यसपालीको साउन महिना पतिको लामो आयु,पारिवारिक सुखशान्तिका लागि सोमबारे व्रत बस्ने ,हरिया चुरा पहिरिने नारी काण्डले निकै सामाजिक सन्जाल ततायो । दुई बर्ष अगाडि पनि साउन महिनामै एउटी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भयो । ठिक दुई बर्ष पछि प्रहरीका उच्च ओहोदाका ब्यक्ति आफ्नी श्रीमतीको बीभत्स हत्याका कारण सर्वस्वसहित जन्मकैदको सजाय तोकिएको भएता पनि हाम्रा न्यायाधीश द्वयको चित्तले सजाय अति भयो भन्ने देखेपछि ८ बर्ष छ महिनामा रिहा गराउनु भयो ।
अपराधी सावित भएका श्रीमान शानमानका साथ हात हल्लाउदै अभिवादन गर्दै कारागारबाट बाहिरिए।त्यसपछि श्रीमतीका बाबु आफ्नी छोरीले न्याय नपाएको भनेर भौंतारिन थाले । यस घटनाले सिंगो न्यायालय नै बिवादमा मुछियो । जे होस् ती न्यायमुर्तिको चित्तलाई सतक नमन गर्ने मन भयो मेरो पनि किनकि नेपालका अधिकांश जेलहरुमा महिला कैदिबन्दी छन् र प्रायजसोका बच्चा छन् । केही महिला कैदिका त जेलमै बच्चा हुर्किरहेका छन् ।जुन बालबालिकाका आमा जेलमा छन् ती बालबालिकाको पालनपोषण भबिष्य निर्माणमा कुनै असर नपर्ने र ती श्रीमतीको हत्या गर्ने पुरुषका बच्चाको भबिष्य मात्रै अन्योल हुने उनिहरुको लालनपालनमा असर पुगेको देख्ने चित्त देखे ।
म न्यायालय माथि अौला उठाउन चाहान्न तर श्रीमानको चित्तलाई पित्त जस्तो नबनाउन सुझाव दिन चाहान्छु । यहाँ धनी भयर वा पहुँच वाला भएर ती अपराधीले छुट्कारा पाए मैले जानिन तर जुन लोग्नेको आयु बढाउनको लागि व्रत बस्थिन वास्तवमा लोग्नेको आयु बढाएर नै छाडिन्।आफु सिद्धिएर भए पनि फेरि अर्का महापुरुषको पनि बेसरी चर्चा छ अहिले सामाजिक सन्जालमा।ती पुरुषले साढे दुई बर्षको छोरोलाई बोकेर रिक्सा चलाएको फोटो सन्जालमा अपलोड गरेर युटुवरहरुले पुरुषको महानता प्रदर्शन गरिरहेका छन् जोडबल लगाएर ।
अनि सन्जालभरी ती महापुरुषको महानकार्यलाई यति महान बनाईएको छ कि लाग्छ उनले संसार चकित पार्ने नवौं काम गरे।अनि उसको बच्चाको आमालाई यतिसम्म दुर्वाच्य प्रयोग गरिएको छ कि बोल्नेका घरमा सृष्टिले नारी शून्य गराईदिएको छ । युटुवर जान्छन् गाउँले जम्मा पार्छन्अनि उसकी श्रीमती त फलानासंग हिडी,फलानासंग सुती चरित्र हिन हो,लोग्नेसंग झगडा गरि भनेर भिडियो खिचेर अपलोड गरिदिन्छन् । यीनीहरुलाई पनि सतक हैन दशक नमन गर्नु मन लाग्यो । किनकि अर्काको घरमा पसेर अर्काको चरित्रमाथि धावा बोल्ने हिम्मत राख्छन् र यी पनि घरमा नारीशुन्य नै होलान् ।
