लामो दूरीका बसहरूमा चर्को आवाजमा बज्ने गीतहरू सबै यात्रुको रोजाइ हुँदैनन्। विशेषगरी वृद्ध, अशक्त तथा शारीरिक रूपमा असहज यात्रुका लागि त्यस्ता गीतहरू कहिलेकाहीँ झन् पीडादायी बन्न सक्छन्। यही यथार्थलाई महसुस गर्दै गीतकार अमर कीर्तिमानीले एक वर्षअघि एउटा चेतनामूलक गीत रचेका थिए—

“लालीगुराँस फुले झैँ वनवनमा,
शुभयात्रा कल्पिनुस् मनमनमा।”

यात्रुलाई सुरक्षित यात्रा र सकारात्मक सन्देश दिन सक्ने यो गीत कुनै दिन नेपालभरका सार्वजनिक सवारी साधनमा गुन्जिने उनको सपना थियो। तर सपना पूरा हुन सजिलो कहाँ थियो र!

गीत लेखेपछि अमर बग्गीखानास्थित ट्राफिक कार्यालय पुगे। गीत रेकर्डिङका लागि अनुरोध गरे, तर जवाफ आयो— “बजेट छैन।” त्यसपछि उनी गीत बोकेर यातायात व्यवस्था विभाग पुगे। त्यहाँका अधिकारीहरूले गीतको खुलेर प्रशंसा गरे। कसैले “अत्यन्तै उत्कृष्ट” भने, कसैले “साह्रै सुन्दर” भने। त्यसपछि महानिर्देशकले निवेदनमा तोक लगाए। तोक लगाइदिएपछि सम्बन्धित शाखाका अधिकृतको टेबुलमा पुग्यो त्यो गीत। ती अधिकृतले पनि गीतका एकएक पंक्ति पढे अनि गीत गजब राम्रो भएको जनाए र प्रक्रिया अघि बढाउने आश्वासन दिएपछि गन्तव्यतर्फ लागे गीतकार अमर। अमरले ती अधिकृतलाई बेलाबेलामा फोन गर्दा यसका लागि योजना बनाउनुपर्छ, बजेट छुट्याउनु पर्ने भन्दै दिन टारिरहे। तर अमरले पछि पनि बेलाबेलामा फोन गरि नै रहे। उक्त गीत ती अधिकृतको दराजमा महिनौँसम्म थन्किरहेएको थियाे। गीतको तीन पृष्ठे पाण्डुलिपि एक अधिकृतको दराज भित्र महिनौँसम्म थन्किरहदा सधैं अमरले पाउने जवाफ एउटै थियाे- योजना बन्ने, बजेट छुट्याइने र प्रक्रिया अघि बढ्ने यहि आशामा अमरले पटक–पटक फोन गरिरहे। तर प्रतीक्षा मात्र लम्बिँदै गयो।

त्यसपछि आयो दुर्भाग्यको अर्को मोड।

जेन–जी विद्रोहका क्रममा आगलागी हुँदा यातायात व्यवस्था विभागको भवन पनि जलेर खरानी बन्यो। त्यसैसँगै अमरको त्यो चेतनामूलक गीत रहेको कागज पनि आगोले निल्यो। सपना बोकेको त्यो पाण्डुलिपि खरानीमा परिणत भयो।

त्यो क्षण अमरलाई लाग्यो—

“सायद यहाँ राम्रो कामका लागि ठाउँ छैन।”

तर सिर्जना कहिल्यै पूर्ण रूपमा मर्दैन रहेछ।

आठ महिनाअघि आगोले भस्म पारेको त्यो गीत आज फेरि नयाँ जीवन पाएर फर्किँदैछ। वरिष्ठ संगीतकार बुलु मुकारुङले संगीत भर्दै छन् भने गायिकाद्वय अञ्जु गौतम र रितु कँडेल, साथै गायकद्वय सुशील भट्टराई र विनोद दनुवारले स्वर दिँदैछन्। अब यो गीत नेपालभरका सवारी साधनमा, विशेषगरी लामो दूरीका यात्रामा, यात्रुहरूको साथी बन्ने अपेक्षा गरिएको छ।

खरानी बनेको एउटा गीत अब दियो बनेर उज्यालो फैलाउन निस्कँदैछ।

रोल्पाको खुंग्रीमा २०२१ सालमा जन्मिएका अमर अधिकारी (अमर कीर्तिमानी)ले संस्थान सेवामा १६ वर्ष र निजामती सेवामा २३ वर्ष गरी करिब ३९ वर्ष राष्ट्रसेवामा बिताए। २०७९ सालमा अवकाशपछि उनको साहित्यिक यात्रा झन् तीव्र बन्यो। आत्मकथासङ्ग्रह ‘ओगिल्जा’, भाषिका ‘रापतीका अलग शब्दहरू’ लगायतका कृतिमार्फत उनले साहित्यमा आफ्नो अलग पहिचान बनाएका छन्। २०६१ सालमै प्रकाशित बालकवितासङ्ग्रह ‘इन्द्रेणी’ उनका सिर्जनात्मक यात्राको प्रारम्भिक कोशेढुङ्गा हो।

देशभक्ति, प्रकृतिप्रेम र सामाजिक चेतनाले भरिएका उनका लेख–रचनाले राष्ट्रियस्तरसम्म प्रभाव पार्दै आएका छन्। ‘बालबालिकालाई संस्कार सिकाउने १९ सूत्र’ शीर्षकको उनको लेख इलामदेखि डडेलधुरासम्मका सञ्चारमाध्यममा प्रकाशित भएको छ।

साहित्य र सिर्जनाको शक्तिमा विश्वास गर्ने अमर आज पनि दृढतापूर्वक भन्छन- “कलमको शक्तिलाई सामान्य ठान्नुहुँदैन।” सायद त्यसैले होला, आगोले कागज जलायो, तर उनको सिर्जनालाई जलाउन सकेन। खरानीभित्र दबिएको त्यो गीत आज फेरि उज्यालो बनेर फर्किँदैछ।

प्रकाशित मिति : २०८३ जेष्ठ १६ गते शनिवार