कात्तिक ११ रुकुम पश्चिम – रुकुम पश्चिमको आठबिसकोटमा बुधबार साँझ एक बालिका बलात्कृत भएकी छिन् । जाजरकोटको नलगाड नगरपालिका ( १ की अन्दाजी १४ बर्षकी बालिका बुधबार बेलुका आठबिसकोट नगरपालिकाको वडा नम्वर १४ मा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जाजरकोटबाट उक्त स्थानमा लागेको स्थानीय मेलाको अवसरमा आयोजित भलिबल खेल हेर्न आएकी उनलाई रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्वर १४ पीपलचौरका अन्दाजि २६ बर्षका झलक जैसीले बलात्कार गरेको भन्दै बालिकाको बुवाले ईलाका प्रहरी कार्यालय आठबिसकोटमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताउनु भयो ।

बलात्कारपछि बेहोस अवस्थामा रहेकी बालिकालाई राती आठबिसकोट स्थित नगर अस्पताल पुर्‍याइएको थियो । प्रहरी निरीक्षक शर्माका अनुसार उनको अत्याधित रक्तश्राव भइरहेको जनाइएको छ ।

नगर अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि आज दिउँसो नेपालगञ्ज रिफर गरिएको अस्पतालले जनाएको छ । उनको अवस्था गम्भिर रहेको बताईएको छ घटनाको अनुसन्धान भैरहेको र अभियुक्तको खोजि भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ११ गते बिहिवार