अमरकाे त्याे सङघर्ष- अब्बल प्रशाशक देखि साहित्य, लेखन र गीतकार सम्मकाे गहिरो छाप

हरेक मानिसकाे जीवनमा आ-आफ्नै सङघर्ष हुन्छन। जसलाई जिवन्त रुपमा व्याख्या गर्न र त्यसबाट पाएकाे उपलब्धि संग लेखाजोखा गर्न पनि अर्को सङघर्ष अनिवार्य गर्नु पर्छ नै। हाे त्यहि मध्येका एक पात्र हुन अमर अधिकारी।

२०२१ असार १९ गते तत्कालिन प्यूठान र हालको रोल्पामा पर्ने सुन्दर गाउँ खुंग्रीको धारापानीमा माता रामकुमारी अधिकारी र पिता तेज प्रसाद अधिकारीका चौध सन्तान मध्ये दोस्रो सन्तानको रुपमा जन्मिएका एक प्रतिभाशाली ब्यक्ति हुन् अमर अधिकारी। गाउँले सामान्य परिवारमा जन्मिएका अमर पढाईमा मध्यम विद्यार्थीमा पर्ने अमरसंग धेरै प्रतिभा पनि अमर रहेको पाइन्छ।

सात कक्षासम्मको अध्ययन खुंग्रीको त्रिपुरेश्वरी निमाविमा गरेका उनी आठकक्षादेखि प्यूठानको भिंग्रीमा दैनिक आठ किलोमिटरको दूरी पार गर्दै पाँच घण्टा आउजाउ गर्दै माविस्तर अध्ययन गरेका रहेछन्। उनी २०३८ सालको एसएलसी टेस्ट परीक्षामा फेल भएको कुरा पनि लुकाउन चाहँदैनन्। `आफ्ना ब्यक्तिगत जुनसुकै कुरा पनि नचपाई खुलस्त गर्ने खराब बानी छ मेरो´ भन्छन् उनी।

भनिन्छ साहित्यक मान्छेले एक शब्द मात्रै पायाे भने त्यसबाट हजार शब्दमा मुर्त रुप दिन सक्छ त्यहि गुण यिनै अमरमा पनि छ। उनका परिचय धेरै छन, राष्ट्र सेवक, प्रशाशक, साहित्यकार जस्ता क्षेत्रमा उनकाे नाम भेटिन्छ।

मावि तहसम्म श्री अमर मावि भिंग्री प्यूठानमा अध्ययन गरेका अमरले २०३९ सालको एसएलसी परीक्षा दिन प्यूठानको वागदुला केन्द्रमा जानुपरेको सम्झना अझै ताजा रहेको पनि बताउँछन्। भिंग्री स्कूलको तर्फबाट त्यससाल खुंग्रीबाट एसएलसी दिएकामध्ये चारजना उत्तीर्ण गरि रोल्पाको समेत इज्जत बढाएका उनीसहित र उनको टीमको चर्चा भने कहीँ कतै हुनेगरेको छैन। जब कि त्यससालसम्म एसएलसीमा रोल्पा केन्द्र शून्य हुनेगरेको थियो। उनकाे ब्याज नै राेल्पाबाट एसएलसी उतिर्ण गर्ने पहिलो हाे।

२०४० सालमा एसएलसीको परिणाम पश्चात दुई दिन पैदल यात्रा गर्दै दाङकाे भालुबाङ हुदै भदौको उर्लँदो राप्ती नदीमा काठको डुंगा चढेर पारिपट्टी पुगेको पत्तो नपाएका अमर पिताजीसँगै वनकस र कालाकाटे हुँदै बुटवल जाने गाडीमा यात्रा गर्दाका अनुभवका दिनहरु बारे उनले प्रकाशन गरेको पुस्तक ‘ओगिल्जा’मा पढ्न सकिन्छ। बुटवलबाट चढेको बस सिधै काठमाडौँ पुगेर ओर्लेपछिका दिनहरु त्यस पुस्तकमा वर्णन गरिएको छ। उतिबेला १ हजार ऋण काढेर उच्च शिक्षा अध्ययनको सिलसिलामा राजधानी प्रवेश गरेका उनी २०४० देखि संस्थान सेवा प्रवेश गरि २०५६ सालमा राजीनामा दिएका रहेछन्।

