देश तीन तहकाे सरकारमा विभाजन देखि नै विभिन्न विवाद सहित चर्चामा थियाे तत्कालीन सुकिदह गाउँपालिका अर्थात हालकाे गंगादेव। विशेषगरी पहिला गाउँपालिकाकाे नामाकरणमा केन्द्रीय स्तरबाट गरिरएकाे सुकिदह नाममा सहमत भएपनि पालिकाका केन्द्र विषयलाई लिएर चर्काे विवाद सहित चर्चामा बटुल्न सुरु गरेकाे याे पालिका तत्कालीन सुकिदहकाे केन्द्र समेत टुंगोमा लिन रस्साकस्सी गरेकाे तत्कालीन समयमा मात्रै त्याे चर्चा सिमित रहेन।

स्थानीय तह निर्वाचन समेत सम्पन्न गरिरहदा जनप्रतिनिधि बन्न तम्सिएकाहरुकाे प्रमुख नारा समेत बन्न पुग्याे गाउँपालिकाे केन्द्र कहाँ यतात्यता मात्रै हाेइन पार्टीगत रुपमा हस्ताक्षर अभियान समेत गरियाे। अन्य विकासका नारा भन्दा गाउँपालिकाकाे केन्द्र स्थायी ठाउँकाे नारा प्राथमिकतामा बाेकेका उम्मेदवारहरु चुनावी मैदानमा हुम्मे।

फलस्वरुप तत्कालीन समयमा लगभग सबैलाई उत्तम लागेको साविक जिनाबाङ गाविसकाे सुखाओढार नै रह्याे तर पछि उनै निर्वाचित गाउँपालिका अध्यक्ष सहितका केही जनप्रतिनिधिलाई नै त्याे सुखाओढार पालिका केन्द्र उचित लागेन। उनिहरुलाई त्याे ठाउँ किन उत्तम नलाग्ने भन्नेमा जवाफ थियाे पालिकाकाे सुविधा सम्पन्न भवनका लागि भौगोलिक ठाउँ भएन वा प्रयाप्त जग्गा भएन। पालिका केन्द्रकाे विवाद हुदाहुदै फेरि नाम पनि चित्त बुझेेन नाम पनि परिवर्तन गरि सुकिदहबाट गंगादेव सिफारिस भयाे। त्यसपछि झन विवादकाे चर्काे चर्चा बटुल्न थाल्याे सुकिदह उर्फ गंगादेवले। त्यहि विवाद अहिलेसम्म पनि अल्झिएर विवादकाे बिचमा फसिरहेकाे छ गंगादेव। पुर्व निर्वाचित अध्यक्ष र हालका अध्यक्ष एक अर्कामै दाेषाराेपनमा लिप्त छन। रस्साकस्सी पनि कायमै छ।

बिशेष गरि स्थानीय सरकार स्थापना देखि माओवादी र कांग्रेसले हडपिरहेकाे याे पालिकामा यी दलकाे बिचमा एमाले तिव्र गतिकाे अवरोध बन्दै विकल्प बन्न खाेजिरह्याे। बिचमा अवसर हेरिरहेको नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेकपा एक्कासी उर्लिएर जसले पनि विकल्प खाेज्न थाल्याे। अहिले पछिल्लो समयमा गंगादेवमा पनि पार्टी गत रुपमा एकमा अर्काे विकल्प भिडिरहेकाे देखिन्छ अर्काे शक्तिको रुपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको समेत पछिल्ला गतिविधि तिव्र भएको अवस्थामा यसले पनि विकल्प खाेजिरहेकाे स्पष्ट देखिन्छ। यस्तै पार्टीगत खिचातानीका कारण अस्तव्यस्त भइरहेको अवस्थामा अब युवाले नै सचेत बनाउनु पर्ने अवस्था आएकाे भन्दै गंगादेव -३ का तेज विक्रम ओलीले युवा एकता र युवा सचेतना हुन जरुरी रहेको प्रयास गरेका छन।

रोल्पाकाे गंगादेवका युवाहरुले गाउँपालिकाभित्र देखिएका अनियमितता, भ्रष्टाचार र सेवा प्रवाहमा सुधारको माग गर्दै युवा संग स्थानीय सरकारकाे अवधारणा सहित १५ बुदे ध्यानाकर्षण पत्र सहित चेतावनी दिएका छन।

