पुस १५ काठमाडौ – उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण सहित उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन। नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले गृहमन्त्री लामिछानेलाई स्वागत गरेका थिए।
निरीक्षण भ्रमणका क्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलीग्राफ सेक्सन र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिएका थिए। निरीक्षण पश्चात नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयले तयार पारेको ‘सेवा प्रतिको सन्तुष्टि र कार्य सम्पादनमा प्रभाव पार्ने तत्वहरू: नेपाल प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतहरूको मामला अध्ययन’ र ‘नेपाल प्रहरीमा युवाको आकर्षण र विकर्षणको अवस्था विषयक’ २ वटा छुट्टाछुट्टै अध्ययन प्रतिवेदन सार्वजनिकिकरण समेत गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
नेपाल प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतहरूको कार्य सम्पादनमा प्रभाव पर्ने तत्वहरूको पहिचान गर्ने र सुधारका क्षेत्रहरू पहिल्याउने उद्देश्यले गरिएको अध्ययनले कार्य वातावरण, कार्य सन्तुष्टि, कार्य उत्प्रेरणा र कार्य सम्पादनलाई एक अर्काको परिपूरकको रूपमा अन्तर सम्बन्धीत रहेको देखिएको उक्त प्रतिवेदनमा देशभरबाट विभिन्न जिल्लामा कार्यरत १ हजार ३ सय ८६ जना नेपाल प्रहरीका जुनियर प्रहरी अधिकृतहरूमा सर्वेक्षण, गहन अन्तरवार्ता तथा सुपरिवेक्षक तहका प्रहरी कर्मचारीहरूसँग लक्षित छलफलको माध्यमबाट परिमाणात्मक र गुणात्मक दुवै किसिमका तथ्याङक विश्लेषण गरी प्रतिवेदन तयार पारिएको छ । यसैगरी नेपाल प्रहरीमा युवाको आकर्षण र विकर्षणको अवस्था विषयक अध्ययन प्रतिवेदनमा देशभरबाट कक्षा १० देखि स्नातक तह सम्म अध्ययनरत १ हजार ३ सय ६१ जनालाई सहभागी गराई प्रहरीको काम कर्तव्यप्रति युवाको धारणा र सेवाप्रति युवाहरूको आकर्षणका सम्बन्धमा सर्वेक्षण गरी प्रतिवेदन तयार पारिएको थियो ।
कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडियो कन्फेरेन्स मार्फत ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, गण प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू तथा सबै जिल्लाका प्रहरी प्रमुखहरुलाई समेत निर्देशन सम्बोधन गरेका थिए। जस्तो सुकै विषम परिस्थितिमा पनि किन्चित विचलित नभई अहोरात्र जनताको सेवामा खटिई देशको आन्तरिक शान्ति सुब्यवस्था कायम गर्नुको साथै अपराधको रोकथाम तथा नियन्त्रण र अपराध अनुसन्धानमा उल्लेखनीय भुमिका निर्वाह गर्दै आईरहेको चर्चा गर्दै संगठनको निर्माण र उच्च छवि बनाउन योगदान दिनु हुने सम्पूर्ण पूर्व प्रहरी अधिकृतहरु र बहालवाला प्रहरी अधिकृत तथा जवानहरु प्रति समेत सम्मान प्रकट गरेका हुन।
संगठनको बिकास र बिस्तार तथा प्रहरी कर्मचारीहरुको बृत्ति विकास गर्ने कार्यलाई प्राथमिकता दिईने बताउँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले भने, ‘आवश्यकतानुसारको प्रहरी कार्यलयहरुको भौतिक संरचनाहरु छैनन, तल्लो तहका प्रहरी कर्मचारीहरु ब्यारेकमा कष्ट पुर्ण तरिकाले सुत्नु परेको अवस्था छ, प्रहरी प्रधान कार्यलयमा कार्यरत कर्मचारीहरुको लागि आवास गृह छैन, स्केलमा पाउनु पर्ने सामानहरु समयमा तोकिए बमोजिम पाउन नसकेको अवस्था छ र महङ्गी अनुसारको राशनको व्यवस्था नहुने अवस्थाको अव अन्त गरिनु पर्छ ।’ प्रविधिको विकास संगै त्यसको दुरुपयोगबाट श्रृजित अपराधको अनुसन्धानको चुनौतिको सामना गर्न नेपाल प्रहरीलाई मजबुद बनाउन आवश्यक प्रविधिको विकास प्राथमिकता रहेको उहाँले बताउनुहुँदै प्रहरी कर्मचारीको मनोबल उच्च पारी नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने वातावरणको श्रृजना गराउन तालुक मन्त्रालयबाट सहयोग र सहजिकरण गर्न सदैव तत्पर रहेको समेत बताए।
नागरिकको अपेक्षा अनुरुपको चुस्त दुरुस्त सेवा प्रवाह गर्न गराउन उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले सर्वसाधरणको प्रहरी सेवामा सहज पहुँचको व्यवस्था र दण्डदहिनताको अन्त्यको साथै भ्रष्ट्राचारमा शून्य सहनशिलताको नीति व्यवहारमा लागू गर्न समेत निर्देशन दिएका छन। विभिन्न राजनीतिक दलका आवरणमा संरक्षित गुण्डागर्दी बिरुद्ध निर्मम भएर प्रहरी कारवाही गर्न विशेष निर्देशन दिँदै उहाँले सीमा क्षेत्रमा हुने भन्सार छलि, तस्करी तथा अन्य अनियमितता, लागूऔषध बिक्री वितरण र सेवनलाई पुर्णत निस्तेज पार्न विषेश कार्ययोजना बनाई कार्यसम्पादन गरि महिला, बालबालिका र जेष्ठ नागरिकहरुको सन्दर्भमा अझ बढी संवेदनशिल भएर सोही अनुसार सेवा प्रवाह गर्न समेत निर्देशन दिएका छन।
त्यस्तै कार्यान्वयनको सिलसिलामा कसैको दबाव र प्रभावमा नपरी निष्पक्ष र पारदर्शी भई कानूनले दिएको अधिकार निश्चिन्त भइ प्रयोग गर्न सवै प्रहरी कर्मचारीहरू दत्त चित्त भइ आ-आफ्नो ठाउँबाट इमान्दार भई कार्यसम्पदान गर्नुपर्ने तथा सरुवा, बढुवा र बृत्ति विकासको लागि मापदण्ड तयार गरी लागु गरिने र मापदण्ड र कार्य सम्पादनको मुल्यांकनको आधारमा बढुवा र सरुवा गर्ने गराउने व्यवस्था कडाइका साथ पालना गरिने समेत बताए।
निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछाने समक्ष प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङक तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा, निर्वाचन सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौति, भावी योजना र अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए । सोही अवसरमा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले निर्मला पन्तको जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा सम्बन्धी अनुसन्धानको प्रगति विवरण समेत प्रस्तुत गरेका छन।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालय, गण प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो ।