचौर ८ कि तुलसिदेवी पुरीको अनिवार्य अवकाश पछि बिदाई गरिएको थियो ।यस्तै कोटबारा स्वास्थ चौकीको भवन उद्घाटन कार्यक्रम पनि आज नै सम्पन्न भएको छ ।
संघ र नगरपालिकाको आर्थिक सहयोगमा निर्मित कोटबारा स्वास्थ्य चौकी भवन उद्घाटन गर्दै प्रमुख अतिथि मेयर बुढाथोकीले मानव जीवनमा सबभन्दा महत्त्वपूर्ण भनेको स्वास्थ्य क्षेत्र भएकाले स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिएको बताए । उनले नगरपालिकाको १२ वटै वडामा स्वास्थ्य क्षेत्रका लागि भौतिक संरचनासँगै सबै कुरामा ध्यान दिएको बताउँदै बाँकी रहेका केही वडाहरुमा पनि विशेष ध्यान दिने जानकारी दिए ।
बुढाथोकीले कोरोना महामारीको बेला बागचौर नगरपालिकाले गरेको उदाहरणीय काम सम्झिदै सल्यानका १० वटा पालिका मध्ये स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढि काम गरेको दाबी गर्दै त्यसकै परिणाम स्वरुप कोटबारा स्वास्थ्य चौकी भवन उद्घाटनलाई पनि लिनु पर्ने उनको भनाइ छ । स्वास्थ्य क्षेत्र लगायत अन्य हरेक सामाजिक कार्यमा आफुले व्यक्तिगत लगानीमा काम गर्दै आएको जानकारी दिदै थप कामको स्तरोन्नतिका लागि जनताले चाहेमा फेरि जनताकै माझ आउने बताए ।
कार्यक्रममा वडा नं. ७ का वडासदस्य ओमकार वली, नेकपा माओवादी केन्द्रका पार्टी प्रतिनिधि डण्डबिर वली र बालकन्या माविका प्र.अ.चक्रपानी गौतमले शुभकामना मन्तव्य राखेका थिए ।
वडा नं. ७ का वडाध्यक्ष शेर ब ब. घर्तीको सभाध्यक्षतामा सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य कोटबोरा स्वास्थ्य चौकीमा कार्यरत अ.न.मी. दिपा भण्डारीले गरेकी थिईन भने सहजीकरण स्वास्थ्य चौकी प्रमुख धन ब. पुनले गरेका थिए ।
त्यस्तै कार्यक्रम स्वास्थ्य भवन निर्माणको लागि जग्गा दान गर्ने कोटबारा निवासी दिपा कुमारी उपाध्याय र स्वास्थ्य चौकी अन्तर्गत कोदालचौरको गाउँघर क्लिनिक भवन निर्माणका लागि जग्गा दान गर्ने पुर्ण बहादुर खड्कालाई सम्मान गरिएको थियो ।
यस्तै आज नै बागचौर नगरपालिकाको वडा नं. ८ मा पर्ने तिल्चामा विद्युत उद्घाटन गरिएको छ । विद्युत उद्घाटन गर्दै मेयर बुढाथोकीले वडा नं. ८ को दुर्गम स्थान मानिने उक्त गाउँका लागि आफुले न्याय गरेको बताउँदै बाँकी रहेका कामको लागि आफू जुनसुकै ठाउँमा रहेपनि पहल गर्ने प्रतिवद्वता गरेका छन ।

प्रकाशित मिति : २०७८ चैत्र २४ गते बिहिवार