“विधिको शासन, समृद्ध गाउँ: गंगादेब बनोस जनमुखी ठाउँ” भन्दै गंगादेव गाउँपालिका रोल्पाका संयुक्त युवा तथा जेन-जीहरुले गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

जनताको र जनमुखी शासनको पक्षमा तथा भ्रष्टाचार र अन्यायको विपक्षमा युवाकाे उद्देश्य राजनीति नभई, सुशासन पारदर्शिता र उत्तरदायित्व रहेकाे भन्दै स्थानीय सरकारलाई जवादेही र पारदर्शी रहन सचेत बनाएका हुन।

गंगादेब गाउँपालिकाभित्र देखिएका अनियमितता, भ्रष्टाचार र सेवा प्रवाहमा सुधारको माग सम्बन्धमा १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् । “ध्यानाकर्षण पत्रमा गंगादेब गाउँपालिकाभित्र देखिएका विभिन्न भ्रष्टाचार, अनियमितता, गैर-जवाफदेही सेवा प्रवाह, सवारी साधनको चरम दुरुपयोग, गाउँपालिकामा प्राप्त अनुदान बजेटको असमान वितरण लगायतका विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।” संयोजक तेजविक्रम वलीले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।
मागहरूप्रति गम्भीरताका साथ बोध नगरिएको खण्डमा सम्पूर्ण युवा, नागरिक तथा सरोकारवालाहरू संगठित रूपमा आन्दोलनका थप चरणहरूमा जान बाध्य हुने चेतावनी पत्रमा उल्लेख छ।

साथै निवर्तमान र वर्तमान गाउँपालिका अध्यक्षहरुको व्यक्तिगत जुधाईले अलपत्र परिरहेको गाउँपालिकाको नाम र केन्द्र भौतिक संरचना अभावका कारण अन्यत्र सर्ने अबस्था सिर्जना भएमा दुवैजनाले यसको क्षेती ब्यहोर्नु पर्ने समेत ध्यानाकर्षण पत्रमा स्पष्ट माग राखिएको छ।

गाउँपालिकालाई बुझाएको ध्यानाकर्षण पत्रकाे पुर्णपाठ:

अध्यक्ष ज्यु.
गंगादेब गाउँपालिकाको कार्यालय, सानडाँडाँ, रोल्पा ।

विषयः गंगादेब गाउँपालिकाभित्र देखिएका अनियमितता, भ्रष्टाचार र सेवा प्रवाहमा सुधारको माग सम्बन्धमा ध्यानाकर्षण ।

विनम्र अनुरोधसाथ यो ध्यानाकर्षण पत्र प्रस्तुत गर्न चाहन्छों कि, वि.सं. २०८२ साल भदौ २३ र २४ गते देशव्यापी रुपमा भ्रष्टाचार र बेथिति विरुद्ध गरिएको शान्तिपूर्ण आन्दोलनलाई सत्ताधारी सरकारले हिंसात्मक रूपमा दबाउन खोज्दा ७४ जना निर्दोष युवाहरूको ज्यान गएको र ५०० भन्दा बढी युवा घाइते भएको घटनाले हामी सम्पूर्ण युवाहरू आक्रोशित भएका छौं। अहिलेको अवस्थामा देशका जिम्मेवार नागरिक तथा युवा पुस्ताको कर्तव्य स्थानीय तहदेखि केन्द्रसम्म भ्रष्टाचार, दुराचार र जनविरोधी प्रवृत्तिको अन्त्य गर्न सशक्त आवाज उठाउनु बनेको छ । यस सन्दर्भमा गंगादेब गाउँपालिकाभित्र देखिएका विभिन्न भ्रष्टाचार, अनियमितता, गैर-जवाफदेही सेवा प्रवाह, सवारी साधनको चरम दुरुपयोग, गाउँपालिकामा प्राप्त अनुदान बजेटको असमान वितरण लगायतका विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। तसर्थ निम्न मागहरू बुँदागत रुपमा प्रस्तुत गर्दछौं :-

