नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले बिहीबार एक औपचारिक समारोहका बीच आफ्नो ३०औँ स्थापना दिवस मनाएको छ। कार्यक्रम महासंघका जिल्ला अध्यक्ष डिल्लीराज रावतको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा अध्यक्ष रावतले सबैको सहभागितामा स्थापना दिवस मनाउन पाएकोमा सन्तोष व्यक्त गर्दै बिगत र वर्तमान पत्रकारिताबीचको अनुभव साटासाटले उत्प्रेरणा मिलेको बताए।
संस्थापक अध्यक्ष हरिशरण आचार्यले शुभकामना दिँदै आफू बाहिर रहे पनि सल्यानका गतिविधि निरन्तर नियालीरहेको बताए। उनले सल्यानका पत्रकारले खेलिरहेको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै उनले नयाँ पुस्ताले खोजमूलक पत्रकारितामा थप योगदान दिने विश्वास व्यक्त गरे।
आचार्यले २०५२ मंसिर ४ गते आफ्नो अध्यक्षतामा नेपाल पत्रकार महासंघ सल्यानको तदर्थ समिति गठन भएको ऐतिहासिक दिनको स्मरण गर्दै २०६४ मंसिर २१ गते मात्र शाखाले आधिकारिक मान्यता पाएको जानकारी साझा गरे। बीचको लामो यात्रामा १५ जना पत्रकार नपुग्दा केन्द्रबाट औपचारिकता पाउन चुनौती भोग्नुपरेको समेत उल्लेख गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष रमेश कुमार गौतमले बिगतको पत्रकारिता र वर्तमान पत्रकारिताबीच ठूलो भिन्नता आएको उल्लेख गरे। पहिले प्रविधि र स्रोत–साधनको अभावका कारण समस्याहरू धेरै रहेको बताउँदै अहिले प्रविधिको उच्चतम उपयोग गर्दै खोजमूलक पत्रकारिता सहज रूपमा गर्न सकिने बताए।
त्यस्तै पूर्व अध्यक्ष प्रतीक इच्छुक शर्माले पत्रकारिताको इतिहास र बिगतमा भोगिएका चुनौतीहरूको समिक्षा गर्दै अहिले प्रविधिको विकासले गर्दा ती समस्या धेरै हदसम्म अन्त्य भइसकेको बताए। उनले सल्यानका सक्रिय पत्रकारहरूको भूमिकाले पत्रकारिता क्षेत्रमा अझ ठूलो प्रगति हुने विश्वास व्यक्त गरे।
पूर्व कार्यवाहक अध्यक्ष सनत कुमार शर्माले स्व. शालिकराम शर्मा र स्व. उत्तम हमालप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनीहरूले गरेको योगदानको उच्च प्रशंसा गरे। पत्रकारिताको यात्रामा सामना गर्नुपरेका कठिनाइहरूको स्मरण गर्दै महासंघ ३० वर्षको यात्रामा पुगेकोमा खुशी व्यक्त गरे।
महासंघका उपाध्यक्ष शिव डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचीव बुद्धि पुनले गरेका थिए।