मंसिर २१ राेल्पा – नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रलाई सामाजिक सञ्चाल मार्फत राेल्पाका एक स्थानीयले खूलापत्र लेखेका छन।

उज्यालो राेल्पा परिकल्पना गरेका राेल्पालीलाई बिजुली आउँछ भनेर कामकाे जिम्मा पाएका ठेकेदारले आश्वासन बाडदै काम नगर्ने ट्रान्सफर्मर राखेर साेझा जनतालाई चार्ज हुदैछ भनेर झुक्याएकाे समेत उल्लेख गरेका छन।

अहिले विस्तार गरिएका पाेल र तारहरु लथालिङ्ग भएकाे ती सार्वजनिक पुर्वाधारकाे सम्बन्धित निकायले व्यवस्थापन तथा पुनःनिर्माण केही पनि ध्यान नदिएकाे उनकाे दुखेसाे गरेका छन।

उनी यसरी लेख्छन्;

श्रीमान कार्यलय प्रमुख ज्यू,
विद्युत वितरण केन्द्र रोल्पा।

खूलापत्र लेख्ने मेरो अब्बल क्षमता नहोला तर, अपेक्षाको उपेक्षा भएपछि, आकासको फल आँखा तरी मर मात्र हुन थालेपछि,नबुझे जस्तो, नदेखे जस्तो, नसुने जस्तो गरि ईमोश्नल ब्ल्याकमेलमा पारी दिमाग भूतिरहेको प्रवृत्तिले हैरान भएर म यो खूलापत्र लेख्दैछु। रिसानी माफ होस्।

करिब २ वर्ष अगाडि उज्यालो रोल्पाको परिकल्पना गर्दै सुनछहरी गाँउपालिका लगायत अन्य स्थानिय तहहरुमा विद्युत विस्तारको कार्य हुदैगर्दा, स्वीच थिचेर बिजुली बाल्ने कल्पना गर्दै रोल्पालीहरु खूब खुशि भएका थिए। द्रुतगतिमा काम सम्पन्न गर्ने भनी ठेक्दार तथा सह-ठेक्दारहरुले बिजुली पोलका फलामे सपोर्ट राख्नुको सट्टा रुखमा, ढुङ्गामा तार बाधेर पोल उभाए। झलमल्ल बिजुलीको दिवास्वप्न देखिरहेका सोझासाझा निमूखा तथा महत्वाकांक्षीहरु बिजुलीबाट चार्ज गर्ने भन्दै विदेशी टर्च लाइट, स्क्रिन टच मोवाईल, ल्यापटप कम्प्युटर तथा विद्युतीय उपकरणहरु खरिद गर्नेहरु धेरै थिए।

बिजुली आएपछि अनेकन व्यावसायका आकांक्षीहरु च्याउ जस्ता उम्रिएका थिए। बिजुलीको पोल विस्तार संगसंगै छितो बिजुली आउने आश्वासन दिदै घरघरमा वायरिङ गर्दै गिरोहले सोझासाझा निमूखाहरुलाई खूब लुट्नुलुटे। ठेक्दारहरु चोकचोकमा वायर कनेक्सन नगरीएका ट्रान्सर्फमर मात्र राखि चार्ज भैरहेको छ भनेर गाँउलेवासीहरुलाई उल्लू बनाईराखे। तर, अचेल ती सब खुशिहरु चकनाचुर भाका छन। अपेक्षा उपेक्षा भयो। ढुङ्गा र रुखमा बाधेका सबै पोलहरु वाटो तलमाथी अजिङ्गर झै सुटेर घाम तापीरहेका छन्। गाडिएका पोलहरु, बाङ्गिएका छन,पूर्व पश्चिम फर्केर कुराकानी गरिरहेका जस्तो देखिन्छ।

तानिएका तारहरु कहि धामीको चुल्ठो जस्तो त कहि विधुवा नारीको केश जस्तै फिजारिएको देखिन्छ। झुन्डिएर भूई छोएको छ। लुगा सुकाउने डण्डी बनेको छ। बच्चाबच्ची खेल्ने पिङ बनेको छ। गाँउमा खरिद गरेका विद्युतीय उपकरणहरु खिया लागेर कबाडी बनिसके। व्यावसायिक आकांक्षीहरु विदेश पलाएन भैसके। बिजुली बाल्ने ईच्छा गरेकाहरु मध्ये केहि बिजुलीको पोल जस्तै ढलिसके। घरघरमा गरिएका वायरिङहरु मुसा र घरको धुँवाधुलोले धुजाधुजा पारेको छ। १० वर्षे द्वन्द्वपीडित रोल्पालीहरु यसै पनि बाटोमुनिका फूल हुन, त्यसै माथि अनेकन संघ-सस्थाहरुले दिमाग भूटिरहेका छन।

उपर्युक्त गुनासाहरु, सडकदेखि सदनसम्म र कनिष्ठदेखि वरिष्ठसम्म चोक,बस्ती,गाउँ जताततै चलिरहेको छ। के तपाईलाई यी सब मजाक लागिरहेछ? निमूखा जनताहरुको दिमाग भूटेर गाईजात्रा देखाउने ? अनर्गल प्रचार लाग्छ? अरण्यरोदन मात्र भयो? सेवाग्राहीहरुको वितण्डा ? यी सब देखेर तपाईमा सहानुभूती,करुणा र ग्लानी अनुभव हुदैन?

आदरणीय प्रमुख ज्यू,
कमाण्डरको आदेश सिपाहीहरुले नबुझेका हुन् या बुझाउन नसकिएको हो ? सिपाहीहरु आफ्नै तालमा परेड खेलिरहेका छन्। वितरण केन्द्र, ठेक्दार र सह-ठेक्दार बिचको तालमेलमा समिकरण किन हुन सकेन। लथालिङ्ग देशको भताभुङग पाराले न त तपाईको सेवा हुन्छ न त हामीलाई मेवा मिल्छ। चुल्ठो बनेका तारहरुलाई आइरन लगाउन, अजिङ्गर बनेर घाम तापिरहेका पोलहरु खडा गर्न, रुखमा बाधिएका तारहरुमा फलामे सपोर्ट राख्न, विधवा बनेको ट्रान्सर्फमर लाई सिङ्गारपटार गराउन, लगायतका अपूरा कामहरू सुसम्पन्न गर्न गराउन तपाईं जस्तो निडर, समर्पीत तथा बहादुर प्रमुखको आवश्यकता थियो भनेर प्रमाणित गराईदिनुह‍ोस्।

२/३ वर्ष देखि बिजुली वत्तीको अपेक्षा गरेको अन्धकार बस्तीलाई उज्यालो बस्तीको रुपमा स्थापित गरिदिनुहोस। उज्यालो रोल्पाको आभास बनाईदिनुहोस्। सोझासाझा निमुखाहरुलाई ठगिरहेका ठेक्दारहरुलाई काबिल, समर्पीत र जिम्मेवार ठेक्दार बनाईदिनुहोस्।

गुनासो समूह संयोजक
एल.वि.मगर
सुनछहरी गाँउपालिका , रोल्पा।

प्रकाशित मिति : २०७८ मङ्सिर २१ गते मङ्गलवार