सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीहरूको व्यक्तिगत स्वास्थ्य, पोषण र हेरचाहलाई उच्च प्राथमिकतामा राख्दै बागचौर नगरपालिकाले नगरपालिकाभित्र रहेका तीनवटा सामुदायिक माध्यमिक विद्यालयमा विद्यालय स्वास्थ्य तथा नर्सिङ कार्यक्रम अन्तर्गत विद्यालय नर्सहरू पदस्थापन गरेको छ।

खुला प्रतिस्पर्धामार्फत छनोट गरिएका विद्यालय नर्सहरूलाई
▪ जनकल्याण नमुना माध्यमिक विद्यालय, थारमारे
▪ सरस्वती माध्यमिक विद्यालय, शिवरथ
▪ बाल कन्या माध्यमिक विद्यालय, कोटबारा
मा पदस्थापन गरिएको हो।

यस कार्यक्रमबाट विद्यालयमा अध्ययनरत बालबालिकाहरूले विद्यालयस्तरमै आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने, आफ्नो स्वास्थ्य अवस्थाबारे समयमै जानकारी पाउने तथा विद्यालयमा देखिने मनोसामाजिक समस्याहरूको प्रभावकारी समाधान हुने विश्वास लिइएको छ।

नगरपालिकाले स्वास्थ्य तथा पोषणसँग सम्बन्धित गतिविधिहरू नियमित रूपमा सञ्चालन गराउने उद्देश्यका साथ विद्यालय नर्सलाई तोकिएको जिम्मेवारी प्रभावकारी रूपमा कार्यान्वयन गर्न तीनवटै विद्यालयका प्रधानाध्यापकहरूसँग कार्यसम्पादन सम्झौता समेत गरेको छ।

सो अवसरमा आयोजित कार्यक्रममा तीनवटै विद्यालय नर्स र एक जना नवनियुक्त शिक्षकलाई नगर प्रमुखज्यूको प्रमुख उपस्थितिमा स्वागत तथा शुभकामना व्यक्त गर्दै सम्बन्धित विद्यालयहरूमा कार्यभार सम्हाल्न पठाइएको थियो।

बागचौर नगरपालिकाले यस कार्यक्रमलाई आगामी दिनमा नगरभित्रका सबै सामुदायिक माध्यमिक विद्यालयमा विस्तार गर्ने लक्ष्य लिएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २४ गते मङ्गलवार