हाम्रो मागहरूः
१. गाउँपालिकाको नाम, केन्द्रबारे अदालतको आदेश पालन गरियोस नत्र गंगादेव गाउपालिका बासि जनताको बहुमतद्वारा निर्व्यालगरि नाम र केन्द्रको बिबाद टुङ्गो लगाई तुरुन्त समाधान गरियोस, यसले व्यक्तिगत घटना दर्ता (जन्म दर्ता, नागरिकता, बिबाह दर्ता, मृत्यु दर्ता लगायत) मा गम्भीर त्रुटी देखापरी नागरिकहरुले सास्ती बेहोरी रहनु परेको छ, साथै बैदेशिक अध्यन तथा रोजगारमा जाने व्यक्तिहरुलाई समेत असर गरिरहेको छ।
२. युवा केन्द्रित नीति निर्माण गरि शिप मुलक तालिम र स्वरोजगारलाई प्रवर्धन गर्ने पालिकामा स्कुलको व्यवस्था गरियोस ।
३. पालिकाका सवारी साधनहरूको चरम दुरुपयोग तुरुन्त रोकियोस, प्रयोग भएको विवरण सहित एकिन तथ्याङ्क सार्वजनिक गरियोस। जनप्रतिनिधि र कर्मचारिले सवारी साधनहरु व्यक्तिगत प्रयोजनमा प्रयोग गरिरहेको अवस्था तुरुन्त रोक्ने निर्णय गरि सार्वजनिक गरियोस । खरिद भएका सरकारी सवारी साधनको विवरण सार्वजनिक गरियोस । ।
४. गाउँपालिकाबाट तलब भत्ता पाउनेगरी नियूक्ति गरिएका करारका कर्मचारी, शिक्षकको नियुक्ति र खारेजी पारदर्शिता कायम गरियोस र राजनितिक स्वार्थकोलागि अनावश्यक तथा मनोमानी नियुक्ति तुरुन्त खारेज गरियोस।
५. जनप्रतिनिधि तथा कर्मचारीहरू विदाबाहेक कार्यालयमा नियमित उपस्थित हुने वातावरण बनाइयोस, ताकि सेवा प्रवाह प्रभावकारी र नियमित होस्। जनप्रतिनिधिले गाउँपालिकाको बदनाम हुनेगरी गरिरहेका गतिविधिहरु तत्काल सच्याइयोस !
६. जनप्रतिनिधि र कर्मचारीहरुले गाउँपालिकामा भ्रमण भत्ताको नाममा गरिरहेको राज्य दोहन तुरुन्त बन्द गरियोस् । पालिका भित्रको काममा यातायात खर्च बाहेक अन्य सुबिधा दिने व्यवस्था नियम अनुसार कार्यान्वयन गरियोस् ।
७. सबै निर्माण कार्य, खरिद तथा सेवाहरू नेपाल सरकारको सार्वजनिक खरिद ऐन २०६३ अनुसार टेण्डरमार्फत गरियोस। सिधा ठेक्काबाट हुने अनियमितता तुरुन्त अन्त्य गरियोस। स्थानिय सरकारले कमिसनको लाभमा केही ठुला योजनाहरु पनि उपभोक्ता समितिबाट कार्यान्वयन गरेको र साना योजनाहरु दुइ वा दुइ भन्दा बढि मिलाएर टेण्डर गरेको देखिन्छ। यस प्रकारका गतिविधि आगामी दिनमा नदोहोर्याउन सचेत गराउछौँ।
८. वडामा सेवा लिने नागरिकलाई अनावश्यक झन्झट नहने गरी सहज सेवा उपलब्ध गराउने वातावरण बनाइयोस। “सेवाको वरिपरी जनता होइन, जनताको वरिपरी सेवा हुनुपर्छ।”।”
९. कानूनअनुसार प्रत्येक ३-३ महिनामा सार्वजनिक सुनुवाइ कार्यक्रम अनिवार्य रूपमा सञ्चालन गरियोस।
१०. गाउँपालिका कार्यपालिकाको बैठक सार्वजनिक रूपमा लाइभ (Live) गर्ने व्यवस्था मिलाइयोस र निर्णयहरू यथाशिघ्र वेबसाइट र सूचनापाटीमार्फत सार्वजनिक गरियोस। गाँउपालिकामा बजेट कार्यक्रम, नितिगत निर्णयहरु लुकाउने कार्य अन्त्य गरियोस। शिक्षा क्षेत्रलाई राजनीति मुक्त क्षेत्रका रूपमा विकास गरियोस। शिक्षक नियुक्तिमा पैशा र शक्तिको दुरुपयोग तुरुन्त रोकियोस् । संघीय अनुदान कटौती तथा वितरण राजनीति पुर्वाहबिना नियम संगत गरियोस ।
११. महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेखित बेरुजु रकमको विषयमा स्पष्टीकरण दिइयोस र बेरुजु रकमको जिम्मेवारी र समाधानको खाका सार्वजनिक गरियोस । (बेरुजु रकम के कति घटाएको हो? बेरुजु शुन्य बनाउन तयार गरेको कार्ययोजना) सार्वजनिक गरियोस । ।
१२. गाउँपालिकामा डिपिआरको नाममा आधा करोड रकम बैधानिक भ्रष्टाचार छानबिनको बिषय हो, यस किशिमका गतिबिधि निरन्तरता नदिन सचेत गराउदछौ र बैधानिकरुपमा गरिएको भ्रष्ट गतिविधिबाट आर्जित सम्पति तुरुन्त सरकारको नाममा जम्मा गरियोस ।
१३. वडागत बजेट विनियोजनमा देखिएको असमानता तुरुन्त सच्याइयोस र आगामी बजेट नीतिमा सबै वडाहरुलाई जनसंख्या र भौगोलिक आवश्यकता अनुसार समानुपातिक ढंगले बजेट वितरण गरियोस।
१४. स्थानिय कृषि उपजमा संकलित राजस्व स्थानिय सरकाले सही स्थानमा खर्च नगरेको ब्यापक जनगुनासो छ। संकलित राजस्व उत्पादन क्षेत्रमा व्यवास्था गरि भत्तामुखी कार्यक्रममा खर्च गर्नकार्य बन्दगरी राजस्व संकलनको आधारमा लाभको वितरण” नीति लागु गरियोस र संकलित राजस्व, संकलन भएको वडाको सहमतिमा खर्च गर्ने ब्यवस्था मिलाइयोस।
१५. ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४‘ मा उल्लेखित जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार अनुसार सबै कामहरु सञ्चालन गरियोस ।

