असाेज ३० रुपन्देही – नेत्रहिन युवा संघ रुपन्देहीको आयोजनामा आगामी ४ मंसिरमा हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनको नमुना मतदान सम्पन्न भएको छ ।

शनिबार बुटवल उपमहानगरपालिका -१५ स्थित दुर्गा भवानी प्राथमिक विद्यालयमा भएको नमुना मतदान कार्यक्रममा विभिन्न प्रकृतिका अपांगता भएका व्यक्तिहरु र सर्वसाधरणहरुको सहभागिता रहेको थियो । आगामी निर्वाचनमा अपांगता भएका व्यक्तिहरुलाई आफ्नो मताधिकारको सहज प्रयोग, अपांगतामैत्री संरचना र मत बदर हुन नदिन अपनाउनुपर्ने सावधानी सहित नमुना मतदान गरिएको र कुल खसेको मत मध्य प्रतिनिधि सभा तर्फ कुनै मत बदर नभएको र प्रदेश सभा तर्फ ३ मत बदर भएको नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलले बताए ।

नमुना मतदान कार्यक्रममा ह्लिचियर प्रयोगकर्ता, दृष्टिविहिन, शारिरीक अपांगता, बहुअपांगता, न्यून दृष्टिविहिन ,बहिरा लगाएत अपांगता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो । निर्वाचन आयोगद्धारा उपलब्ध गराइएको नमुना मतपत्रको प्रयोग गरी निर्वाचन अधिकृत, प्रवेक्षक, प्रतिनिधी लगाएतको व्यवस्था गरी नमुना मतदान गरिएको थियो ।

उक्त नमुना मतदान कार्यमा स्थानियहरुको उत्साहजनक सहभागिता रहेको पहुंच परियोजनाका रुपन्देही जिल्ला अधिकृत लक्ष्मी पाण्डेले बताइन्।

प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार