पुस १६ काठमाडौ – नेपाल पत्रकार महासंघले समग्र रुपमा सन् २०२१ लाई समीक्षा गरेकाे छ। महासंघकाे समीक्षा अनुसार सन् २०२० काे भन्दा याे वर्ष प्रेस स्वतन्त्रताका घटना बढेकाे बताएको छ।

शुक्रबार महासचिव राेशन पुरीद्वारा हस्ताक्षर विज्ञप्ति सार्वजनिक गर्दै सन् २०२१ लाई समग्र रुपमा समीक्षा गरिएको अभिलेख सहित उल्लेख छ। समाचार संकलनका क्रममा याे वर्ष पत्रकारहरु माथि प्रशासनकाे दुर्ववहार देखि लिएर समाचार संकलनमा निषेध सम्मका घटना छन।

त्यसैगरि काेभिड महामारीबाट अस्तव्यस्त बन्न पुगेका सञ्चार माध्यमहरुले निकै क्षति बेहाेर्नु परेकाे छ। याे वर्ष मात्रै महामारीबाट २१ जना पत्रकार तथा सञ्चारकर्मीको ज्यान समेत गएको छ । संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध रहेका विचाराधीन यी कानूनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाई समेत चुनौती थपिदिएको समीक्षाबाट ठहर गरिएको छ।

विज्ञप्तिकाे पुर्णपाठ

सन् २०२१ पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रह्यो । तुलानात्मक रूपमा यस वर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हनन घटना बढेको नेपाल पत्रकार महासंघमा अभिलेखीकरण भएको छ ।

महासंघको अभिलेख अनुसार सन् २०२० मा ५२ वटा प्रेस स्वतन्त्रता हनन घटना भएका थिए भने सन् २०२१ जनवरी १ देखि डिसेम्बर ३१ बिहान ११ः०० बजेसम्म ६२ वटा प्रेस स्वतन्त्रता हनन्का घटना भएका छन् । ६२ वटा घटनामा १९० जना पत्रकार पीडित भएका छन् भने ४ सञ्चारमाध्यम प्रभावित हुन पुगेका छन् । यस वर्ष पत्रकारमाथि ३२ वटा धम्की तथा दुव्र्यवहारका घटना घटेका छन् भने पेशागत असुरक्षाका १० वटा घटना भएका छन् । त्यस्तै, कब्जा र अवरोधका १० वटा घटना भएका छन् भने पत्रकार आक्रमणका ५ वटा घटना भएका छन् । यसैगरी पत्रकार गिरफ्तारीका ४ वटा घटना भए भने नीतिगत बन्देजको १ घटना भएको महासंघको अभिलेखमा छ ।

समग्रमा यो वर्ष पनि समाचारका विषयलाई लिएर वा समाचार संकलनमा क्रममा विभिन्न पक्षबाट भएका धम्की, आक्रमण, दुव्र्यवहार लगायतका घटनाबाट पत्रकार तथा सञ्चारमाध्यम पीडित हुन पुगेका छन् । भ्रष्टाचार, अनियमितता लगायतका समाचार लेख्दा वा प्रसारण गर्दा पत्रकार र सञ्चार माध्यमले यस्तो समस्या बेहोर्नु परेको छ ।
विभिन्न समूहले गरेको विरोध प्रदर्शनको समाचार संकलनका क्रममा प्रहरीको लाठी प्रहारबाट पत्रकारहरू घाइते हुन पुगेका छन् । यो वर्ष सार्वजनिक कार्यक्रमका समाचार संकलनमा पत्रकारलाई रोक लगाउने कामले निरन्तरता पाएको छ । संसद्, संसदीय समितिका बैठक, मन्त्रीहरूको सपथग्रहण वा विभिन्न राजनीतिक दलका महाधिवेशन लगायतमा पत्रकारलाई समाचार संकलनका क्रममा अवरोध गरिने तथा रोक लगाउने गरिएको छ ।

त्यस्तै यो वर्ष संघ, प्रदेश र स्थानीय सरकारबाट प्रेस विरोधी प्रावधान सहितका सञ्चारसम्बन्धी विभिन्न कानुनहरू बनाउने तथा संसदमा दर्ता गर्ने काम भएका छन् । संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध रहेका विचाराधीन यी कानूनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाई समेत चुनौती थपिदिएको छ । यस्तै कोरोना भाइरसको संक्रमणबाट यो वर्ष पनि पत्रकार प्रभावित भएका छन् । महामारी सुरु भएसँगै अहिलेसम्म २६ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएका छन् । त्यसमध्ये सन् २०२१ मा २१ जना पत्रकार तथा सञ्चारकर्मीको ज्यान गएको छ ।

कोरोना महामारीको बहाना पत्रकारको पेशागत सुरक्षा प्रभावित हुन पुगेका छ । एक वर्षको अवधिमा कोरोना भाइरसको बहाना देखाएर विभिन्न सञ्चारगृहबाट ३५० जना पत्रकारलाई नियमित तलब नदिने, बेतलवी विदामा राख्ने र जागिरबाट निष्कासन गर्ने काम भएको छ । यसमध्ये झण्डै ३ सय जना पत्रकारको समस्या सम्बोधन भएको छ भने ५० जना पत्रकारको समस्या समाधानका लागि महासंघले कानूनी तथा दबाबमूलक पहल गरिरहेको छ ।

प्रकाशित मिति : २०७८ पुष १६ गते शुक्रवार