मंसिर २३, सल्यान – कपुरकोट गाउँपालिकाको आयोजना र राप्ती लाइफ केयर अस्पताल दाङको प्राविधिक सहयोगमा शुक्रबार कपुरकोट आधारभूत अस्पताल सल्यानमा बृहत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन र राप्ती लाइफ केयर हस्पिटल संचालन समितिका अध्यक्ष हरि रिजालले आगामी दिनहरुमा कपुरकोटबासी नागरिकहरुलाई कपुरकोट आधारभूत अस्पतालले मासिक त्रैमासिक रूपमा आयोजना गर्ने बिशेषज्ञ सहितको स्वास्थ्य शिविरमा प्राविधिक सहयोग गर्ने र कपुरकोट आधारभूत अस्पतालबाट स्क्रिनिङ वा सिफारिस भएर राप्ती लाइफ केयर अस्पतालमा उपचार गर्न जाने बिरामीहरूलाई शुल्कमा छुट र अति विपन्नहरूको हकमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने लगायतका विषयहरू सम्बन्धमा दुई पक्ष सम्झौता पत्रमा हस्ताक्षर गरि फाइल आदान प्रदान गरेका छन ।

शिवरमा स्त्री रोग सम्बन्धि १०३ जना, नाक, कान, घाँटि सम्बन्धि १३७ जना, हाडजोर्नी तथा नशारोग सम्बन्धि २०३ जना, मेडिसिन सम्बन्धि २१८ जना गरि जम्मा ७४५ जना नागरिकहरुले नि:शुल्क सेवा प्राप्त गरेका हुन ।
जसमध्ये ८४ जनाको ल्याव परिक्षण, ३३ जनाको भिडियो एक्सरे र ४ जनालाई भर्ना गरि इमरजेन्सी सेवा प्रदान गरिएको छ ।
स्वास्थ्य शिविरलाई भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण कर्मचारी, जनप्रतिनिधि, पत्रकार समाजसेवी महिला स्वयंसेविका, विशेषज्ञहरूसहित निःशुल्क रुपमा प्राविधिक सहयोग उपलब्ध गराई सहयोग गर्ने राप्ती लाइफ केयर अस्पताल प्राली दाङ र औषधिजन्य सामग्रीहरू सहयोग गर्ने सम्पूर्ण फार्मेसी र व्यवसायीहरूलाई समेतलाई कपरकोट गाउँपालिका धन्यवाद ज्ञापन गरेको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले सबैको सहकार्य, समन्वय र सद्भावबाट नै अस्पतालले आगामी दिनमा कपुरकोट क्षेत्रका नागरिकहरुलाई गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सक्नेछ भन्ने विश्वास लिएको बताए ।

प्रकाशित मिति : २०८१ मङ्सिर २३ गते आइतवार