यो साता पूरै पर्खाईमा बित्यो। साता अन्त अत्यन्तै नजाती खबरले आँखा ओभाएनन्। हुनत यो पर्खाई बिगत दुईबर्ष देखिको थियो।नतिजा आउनेबेला निकै सकस हुने।
अहिले बिपिन जोशीको प्रतिक्षामा प्राय नेपालीका सहस्रअश्रुधारा बहिरहेका छन्। समय थोरै घटनाको प्रकृति फरक तर पिडा,ब्यथा एउटै ।
आज सामाजिक सन्जाल जता फर्काए पनि बिपिन नै बिपिन छ।तिमी आऊका प्रार्थनाले पानाहरू भरिएकाछन्। मायाप्रेम,मानविय समवेदनशिलताले होला सबैले उनको फोटो टांसेर श्रद्धाका शब्दहरूको संगालोले एउटा शास्त्र नै बन्न लागिसक्यो। खबर मिडियाहरू एकअर्कालाई उछिन्न कसैले जीउँदै भएको कसैले मृत्यु भैसकेको मनपरीका समाचार सम्प्रेषण गर्दैरहे। सन्जालकर्ताहरू कसैमा पनि त्यो मानविय समवेदना देखिएन जसले त्यो परिवारले सहनुपरेको छ। निर्जिव शरिरको प्रतिक्षा जति गह्रौं वस्तु दुनियामा केही छैन। हामीले यो अवस्थाको प्रतिक्षा थोरै समय गर्यौं बिपिनको परिवारले लामो समय।
मान्छेहरू कुरा बनाउन र भ्रामक कुरा कसरी फैलाउँछन् कुन्नी ?? तुरून्त माध्यामहरू तयार गरेर बहकाउन सकिहाल्छन् ।
हाम्रो परिवारको माइलो सन्तान,मेरो माइलो दाई नेपाल आर्मीमा कार्यरत थिए। २०४७ सालको भदौमा शान्तिसेनामा इजरायल पुगे। फागुनको अन्तिमतिर फर्कनुपर्ने थियो तर कुनै कारणबस रोकिएर पछिल्लो ग्रुपमा फर्कने कुरा भएछ। त्यतिबेला फोनको समय थिएन। जे जति कुराहरू हुन्थे चिठीपत्रमै हुन्थे।हामी कपिलवस्तु जिल्लाको गजेहडा गा.पं अन्तर्गत डुंगहवा भन्ने गाऊंमा बस्थ्यौं। हाल बाणगंगा नगरपालिका पर्छ।त्यो गाऊंमा सन्चारको साधन भनेकै रेडियो हुन्थ्यो।
फागुनमा आउने भनेको दाईले चैतमा आउने भएं भनेर चिठी पठाए। सायद चैत्र छ गतेको फ्लाइट निश्चित थियो। घर फर्के पछी जागिर छाड्ने र अन्य काम शुरू गर्ने सल्लाह थियो दाजुभाईको।दाईको दुइजना छोरी र एक छोरा ।भाउजु पनि उमेर कै।जेठी छोरी भरखर दश बर्षमा टेकेकी,कान्छी छोरी छ बर्षकी र छोरा काखैको। छुट्टाभिन्न भैसके पनि परिवार वल्लोपल्लो घरमा नै बसिन्थ्यो। आमा बितीसक्नुभएको र बा बुढो। हामी भाईबैनी लगायत सबैका आँखा अब बाटोतिर कर्किन थालेका थिए। चैतको ६ गते काठमाडौ आइपुग्च अरे भन्नुहुन्थ्यो बा। भाउजु र बच्चाहरू पनि अब आउनेबेला भयो भनेर दिन गन्दै औंला भांचिरहेका हुन्थे। जिउंदो मान्छेको पर्खाई र निर्जीव शरिरको पर्खाई कति फरक हुन्छ भन्ने कुरा हामीले जति कसले बुझ्यो होला र?