लोकसेवा परीक्षा पास गरि २०५६ माघदेखि २०७९ सम्म निजामती सेवा ब्यतित गरेका अमरका जागिरे जीवनमा केही मीठा र धेरै तीता अनुभव छन्। उनले आफूलाई देशभक्त भन्न रुचाउँछन्, कर्मचारीतन्त्रमा देखिदैआएका बेथितिलाई चिरफार गर्ने किसिमका र विद्रोही भाव झल्किने खालका उनका लेख रचनाहरु राष्ट्रिय दैनिक पत्रिकाहरुमा पनि उपलब्ध छन। २०४५ सालमा गोरखापत्रमा प्रकाशित ‘भाग्य र कर्म’ शीर्षकको कथाबाट साहित्ययात्रामा हालसम्म निरन्तर रहँदैआएका उनका धेरैजसो कविताहरु कान्तिपुर दैनिकले छाप्नेगरेको थियो। २०६१ सालमा पहिलो कृतिको रुपमा बाल कविता संग्रह ‘ईन्द्रेणी’ प्रकाशन गरेका अधिकारी २०७९ मा अनिवार्य अवकाश पश्चात स्थानीय स्तरका गाउँ ठाउँहरु झल्किने ‘साइँली सलल’ गीत रचेका थिए। जुन गीत अहिले युट्युबमा उपलब्ध छ। लगत्तै आत्मकथा ‘ओगिल्जा’ र ‘रापतीका अलग शब्दहरु’ प्रकाशन गर्न सफल अमर अझै आधा दर्जन कृतिहरु प्रकाशन गर्ने तरखरमा छन् कुनै प्रकाशन गृहले सघाएमा।

गोरखापत्रमा उनका ब्यंग्य तथा समसामियक लेखहरु पनि प्रकाशन भैसकेका छन्। मधुपर्कमा प्रकाशित उनको लघुकथा नेपालको सबैभन्दा छोटो लघुकथा थियो। कान्तिपुर दैनिकमा उनका कविता, कथा तथा जानकारीमूलक, चेतनामूलक लेखहरु पनि प्रकाशित हुँदैआएका थिए। सरकारी सेवाबाट अवकाश भएपछि उनी साहित्ययात्रामा अझै सकृय हुँदैआएका छन्। बाह्रवर्ष अघिदेखि नै फेसबुकमा रमाउँदै आएका उनका रमाइला र ज्ञानवर्द्धक सामग्रीहरु प्रसंशकहरुले ज्यादै रुचाउँदै आएका पनि छन्। हाल देशमा ब्याप्त भ्रष्टाचार, अनियमितता, विकृति र विसंगतिका विरुद्ध कलम चलाउँदै आउँदा त्यसबाट आफूलाई सन्तोष प्राप्त भएको पनि उनी बताउँछन्।

सरकारी सेवाको दौरानमा डटेर काम गर्ने राष्ट्रसेवकमा गनिदैआएका अधिकारी ४० वर्ष काठमाडौको बसाईमा चौधवर्ष सिंहदरवारमा बिताएका थिए। सार्वजनिक विदाका दिनमा पनि कार्यालय आउने तथा अन्य दिनहरुमा पनि राती नौबजेसम्म काम गर्नुपरेको तर निजामती पुरस्कार पाउनेहरुको सूचीमा कहिल्यै पनि उनी परेनन। तर पनि आफ्नो नाम नपर्ने गरेकोमा उनलाई कुनै दुःख छैन। किन कि नेपालमा कस्ताखालका मान्छे पुरस्कृत हुन्छन् भन्ने कुरा उनलाई छर्लंगै छ। पुरस्कार नपाएकै राम्रो ठान्छन् उनी।

आफ्ना कृतिहरु र गीतका लागि डेढ दर्जन उपाधि प्राप्त गरेका अमरमा अहं अर्थात् घमण्डको झल्को रतिभर पनि देखिँदैन। उनी मजदूर देखि विशिष्ठ श्रेणीका ब्यक्तिहरुसम्म घुलमिल हुनचाहन्छन् र उनलाई मन नपराउने मान्छे विरलै भेटिन्छन्।
हाल उनका कृतिहरु तीसभन्दा बढी जिल्लामा पुगेको साथै अमेरिका र अष्ट्रेलियामा पनि पुगिसकेको बताउँछन्। वरिष्ठ अधिकृतबाट अवकाश भए तापिन उनी खरिदारको भन्दा पनि कम पेन्सन थाप्छन्। कारण एउटै हो उनको सेवा अवधि कम हुनु। उनलाई अहिले पूर्वप्रशासक भन्दा पनि एक बहुप्रतिभाशाली ब्यक्तिको रुपमा हेरिएको छ। जुन कुरा अवकाशपछि मात्र उजागर भएर आएको छ। जागिरे जीवनभन्दा पनि अहिले ब्यस्त रहने गरेका अधिकारीले अन्य लेखकका कृतिहरुको भाषा सम्पादन गर्ने काम पनि गर्दैआएका छन्। हाल उनी वरिष्ट साहित्यकारहरु एवं प्राज्ञहरुको माझ रमाउँदै आइरहेका छन्।

भेगीय शब्दकोश प्रकाशन गर्ने सायद उनी नेपालकै पहिलो लेखक हुन्। उनको ‘रापतीका अलग शब्दहरु’ नामक शब्दकोश परीक्षण प्रकाशनमा आइसकेको छ। प्रसंशकहरुले उनको पुस्तक ‘ओगिल्जा’ दोहोराई तेहोराई पढ्ने गरेको र उनको गीत पचासौँ पटक सुन्ने र हेर्नेगरेको कुरा सुन्दा उनी दंग पर्ने गरेका छन्। प्रसंशकहरुले गीतलाई भिडियो बनाउन सुझाव दिँदै आएको भए तापिन उनिसँग आर्थिक स्रोतको कमी छ। साथीहरुले उनलाई साहित्यकार, लेखक, गीतकार लगायतका उपनाम अर्थात् संज्ञा दिइसकेका छन्। तर उनले आफूलाई सो पंक्तिमा पुगेको आभाष नपाएको भन्छन्।

