बागचौर नगरपालिकाले वडा नं. १० मा सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

 कार्यक्रमबाट वडाका वृद्ध नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला लगायत सामाजिक सुरक्षा भत्ता प्राप्तकर्ताहरूलाई भत्ता वितरण गरिनुका साथै ज्येष्ठ नागरिकहरूले निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श र औषधि सेवा प्राप्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख जनकराज गौतमले आफू निर्वाचित भएदेखि नै वडा स्तरबाट सामाजिक सुरक्षा भत्ता वितरणको कार्य सुरु गरेका भन्दै पहिलेजस्तो बैंकसम्म पुगेर लामो लाइन बस्नुपर्ने अवस्था नरहेको बताए । उनले भने यो काम हाम्रो चुनावी प्रतिबद्धताको हिस्सा हो, जुन आज व्यवहारमा रूपान्तरण भएको छ । साथै, ज्येष्ठ नागरिक र सबै नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरणजस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौँ ।”

नगर प्रमुखका गौतमका  अनुसार, बागचौर नगरपालिकाले स्वास्थ्य सेवा र सामाजिक सुरक्षासँग सम्बन्धित कार्यक्रम समुदायमै पुर्‍याउने नीति अवलम्बन गरेको छ ।

कार्यक्रममा नगर उप–प्रमुख सुम्निमा डि.सी. वली, वडा अध्यक्ष ज्ञानप्रसाद शर्मा धिताल, अन्य जनप्रतिनिधि, स्वास्थ्य शाखाका प्रतिनिधि, स्वास्थ्यकर्मी, पञ्जीकरण शाखाका कर्मचारी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८२ कार्तिक १५ गते शुक्रवार