बर्दियाको ठाकुरबाबा नगरपालिका–३ बगनाह बजारमा नक्कली सिँचाइ विभागको कार्यालय सञ्चालन गरी सर्वसाधारणलाई ठगी गर्ने एक दम्पती पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ठाकुरबाबा–३ का २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती दाङको लमही नगरपालिका–५ की २३ वर्षीया कृपा चौधरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूले “प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग” नामको नक्कली कार्यालय स्थापना गरी कर्मचारी नियुक्ति र मजदुरी काममा लगाइदिने भन्दै विभिन्न व्यक्तिलाई प्रलोभन देखाएका थिए। कामदारलाई ज्याला नदिने, घरधनीलाई घरभाडा नतिर्ने तथा सरकारी कागजात र छापसमेत नक्कली रूपमा प्रयोग गरेको आरोप उनीहरूमाथि छ।

प्रहरीले दुवैलाई पक्राउ गरी लिखत सम्बन्धी कसुर र ठगी मुद्दा अन्तर्गत थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ २८ गते बिहिवार