बालबालिकाहरु विद्यालय जानुपर्छ, पढ्नुपर्छ र उनीहरुले आफ्नो भविष्य निश्चित गर्नुपर्छ। तर यहाँ बाबुआमाकै हेलचेक्र्याई वा लापरवाहीका कारण ग्रामीण भेगका कतिपय बालबालिकाहरु विद्यालय जानबाट बञ्चित रहेको पाइन्छ। छोराछोरीका लागि त्याग, तपस्या, दुःख र संघर्ष गर्नु कुनै पनि अविभावकको कर्तब्य र दायित्व हुनआउँछ।
कतिपय बालबालिकाका बाबुहरु यस्ता पनि हुन्छन् कि छोराछोरीका लागि कापी र पेन्सिल किन्न पैसा हुँदैन तर रक्सी र सूर्ति सेवन गर्ने पैसा तुरुन्त निस्कन्छ। फूर्सदमा बालबालिकाले घरमा अविभावकलाई सघाउनु सामान्य कुरा हो। तर पैसा कमाउनका लागि बालबालिकालाई कार्यस्थलमा पठाउनु कानूनसम्मत हुँदैन। किन कि कानूनले बालबालिकाहरुलाई श्रममा लगाउनुहुँदैन भनेर स्पष्ट भनेको छ।
बाल अधिकार बालबालिकाहरुको जन्मसिद्ध अधिकार हो, जुन अधिकार मानव अधिकारको एक उपसमूह हो। जसले नाबालिगहरुलाई दिइएको विशेष संरक्षण र हेरचाहको अधिकार हो भन्ने बुझिन्छ। सन् १९८९ मा बाल अधिकार सम्वन्धी महासन्धिले बालबालिकाहरुलाई अठार वर्षभन्दा कम उमेरको ब्यक्ति भनेर परिभाषित गरेको थियो।
चारवर्षअघि यो लेखक रोल्पामा सेवारत रहँदा सुलिचौर हुँदै बुढोमावल नम्जा जाने क्रममा रातामाटानजिकै तीनजना बालबालिकाहरु गिट्टी फोडिरहेका थिए। मैले “कति कमाउछौँ गिटंटी कुटेर?” भनेर सोध्दा एकजना बालकले भनेका थिए- “दिनमा दुई तीन सय कमाउँछौँ।“ “बाबुआमा खोई त?” भनेर सोध्दा “काममा” भनेर जवाफ दिएका थिए। यो त मेरा आँखाले देखेको एक दृश्य वा उदाहरण मात्र हो। यस्ता दृश्यहरु देशभर कति देखिन्छन् कति। घर ब्यवहारको कामका लागि छोरालाईभन्दा बढी छोरीलाई अर्हाहउने चलन अझै पनि यथावत छ। सानैदेखि नै लिंग विभेद हुनेगरेको छ हाम्रो समाजमा, जुन दुःखको विषय हो। छोरालाई बोर्डिङ र छोरीलाई सरकारी विद्यालयमा पढाउने त सामान्य कुरा नै भएको छ।
कतिपय ठाउँहरुका विशेषगरि राजमार्ग छेउँछाउँका सामान्य होटलहरुमा बालबालिकाहरुलाई भाँडा माझ्न लगाउने गरेको पनि पाइन्छ। यो सरासर कानूनको उल्लंघन हो, यस विषयमा अनुगमन र निरीक्षणको लागि सरकारले संयन्त्र निर्माण गरी तत्काल लागू गर्नु जरुरी छ। आइएलओको पछिल्लो अनुमान अनुसार सन् २०१२ अघि विश्वमा करिब २२ करोड बालबालिकाहरुलाई श्रममा लगाइनेगरेको पाइएको थियो। यसमा पनि ५० प्रतिशत बालबालिकाहरुलाई निकृष्ट प्रकारका श्रममा लगाइएको अनुमान गरिएको थियो। फूर्सद भएसम्म र आफूले गर्न सकिने कामका लागि घरमा अविभावकलाई सघाउनु स्वभाविकै हो। तर बाबुआमामाले बालबालिकालाई पढाईमा बाधा पुग्नेगरी पैसा कमाउनका लागि कार्यस्थलमा पठाउनु भने उचित होइन। उनीहरुको भविष्यलाई ध्यानमा राखेर विद्यालय पठाउनु र रेखदेख गर्नु, स्नेह, माया, ममताको वातावरणमा रहनदिनु कुनै पनि अविभावको महत्वपूर्ण कार्य हो।
आजकल बालबालिकाहरु मोबाइलको लतमा फस्नेगरेको पाइन्छ। काखमा बस्ने बालबालिकाहरुले समेत आमाको मोबाइल खोसेर चलाउनथाल्छन्। यसरी बालबालिकाहरुलाई मोबाइलको पहुँचबाट टाढै राख्नुपर्दछ। बच्चाको हातमा मोबाइल दिनु भनेको बालश्रमभन्दा पनि खतरनाक काम हो। पछि गएर ऊ जिद्दी गर्ने स्वभावको हुनसक्छ र भविष्यमा समाजमा घुलमिल हुन नसक्ने अवस्था पनि आउनसक्छ। त्यसैले बालबालिकाहरुलाई सकेसम्म मोबाइल दिनु उचित हुँदैन।
हरेक वर्ष मनाइदै आएको विश्व बालश्रम विरुद्धको दिवस केवल शुभकामना र अन्तर्क्रियामा मात्र सीमित राखिनुहुँदैन। बालबालिकाहरुका समस्याहरु केलाएर त्यस्ता समस्याहरुको निराकरण कसरी गर्ने भन्ने विषयमा केन्द्रित रही अविभावकहरुका लागि सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्न जरुरी हुन्छ।
पहिले पहिले बाबुआमाले छोराछोरीलाई चुरोट सल्काउन लगाउने प्रबृत्ति पनि थियो। चुरोट सल्काउँदासल्काउँदै बालबालिकाहरुलाई चुरोट तान्ने बानी नै पर्दथ्यो र उनीहरुलाई पनि तलतल लाग्दथ्यो र लत पनि सुरु हुन्थ्यो। सकेसम्म बालबालिकाका अगाडि चुरोट पिउनु पनि उचित हुँदैन। त्यसैले सधैँका लागि चुरोट छोडेको राम्रो हुन्छ। सुर्ति र चुरोटले स्वास्थ्यमा हानी त गरेकै हुन्छ, साथसाथै आर्थिक क्षति पनि गरेको हुन्छ। यस्ता अम्मली कार्य सभ्य समाज निर्माणका लागि उचित हुँदैन।
अन्त्यमा, गएका हरेक वर्षहरुमा झैँ विश्व बालश्रम विरुद्ध दिवस मनाऔँ। तर अर्थपुर्ण तरिकाले र प्रभाव पर्ने किसिमले एवं समाजमा परिवर्तन आउने किसिमले मनाऔँ। विश्व बालश्रम विरुद्ध दिवसको उपलक्ष्यमा सबैमा शुभकामना!