“अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको सम्बर्द्धन” भन्ने मूल नाराका साथ ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस बागचौर नगरपालिकामा पनि विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ।
दिवसको अवसरमा नगरपालिका भवनबाट सुरु भएको प्लेकार्डसहितको र्याली बागचौर बजार परिक्रमा गर्दै सम्पन्न गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख जनकराज गौतमले अपाङ्गता भएका व्यक्तिहरू समाजका उत्पादनशील, सक्षम र महत्वपूर्ण हिस्सा भएको बताए। स्थानीय तहमार्फत शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा रोजगारीमा पहुँच विस्तार गर्न नगरपालिका प्रतिबद्ध रहेको उनको भनाइ छ।
कल्याणकारी अपाङ्ग सेवा संघ, सल्यानका अध्यक्ष कृष्ण बहादुर बुढाले अपाङ्गता भएका व्यक्तिहरूले कला, साहित्य, संस्कृति र सृजनशीलतामा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै, कानुनले दिएको अधिकार व्यवहारमा लागू नहुँदा शिक्षा, रोजगारी र सेवा–सुविधामा अझै चुनौती भोगिरहेको दुखेको पाेखे।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, समावेशी सेवा, स्वास्थ्य, शिक्षा, रोजगारीका अवसर तथा पहुँचयुक्त पूर्वाधार विकासबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले अपाङ्गता भएका नागरिकलाई सहानुभूति होइन, बराबरी अवसर, आत्मसम्मान र पहुँच आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रम कल्याणकारी अपाङ्ग सेवा संघ, सल्यानको आयोजनामा बागचौर नगरपालिका, सामाजिक विकास कार्यालय सल्यान, CMC Nepal, सुस्वा परियोजना लगायतका संस्थाहरूको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।
कार्यक्रम कल्याणकारी अपाङ्ग सेवा संघ, सल्यानका अध्यक्ष कृष्ण बहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि नगर प्रमुख जनकराज गौतम, विशेष अतिथि निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत, नगर प्रवक्ता दिपेश डि.सी, वडा नं. १ का अध्यक्ष गंगाराम बस्नेत, वडा नं. ३ का अध्यक्ष भिम प्रकाश भण्डारी, कार्यपालिका सदस्य रेशम बि.क, सामाजिक अभियन्ता निम बहादुर वली लगायतका जनप्रतिनिधि अपाङ्गता भएका व्यक्ति, अभिभावक, स्वास्थ्यकर्मी, शिक्षक, संघ–संस्थाका प्रतिनिधि, नगरपालिकाका कर्मचारी, नेपाल प्रहरी, नगर प्रहरी तथा सामाजिक अभियन्ताहरूको सहभागीता थियो ।