माघ १९ काठमाडौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्गतको पर्यटन विभागले रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन चेतावनी सहित पत्राचार गरेको छ।

बुधबार सूचना जारी गर्दै मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ सम्मको वक्यौता रहेका मध्ये होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग काठमाडौँले २० करोड ६८ लाख १५ हजार, ओरियन्टल होटल्स लिमिटेड (र्‍याडिसन होटल) लाजिम्पाटले १८ करोड ७६ लाख, रक इन्टरनेशनल प्रालि काठमाडौँले ११ करोड ४५ लाख ८२ हजार ८४८, ह्याप्पी आवर प्रालि काठमाडौँले २१ करोड ५५ लाख तथा सेन्ट्रल मिडिया प्रालि काठमाडौँले १३ करोड ३९ लाख ५० हजार रकम बुझाउन बाँकी रहेको हुदा सातदिन भित्र बुझाउन र नबुझाएको खण्डमा कारबाही प्रक्रिया थालिने जनाएकाे छ।

मन्त्रालयले यसअघि पटकपटक अनुरोध गरेपनि क्यासिनो संचालकले बेवास्ता गरेकाे मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार गत कात्तिक ७ गते ३५ दिने सूचना र पुस २७ गते १५ दिने म्याद तोकेर पत्राचार गरिए पनि अहिलेसम्म बाँकी रहेको वक्यौता चुक्ता नभएकाले अब अन्तिम पटक सातदिने सूचना जारी गरिएको र याे अवधिमा नबुझाए कारबाही गरिने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०७८ माघ १९ गते बुधवार