भदौ १३ काठमाडौ – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह न्युयोर्क गएका छन।

संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा भदौ १५ देखि १७ गते (३१ अगस्ट देखि २ सेप्टेम्बर, २०२२) सम्म संचालन हुने तेस्रो संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको सम्मेलन (UNCOPS) मा सहभागी हुन सोमबार न्युयोर्क गएका हुन।

प्रहरी महानिरीक्षक सिंहसँग उक्त सम्मेलनमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी निरीक्षक केदार प्रसाद सापकोटा समेत गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उक्त सम्मेलनमा निम्न उल्लेखित विषयहरूमा छलफल हुने कार्यक्रम रहेको जनाएको छ।

१. संयुक्त राष्ट्र प्रहरी र अन्य कानून प्रवर्तन मामिलाहरूको लागि प्रणाली व्यापक सेवा प्रदायक र केन्द्र बिन्दुको रूपमा संयुक्त राष्ट्र प्रहरी डिभिजनको भूमिकालाई परिचालन गर्न,

२.संयुक्त राष्ट्र प्रहरी भित्र लैङ्गिक समानतालाई अगाडि बढाउने स्वैच्छिक कम्प्याक्टको सुरुवात सहित क्षमताहरू सुदृढ गरेर संयुक्त राष्ट्र प्रहरीको कार्यसम्पादन अभिवृद्धि गर्न जारी प्रयासहरूलाई बलियो बनाउन,

३.अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा प्रक्रियाहरू, छलफलहरू र फोराहरूमा संयुक्त राष्ट्रको पुलिसिंग प्राथमिकताहरू एकीकृत गर्न,

सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले अन्य देशका प्रहरी प्रमुखहरूसँग द्विपक्षीय तथा बहुपक्षीय भेटघाट गरी साझा सुरक्षाका विषयमा समेत छलफल गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी प्रहरी महानिरीक्षक सिंह स्वदेश फर्कदा सम्म प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी पाएका छन ।

प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित विदाई गरेका थिए।

प्रकाशित मिति : २०७९ भाद्र १३ गते सोमवार