जीवन कहिलेकाहीँ सपनाले होइन, परिस्थितिले चलाउँछ। गाउँ, परिवार र समाजका लागि केही गर्ने सपना बोकेर घर छोड्ने हजारौँ युवामध्ये एक थिए शेरबहादुर डाँगी। उनको यात्रा केवल अमेरिका पुग्ने सपना थिएन, त्यो त संघर्ष, पीडा, आशा र अस्तित्व जोगाउने लडाइँ थियो। मरुभूमिदेखि अमेजन जंगलसम्मको जोखिमपूर्ण यात्राले एउटा नेपाली युवाको बाध्यता र सपना दुवैलाई उजागर गर्छ। दुई वर्ष लामो संघर्षपछि अमेरिका पुगेको क्षण उनको लागि सफलता जस्तो लाग्यो, तर नियतिले अर्को परीक्षा तयार गरिरहेको थियो।


विदेशको चम्किलो सपना बाहिरबाट जति आकर्षक देखिन्छ, भित्र त्यति नै कठोर यथार्थ लुकेको हुन्छ। अमेरिका पुगेपछि जेलका चिसा कोठाभित्र बितेको एक वर्षले शेरबहादुरको शरीर मात्र होइन, आत्मालाई पनि थकित बनायो। त्यो समय उनले केवल स्वतन्त्रता गुमाएनन्, उनले आफूभित्रको धेरै कुरा भत्किएको महसुस गरे। तर त्यही अन्धकारबीच परिवारको आवाज, आफ्ना मानिसहरूको माया र “तिमी अझै समाप्त भएका छैनौ” भन्ने भरोसाले उनलाई फेरि उठ्ने साहस दियो।


नेपाल फर्कँदा उनीसँग सामान थिएन, सपना पनि अधुरै थियो। तर एउटा कुरा बाँकी थियो—बाँच्ने इच्छा। त्रिभुवन विमानस्थलमा चप्पल लगाएर उभिएको त्यो क्षण उनको जीवनकै सबैभन्दा पीडादायी क्षण हुनसक्छ, तर त्यही क्षणले उनलाई नयाँ रूपमा जन्मायो। समाजले डिपोर्ट भएको मान्छे भनेर हेर्दा मन दुख्नु स्वाभाविक हो, तर हरेक असफल यात्राभित्र एउटा नदेखिएको संघर्ष लुकेको हुन्छ भन्ने कुरा बुझ्न आवश्यक छ।


आज शेरबहादुरको कथा केवल एक व्यक्तिको कथा होइन, यो हजारौँ नेपाली युवाको साझा पीडा हो। सपना बोकेर विदेशिएका धेरै नेपाली सफल हुन्छन्, तर कतिपय समय, परिस्थिति र भाग्यसँग हार्छन्। उनीहरू अपराधी होइनन्, केवल अवसर खोज्दै हिँडेका थाकेका यात्रुहरू हुन्। त्यसैले समाजले उनीहरूलाई अपमान होइन, सहारा दिनुपर्छ। किनकि एउटा असफलता अन्त्य होइन—त्यसपछि फेरि उठ्ने साहस नै वास्तविक जीत हो।

रोल्पाकाे राेल्पा नगरपालिका -८ जंकाेटमा जन्मिएर हाल दाङकाे घोराही उपमहानगरपालिका  -१३ मा बस्दै आएका डाँगी लामो समयदेखि समाजसेवामा अग्रपंक्तिमा छन। यस्तो पिडामा आफू हुदाहुदै पनि अहिलेसम्म सामाजिक कामहरुमा  निरन्तर सक्रिय छन।

शेरबहादुरकाे त्याे यात्रा र भाेगाई

“अमेरिका जाने सपना र जेलभित्र हराएको मेरो यात्रा”

सानैदेखि मेरो एउटै सपना थियो पढेर आफ्नो गाउँ,समाज र देशका लागि केही गर्ने। तर जीवनका बाध्यता,आर्थिक अवस्था र परिस्थितिले मलाई २० वर्षको उमेरमै वैदेशिक यात्रातर्फ धकेल्यो। गल्फका तातो मरुभूमिमा वर्षौँ पसिना बगाएँ। त्यही बीचमा सकेसम्म गाउँ समाजका सामाजिक कामहरूमा पनि जोडिँदै गएँ। मनमा सधैं एउटै सोच हुन्थ्यो,विदेशमा सिकेको सीप र अनुभव आफ्नै देशमा प्रयोग गर्नुपर्छ। यही सोचले नेपाल फर्किएर केही काम सुरु गरेँ,तर परिस्थितिले साथ दिएन। फेरि बाध्य भएर विदेशिनु पर्‍यो।

समयसँगै जीवनले अझ कठिन मोड लियो। आर्थिक अवस्था, जिम्मेवारी र परिस्थितिले गर्दा मनमा एउटा नयाँ सोच पलायो “अब अमेरिका जानुपर्छ।” त्यसपछि सुरु भयो मेरो जीवनकै सबैभन्दा कठिन यात्रा। एसियाका केही देशहरू,अफ्रिकाका अनजान बाटाहरू,दक्षिण अमेरिकाका जोखिमपूर्ण भूभागहरू पार गर्दै, संसारकै खतरनाक मानिने अमेजन पनामा जंगलको कठिन बाटो काट्दै,दक्षिण अमेरिका,सेन्ट्रल अमेरिका हुँदै मेक्सिकोसम्म दुई वर्ष लामो संघर्षपछि अन्ततः अमेरिका पुगियो। त्यो क्षण मेरो लागि सपना पूरा भएको जस्तो थियो।

तर त्यो खुशी धेरै टिकेन। अमेरिकाको वास्तविकता मेरो सोचभन्दा बिल्कुल फरक थियो। क्यालिफोर्नियाबाट सुरु भएर विभिन्न राज्यका जेलहरूमा मैले एक वर्षको कठोर,पीडादायी र एक्लो जीवन बिताउनुपर्‍यो। त्यो समय केवल शारीरिक मात्र होइन, मानसिक रूपमा पनि अत्यन्त कठिन थियो,आशा,डर,पश्चाताप र अनिश्चितताको बीचमा बाँच्नुपर्‍यो। जेल जीवनपछि अन्ततः मलाई अमेरिका बाट नेपाल फर्काइयो।

नेपाल फर्किने यात्रा झन् पीडादायी बन्यो। एक वर्षको जेल बसाइपछि टेक्ससबाट शिकागो,त्यहाँबाट युरोप हुँदै दिल्ली र अन्ततः काठमाडौं पुग्न २८ घण्टाको लामो यात्रा भयो। मसँग केही थिएन नेपालबाट जाँदा लगाएको एक जोर कपडा मात्र। जहाँ अरू यात्रुहरू आफ्ना परिवार भेट्ने खुशीमा थिए,म भने डर,लाज र अनेक सोचले भरिएर मौन बसेको थिएँ। आँखा झुकाएर बस्दा त्यो दिन मेरो जीवनकै सबैभन्दा भारी र लज्जित क्षण बन्यो। पहिले विदेशबाट फर्किँदा हातभरि सामान र मनभरि खुशी हुन्थ्यो। तर त्यो दिन म खाली हात,चप्पल लगाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उभिएको थिएँ। “डिपोर्ट भएर आएको मान्छे” भन्ने दृष्टिले हेरिएको जस्तो अनुभूति हुन्थ्यो कहिल्यै बिर्सन नसकिने क्षण।

तर त्यही कठिन घडीमा विमानस्थल मलाई रिसिब गर्न आउनुभएका मेरा आदरणीय तथा प्रिय् जनहरुले दिएको सहानुभूति,सान्त्वना र सकारात्मक शब्दहरूले मेरो जीवन फेरि एकपटक रोकिएर सोच्न बाध्य बनायो। “जीवन अझै बाँकी छ, तपाईं आफ्नै देश फर्किनुभएको छ,तपाईंको परिवार छ,गाउँ समाज साथीभाइ र आफन्त छन ”यी शब्दहरूले मलाई फेरि उठ्ने शक्ति दिए। त्यही बेला उहाँहरूले मेरो परिवारलाई सम्पर्क गरिदिनुभयो। परिवारको आवाज सुन्नासाथ मेरो आँसु रोकिएन। त्यो आँसु पीडाको मात्र होइन,आशाको पनि थियो।