हाम्रो चेतावनी ।
यदि माथिका मागहरूप्रति गम्भीरताका साथ बोध नगरिएको खण्डमा, हामी सम्पूर्ण युवा, नागरिक तथा सरोकारवालाहरू संगठित रूपमा आन्दोलनका थप चरणहरूमा जान बाध्य हुनेछौं। हामी जनताको र जनमुखी शासनको पक्षमा तथा भ्रष्टाचार र अन्यायको विपक्षमा छौं। हाम्रो उद्देश्य राजनीति होइन, सुशासन पारदर्शिता र उत्तरदायित्व हो।

नोटः निवर्तमान र वर्तमान गाउँपालिका अध्यक्षहरुको व्यक्तिगत जुधाईले अलपत्र परिरहेको गाउँपालिकाको नाम र केन्द्र भौतिक संरचना अभावका कारण अनेत्र सर्ने अबस्था सिर्जना भएमा दुवैजनाले यसको क्षेती ब्यहोर्नु पर्ने छ ।

शुभेच्छा सहित
गंगादेब गाउँपालिका भित्रका जागरूक Generation-Z तथा युवा समूह, गंगादेब गाउँपालिका, रोल्पा
“जय गंगादेब! जय देश! जय युवा!”

बोधार्थ
जिल्ला समन्वय समिति रोल्पा
जिल्ला प्रशासन कार्यलय रोल्पा
प्रमुख प्रशासकिय अधिकृत
गंगादेब गाउँपालिका कार्यालय रोल्पा

संयोजक
तेजविक्रम वली

प्रकाशित मिति : २०८२ कार्तिक १ गते शुक्रवार