पुस १० सल्यान – देवर भाउजू बिच रहेकाे अनैतिक सम्बन्ध लुकाउन वृद्धा आमाको हत्या गरेकाे खुलेकाे छ।
छत्रेश्वरी गाउँपालिका –३ झिम्पे निवासी ७० वर्षीया जमानी बुढाको आफ्नै काइली बुहारी २४ वर्षीया सुशीला बुढा र मृतक जमानी बुढाको छोरा नाता पर्ने १९ वर्षीय कमल बुढा मगरले घाँटी थिचेर मारेको प्रहरी अनुसन्धानबाट खुलेकाे छ।
गत असार ११ गते राती मृतक जमानीकाे छोरा नाता पर्ने कमल र आफ्नै काइली बुहारीले घाँटी थिचेर हत्या गरि घरकाे भर्याङबाट लडी मरेको भनेर भारतमा रहेका अन्य घरपरिवार र स्थानीयलाई जानकारी गराई दाहसंस्कार गरि काजक्रिया समेत गरेको अवस्थामा पछि गोप्य सूचनाको आधारमा अनुसन्धान गर्दा मृत्यु नभई हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
हत्या प्रमाण मेटाउन मृतककी माइली बुहारी २८ वर्षीया चमेली बुढा, कमलको बुवा ४८ वर्षीय बालाराम बुढा मगरले समेतले सहयोग गरेको अनुसन्धानबाट खुलेपछि पुस -३ गते नियन्त्रणमा लिइएको र फरार रहेका प्रतिवादी कमल बुढा मगरलाई शनिबार आज पक्राउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता श्याम प्रकाश यादवले जनसहारा अनलाइनसंग बताए।