सेउलीखर्कको भिरभरी राताम्मे फूलेका
लालीगुरांसका हांगाहरू हेर्दा
नयन झप्कनै मानेका थिएनन्।

बिहान सखारै गुरांस टिप्न
गामका एकहुल अल्लारेहरूसंग
गएकी मैना फर्केर आइन अरे।
डांडामाथीको बादल हावासंगै
उडान भरिरहेको थियो
नौडांडा पारी हिमालतिर
हिऊंले बर्को ओढाउंदै थियो
सूर्यले उज्यालोको गन्तव्य
पार गरिसक्यो तै पनि मैना
घर फिरेकी छैन।

आमाको चिच्च्याहटलाई
पहराले जवाफ फर्काउंथ्यो
बाबाको रून्चे स्वर
आकाशतिरै तानिन्थ्यो।
भाईको रोदन
झ्याउंकिरीको झ्याउंझ्याउमा
खोल्सातिरै हराउथ्यो
अंह मैना फर्केर आइन।

गुरांसे डांडामा बसेर हेर्दैछु
लालीगुरांसका हांगाहरूमा
भरखर चारपाते उम्रेका देखी
बत्तिस दांतबाट चारदांतमा
झरेकाहरूको गुरांसे माया।
गुरांसका निर्दोष कोपिलाहरू
अनवरत लुछीइरहेका छन्
भरखरै वसन्तसंगै मुस्कुराउन
थालेका ति फूलहरूका
घांटी निमोठिएका छन्
भिरमा पनि गुरांस सुरक्षित छैन
लांकुरे कमजोर हांगाका
टुप्पाहरूमा अंह सुरक्षित छैन
गुरांसहरू वसन्तको दैलामा
आइनपुग्दै देखी उनका जवानी
निर्मम लुटिरहेका छन्
हरेक वसन्तमा।

मलाई लाग्छ मैनालाई पनि
यसरीनै निमोठे,लुछे,छिनाले
ति निर्मम सजिव प्राणीहरुले।
मैना भेटिइ तर निर्जिव
उन्युको गांजमा ओइलाएको
लालीगुरांससंगै।
दुबैलाई लुछिएकोले होला
एकअर्काको अंगालोमा
मैना हुनु र गुरांस हुनुको
वियोगान्त कथा सुनाइरहेका थिए।

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार