पुस २७ नेपालगन्ज – आफ्नै बुवाले छाेराकाे धारिलो हतियार प्रयाेग गरि हत्या गरेका छन।

कोहलपुर नगरपालिका–१२ चप्परगौडीका ठाकुरप्रसाद वलीले घरायसी झगडाको विषयलाई लिएर अन्दाजी १९ वर्षीय छोरा पोषण वलीलाई गए राति धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका पछि उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले गम्भीर घाइते पोषणको उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको जानकारी दिए।

सामान्य विवादपछि बुवा ठाकुरप्रसादले छाेरा पाेषणलाई नुहाउँदै गरेका बेला पछाडिबाट खसी काट्ने घरेलु हतियारले घाँटीमा प्रहार गरेका थिए। छोरामाथि हतियार प्रहार गर्ने ठाकुरप्रसादलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कोहलपुरले अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

प्रकाशित मिति : २०७८ पुष २७ गते मङ्गलवार