आज मसँग बाँकी रहेको भनेको मेरो भौतिक शरीर,मेरी आमा, श्रीमती,दुई छोराहरू, छोरीभतिजी,दाजुभाइ,साथीभाइ र गाउँ समाजको माया र विश्वास हो। यही माया र भरोसाले मलाई फेरि बाँच्ने र अघि बढ्ने साहस दिएको छ। सायद म असफल भएँ। तर किन असफल भएँ भन्ने पूर्ण उत्तर अझै पाएको छैन। धेरै कुरा भाग्य र परिस्थितिलाई दिएको छु।

तर म सबैलाई भन्न चाहन्छु यो बाटो सजिलो छैन। अमेरिका वा विदेश जाने सपना सबैको सफल हुँदैन। कतै तपाईं पनि म जस्तै कठिनाइ र असफलतामा पर्न सक्नुहुन्छ। त्यसैले निर्णय लिनुअघि हजार पटक सोच्नुहोस्।सफल हुने सबै साथीहरूलाई बधाई र शुभकामना छ। अझै संघर्षरत साथीहरूलाई हरेस नखान आग्रह गर्दछु,मेहनत कहिल्यै व्यर्थ हुँदैन।

म अमेरिका जानुको कारण केवल पैसा थिएन। मेरो उद्देश्य सधैं घर, परिवार, गाउँ र समाजका लागि केही राम्रो गर्नु थियो। त्यो सपना अधुरो भए पनि म हार मान्दिनँ। आज समाजमा कतिपयले खिसी गर्छन्, टीका टिप्पणी गर्छन् “अमेरिका गएको मान्छे यस्तो भयो” भनेर। ती शब्दहरूले मन दुख्छ,तर सबैलाई मेरो संघर्ष थाहा हुँदैन।

हामी अपराध गरेर फर्किएका होइनौँ। हामी पनि सपना बोकेर, केही गर्ने आशामा हिँडेका नेपाली हौँ। कोही सफल भए, कोही समय र परिस्थितिसँग हार्‍यौँ। त्यसैले कृपया हामीलाई गिज्याएर होइन,हौसला दिएर साथ दिनुहोस्। म जस्तै विदेशबाट फर्किएका हामी सबैलाई नेपालमै फेरि उठ्ने साहस मिलोस्। आफ्नै मेहनतले अगाडि बढ्ने शक्ति मिलोस्।

आज मलाई तपाईंहरूको माया,साथ र हौसला चाहिएको छ,किनकि म कमजोर भएर होइन, अझ बलियो भएर आफ्नै गाउँ समाजमा बाँच्न चाहन्छु,म नेपाल देखि अमेरिका सम्म र अमेरिकाको जेलभित्र र नेपाल आइसकेपछि मलाई सबै क्षेत्रबात सहयोग गर्ने मेरा आदरणीय तथा प्रिय् जन परिवार,आफन्त साथीभाइ,इस्तमित्र सबैमा बिशेश सम्झ्ना अनि माया छ,तपाइहरुको पनि मायाको आसा गरेको छु,फेरि पनि सबमा माया अनि सम्झ्ना।

अन्त्यमा,मेरो जस्तै संघर्षपूर्ण यात्रामा रहेका सबैका पीडा समेटेर म केही शब्दहरू वा सानो किताब कोर्दैछु। सबैको सल्लाह र सुझावको अपेक्षा गर्दछु।

शेर बहादुर डाँगी
रोल्पा नगरपालिका–८, जन्कोटी दमाकुर हाल घोराही–१३, दाङ

प्रकाशित मिति : २०८३ जेष्ठ १ गते शुक्रवार