चैतको महिना सुक्खा हावा चलिरहने तराईमा। भोलीको तिब्र पर्खाई थियो। बिहानको कामपछी दिनभर लाखापाखा लाइयो।चारबजेपछी घरपुग्दा फरक खालको सुनसान थियो। घरको पालीको खांबोमा झुण्ड्याएको पानासोनिक रेडियो थिएन। मन शसंकित भयो कुनाबाट अदृश्य डरले कोपरीरहेको थियो। समाचार दिउस नै प्रसारण भएको रहेछ। कान्छो दाईले र बाले रेडियो लुकाइदिनुभएछ। भाउजुले थाहा पाएपछी सम्हाल्न सकिन्न अब के गर्ने भनेर सबै पिडा जति दबाएर बोलिरहेका थियौं। मौका पारेर गाऊंका कुरौटेहरू सल्बलाएछन् ए चक्रे त मर्यो अरे,ए माइलाले त अर्की स्वास्नी लिएर बसेको छ अरे,घर आउंदैन अरे,जति जनाले भेट्छन् भाउजुलाई उति नै थरी कुरा गरिदिएछन्। शान्तिसेना गएर घर आउने बेला मर्यो अरे भन्दै दया देखाउनेहरूले सबैभन्दा धेरै पिडा दिए हामीलाई। दाईको शव १८ गते ल्याउने कुरा भयो। जीवनमा हाम्रो परिवारको लागि सबैभन्दा कठीन प्रतिक्षाको समय नै त्यो १२ दिन थियो। अन्तत दैवको निर्णय स्विकार त गर्यौं तर देखेपिच्छे दाईकै खबरका कुरा गरेर सहानुभूती दिएजस्तो गर्ने ति विवेकहिन मानिसहरूलाई कहिल्यै माफ गर्न सकिन मैले।
अहिले विपिन जोशीको परिवारलाई परेको चोटको मूल्यांकन गर्न म कहाँ सक्छु र? सामाजिक सन्जालमा रमिरहने मलाई विपिनको तस्विरले मेरै दाजुको त्यो क्षणको याद ताजा गराइदिन्छ जुन हेर्न सक्दिन।
हाम्रो त १२ दिनको पर्खाई थियो पुष्पाको त दुइ बर्षकै प्रतिक्षारह्यो। छ कि छैन कि ?आउला कि नआउला ?कुर्दाकुर्दै त्यो दाजुको मृत्युको खबरले कतिसम्म पिडा भयो होला ? फेसबुकभरी फोटो टाँस्न मनगढन्ते समाचार बनाउन हतार गर्ने कठोर मान्छेहरूलाई कसरी सम्झाउं र? पुष्पाको दाजुप्रतिको स्नेह,मायाले मलाई त्यही २०४७ सालमा पुर्याइदिन्छ।दाजुबहिनीको यो माया अमर रहनेछ पुष्पा।
दैवको अगाडी कसैको जोर चल्दैन। सजिव प्राणीहरूको जन्म मृत्यु निश्चित छ। उमेरै नपुग्दै आधा बाटोमै गन्तब्य टुंगिदा मानव जगतैले दुख मनाउछ स्वभाविक हो तर त्यही समवेदना,आत्मियता र दुख प्रकट गर्नु पनि केही सिमा हुन्छ होला ।
दुखमा रोइलाग्ने सुखमा रमाइदिने हाम्रो परम्परा हो तर रोइलाग्ने भन्दैमा छाति नै चिरीदिने गरी रोइदिंदा झन् गाह्रो हुन्छ बज्र परेकाहरूलाई। बिन्ती छ सहानुभूती देखाउनुस तर परिवारको अवस्था हेरेर। कसैलाई रोक्न न त मेरो अधिकार छ न त तागत नै मात्र आग्रह हो संयमित बनेर चोट माथी चोटको बज्रपात नपर्नेगरी सहानुभूती प्रकट गरौं ।
बाबु विपिन तिहारको माला र सप्तरंगी टिका बैनीको हातमा प्रतिक्षारत रहीरहन्छ। पुष्पा तिमीले अब मखमली फुल कुनै हालतमा ओइलाउन नदिनु। हरेक तिहार तिम्रो र मेरो उस्तै हुने भयो। दैलाेमा दाईको आत्मा बाटोमा बैनीको आँखा।
धेरै शब्दहरूको युद्ध चलेको छ मनमा। लेख्न प्रयास गरें तर चाहेजति लेख्न सकिन शब्दहरू रोकिए। अब त अलिकति मानवता जगाऊं।तिहारमा पुष्पाको जस्तो कसैको दाजु नखोसियोस। यमराज तं पनि त तिहारको टिका लगाउंथिस अरे।अनि किन ति बहिनीहरू रुवाउंछस्?