अर्काथरी छन् लोग्नेले माया गरेर राखोस् मिलेर बसुन्,अन्याय नहोस् भनेर नारीको पक्षमा दुई शब्द बोल्ने,सुझाव दिने महिलालाई समेत तथानाम भनेर गालीगलौज गर्ने । ती महान् आत्मालाई पनि २१ तोपको सलाम । किनकी तिनीहरुको दिमागमा आफ्ना दिदीबहिनीलाई पनि यस्ता समस्या पर्न सक्छन् त्यसको निराकरण गर्ने उपाय खोज्नु पर्छ भन्ने छैन ।
अनि अर्का थरी नमुना छन् जसले आफुले त केही गर्ने हैन अरुले गरेका काममा कहानेर दोष छ त्यसको मात्रै खोजी गर्ने । आफ्नो घरमा दुईजना बच्चा सम्हाल्न गाह्रो हुन्छ भनेर अरुलाई कथा सुनाउदै हिड्नेहरुलाई के थाहा कि एकहुल बच्चा त्यो पनि अर्काको पाल्न कति संघर्ष गर्नुपर्छ ? भनेर।अनि सानो गल्ती भेटेपछि आत्महत्या नै गर्न बाध्य पार्ने समेतका हरकत गर्ने ती महान आत्मालाई पनि प्रणाम गर्छु म किनकि तिनीहरुसंग मातृत्व शून्य मन हुन्छ ।
हामी सधैं हाम्रो समाजलाई मात्रै गाली गर्छौं दोष दिन्छौं तर आफैसंग एउटा यस्तो मानसिकता बोकेका छौं कि जहाबाट नारीलाई समान दर्जामा हेर्न चाहान्नौं । नारीले आफ्नो सम्पुर्ण मातृवात्सल्य खर्चेर नौ महिना पेटमा राखेर छाती चुसाएर सन्तानको पालनपोषण गर्दा फोटो खिचेर भिडियो बनाएर सार्वजनिक गर्न सक्छौ ? रगतको डल्लो हुर्काएर पालनपोषण गर्छे भने पुरुषले दुई अढाई बर्षको बच्चा एकदिन बोक्दैमा उसको घरमा त्यत्रो कुरुक्षेत्र किन बनाउछौ ? नदिकिनारमा गिट्टि कुट्दै गिट्टी माथि बच्चा राखेर बच्चा पालेकी आमाको फोटो खिच्न किन कांप्छन् तिम्रा हातहरु?
अनि अर्काथरी महापापिष्ठ जसले एकोहोरो उसंग प्रेम गरोस् नत्र बाच्ने अधिकार नै छैन जस्तो गरि नारीको मुखमा एसिड छ्याप्छन् पाखण्डीहरु । पुरुषले आफुले मन पराएं भनेर आफैसंग प्रेम गर्नुपर्ने ? अनि केटीले मन नपराए एसिड हान्ने ? नारीको जीवन ती सिमित पापीहरुका लागि बलिदान दिन मात्रै हो ? कस्तो बिडम्वना त्यहि एसिड छ्याप्ने बेला किन सोच्दैन कि मेरो घरमा पनि नारी छन् म स्वंय नारीकै कोखबाट जन्म लिएको हुं भनेर ? यसैगरी श्रीमती मार्दै गर,छोरीहरु बलात्कार गर्दै गर,नानीहरुको मुखमा एसिड छ्याप्दै गर,अनेकन आरोप लगाएर समाजमा घृणित गर अनि नारीको शिर उठ्न नदेऊ,एकदिन यस्तो नआओस् कि सृष्टिसंग घुंडा टेकेर संसार नारी शून्य गराईदेउ भने प्रार्थना गर्नु नपरोस्।
यस्ता अन्यायपुर्ण व्यवहार महिलाले अझै कतिसम्म बेहोर्नु पर्ने हो?
महिला हिंसा अन्त्य गर !!!
देवि काफ्ले
काठमाडौ , हाल न्युजिल्यान्ड