आफ्ना सहपाठीहरु विशिष्ठ श्रेणीको दर्जामा पुगेपनि आफू त्यो ठाउँमा पुग्न नपाएकोमा कुनै गुनासो छैन। आइ.कम. पढ्दैगर्दा दोस्रोवर्ष कलेज कम जानेगरेको र वि.कम. पढ्दा पनि दोस्रोवर्ष खासै कलेज नगएको र पढाईमा आफू कमजोर भएपनि स्नातकोत्तरसम्म अध्ययन गरेका बताउने अमरले लोकसेवा परीक्षाको तयारी पनि डटेर नगरेको सम्झन्छन्। तीनवर्षका लागि रोल्पाको मालपोत प्रमुख भएर गए तापनि उनी छ महिना मात्र हाजिर भएर काठमाडौँ फर्किए। कारण एउटै थियो नैतिकता र इमान्दारिता जोगाउनुपर्ने। यस सम्वन्धमा उनको पुस्तक पढ्दा अझ स्पष्ट हुन्छ।

बाह्रवर्ष सम्म कर्मचारी सञ्चयकोषको ३५ लाख ऋण बाेकिरहेका उनले किस्ता र ब्याज तिर्दा पैतृक सम्पत्ती गुमाउनु परेको तीतो कुरा पनि सुनाउँछन्। अवकाश पश्चात् सरकारले दिने एकमुष्ट रकम अरुले मुद्दती खातामा राख्छन् तर अमरले पाएको सो रकम कर्मचारी सञ्चयकोषको ऋण तिरेर उन्मुक्ति पाएको खुलासा गरे। उनको नाममा रोल्पाको खुंग्रीमा डेढआना जग्गा र आधा घर छ। उनको नाममा अरु कुनै सम्पत्ती छैन। उनको सम्पत्ती भनेको चलिरहने कलम नै हो। कलमको शक्ति ज्यादै हुने गरेको उनी अनुभव सुनाउँछन्। गत पुष १५ गते प्रकाशित उनको लेखले सिंहदरबार भित्र खैलाबैला मच्चिएको र तत्पश्चात् सुरक्षा विषयमा ब्यापक सुधार भएको पनि उनि बताउँछन्।

उनी इस्माली खलकको मात्र होइन, खुंग्रीभरको मात्र होइन रोल्पाकै एक मुर्धन्य ब्यक्ति हुन्। जसले धेरै कुराहरुमा रेकर्ड राखेका छन्। तर उनलाई प्रतीभाशाली बनाउन आफन्तले भन्दा पराई तर प्रसंशकहरुले साथ दिएका छन्। उनी रोल्पाली भए पनि उनका प्रसंशकहरु प्यूठान, दाङ र काठमाडौमा बढी छन्।

उनलाई देशमा टालाटुली बटुलीको सरकार भैरहँदा देशको समस्याले निकाश नपाउने बताउँछन्। पूर्णकालीन सरकार र संसद भएमा मात्र देशमा केही सकारात्मक सुधार हुनेमा आशा गर्नसकिन्छ भन्छन् उनी। चौधवर्ष सिंहदरवारमा बिताउँदा उनले सबै पार्टीहरुको मुहार राम्रोसँग हेरिसकेका छन्।

पछिल्लो समय उनी लेख, साहित्यका विभिन्न विधा र खाेजमुलक लेखनमा आफ्ना दिनचर्या बितेकाे बताउँछन्। बसाइँ राजधानी काठमाडौमा भएपनि आफ्नाे हरेक क्रियाकलाप गाउँलेकै रुपमा गर्न रुचाउने र त्यहि गाउँकै पात्र भएकाे पनि उनलेे बताए।

उनी जागिरे समयमा समेत सामान्य स्वभावका थिए उनी भन्छन् – `मैले सरकारी जागिर खाने क्रममा २०६८ सालदेखि १२ वर्षसम्म एउटै पोशाकले भ्याउने अफिसर हु, कसैले १२ वर्षसम्म एउटै पाेशाक लगाउने सरकारी कर्मचारी काे हुन भनृर सोधेमा मेरो नाम लिनुहोला। त्याे अवधिमा अरु साथीहरूले ४/५ जोर फटालिसके तर मेरो भने अझै छ।´ यसबाट पनि स्पष्ट हुन्छ उनी एकदमै सरल र सामान्य स्वभावका व्यक्ति हुन।

उनका हरेक लेख तथा साहित्यक रचनामा ग्रामीण परिवेश हुदै सामान्य गाउँले थेगो समेत सरल रुपमा प्रयाेग गरेका हुन्छन् । पछिल्लो समय उनका विभिन्न लेख र रचनाहरु अनलाइन पत्रिकाहरुमा पनि पढन पाइन्छ।

प्रकाशित मिति : २०८० माघ १४ गते आइतवार