कात्तिक १३ काठमाडौ – साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ। भने कसैमा आठ वर्ष देखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधरण मानिन्छ । महिनावारीको अन्तर लगभग २८ दिनमा हुने गर्दछ । महिनावारी महिला ४५ देखि ५५ वर्ष भित्रमा सकिन्छ ।

महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो महिलाको शरीरमा भएका हर्मोनको मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया पनि हो। महिनावारी सुरु हुनु भनेको एउटी किशोरी गर्भवती हुन तयार हुने सङ्केत पनि मानिन्छ । यदि महिला महिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ जुन रगतको रङ्ग गाढा रातो हुन्छ र कहिले कही ढिका जस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ ।

महिनावारी हुदा तल्लो पेट र ढाड किन दुख्छ ?
महिनावारी हुँदा तल्लो पेट र ढाड दुख्नु सामान्य नै मानिन्छ । महिनावारी हुनुभन्दा केही दिन पहिले शरीरमा भएको रागरस वा हर्मोनको मात्रामा परिवर्तन आउने गर्दछ । यस्तो हर्मोनकाे सहयोगले बच्चा हुर्कनका लागि पाठेघरको भित्र उपयुक्त वातावरण बनिरहेको हुन्छ । यस प्रक्रियाका कारणले पनि तल्लो पेट र ढाड दुख्ने गर्दछ । यदि पाठेघरले निषेचित डिम्ब प्राप्त गरेन भने त्यो निर्माण भएको रगतको तह विस्तारै रगतका रूपमा योनिमार्ग हुदै बाहिर निस्कन्छ र यस बेला पाठेघर खुम्चिने र फुक्ने हुदा यस्तो प्रकारको दुखाइ हुने गर्दछ । त्यहि हर्मोन परिवर्तनले गर्दा महिनावारी हुनुअघि कब्जियत हुने, स्तन कडा हुने अनि दुख्ने र थकाइ लाग्ने तथा कसै कसैलाई डन्डीफोर आउने जस्ता लक्षणहरू पनि देखा पर्दछन् ।

पेट र ढाड दुखेमा घरेलु उपचार के गर्न सकिन्छ ?

घरेलु तरिका अपनाएर महिनावारी हुदा पेट दुख्ने समस्यालाई समाधान गर्न सक्छौ । रुमाल वा आधा मिटर जति सुतीको कपडाको टुक्रालाई तातो पानीमा भिजाएर र पेटको वरिपरि सेकाउन सकिन्छ । त्यसै गरी तातो पानीलाई रबडको थैली (Hot bag) मा राखेर दुखेका ठाउमा विस्तारै सेक्न पनि सकिन्छ । रबडको थैली नभएका खण्डमा सिसी (Bottle) मा तातो पानी राखी दुखेका ठाउमा सेक्न सकिन्छ । त्यसै गरी दुखेका ठाउमा विस्तारै हलुका मालिस गर्नाले पनि दुखाइ कम हुन्छ । यस्तो बेला जति सक्दो तातो पानी, चिया र सुपका साथै अन्य गेडागुडीको झोल, हरियो सागसब्जी खानु पर्छ जसले शरीरलाई कमजोर हुन दिदैन । हलुका व्यायाम गर्नाले पनि दुखाइ कम हुन्छ । धेरै रगत बगेमा र सहन नसक्ने गरी पेट दुखेमा स्वास्थ्य चौकी जान ढिलाइ गर्नु हुदैन । माथि उल्लिखित लक्षणहरू महिनावारी हुने बेला देखिनु सामान्य नै हो । त्यसैले चिन्ता गर्नु वा डराउनु पर्दैन ।

महिनावारी हुदा यौन सम्पर्क कति उचित हुन्छ ?

महिनावारी हुदा यौन सम्पर्क राख्ने नराख्ने भन्ने कुरा व्यक्तिको इच्छा र निर्णयमा भर पर्छ तर वैज्ञानिक रूपले महिनावारी हुदा यौन सम्पर्क राख्नु सुरक्षित छ र यो कुनै फोहोर चिज पनि होइन । एक स्वस्थ केटी / महिलासँग महिनावारी भएको बेला यौन सम्पर्क राख्नाले लिङ्गमा कुनै प्रकारको सङ्क्रमण वा एलर्जी हुदैन भने महिलाको पाठेघर वा अन्य यौन अङ्गलाई पनि कुनै असर पर्दैन । तर महिलालाई एच.आई.भी. तथा यौनजन्य सङ्क्रमण भएको छ भने उसको यौन साथीलाई एच.आई.भी. तथा यौनजन्य सङ्क्रमण हुने सम्भावना भने यति वेला अन्य सामान्य अवस्थामा भन्दा धेरै हुन्छ ।

महिनावारीको बेला असुरक्षित यौन सम्पर्क (परिवारनियोजनका साधन प्रयोग नगरी) गरेमा गर्भ रहने सम्भावना धेरै कम हुन्छ किनकि डिम्ब निस्केर शुक्रकीटसंग भेट नभएपछि डिम्ब मात्र पाठेघरमा आउछ र त्यति बेला बाक्लो भइ रहेको पाठेघरको भित्री तहको पनि काम हुदैन । सोही कारण डिम्ब सहित त्यो बाक्लिएको तह रगतका रूपमा बाहिर आउछ । त्यही नै महिनावारी हो । त्यसैले यति बेला शुक्रकीटको मिलन डिम्बसंग नहुने हुनाले गर्भ रहने कुरै हुदैन । तर यदि कसैको महिनावारी छिटो छिटो जस्तै; २० दिनमा नै हुन्छ भने महिनावारी भएको ४-५ दिनमा यौन सम्पर्क राख्नाले महिला गर्भवती हुन सक्ने सम्भावना प्रबल हुन्छ । त्यसैले आफू सुरक्षित हुनका लागि सधै कन्डमको प्रयोग गर्नु निकै आवश्यक छ । यसले गर्भनिरोधकको काम गर्नाका साथै यौनजन्य रोगहरू सर्नबाट पनि जोगाउछ ।

प्रकाशित मिति : २०७८ कार्तिक १३ गते शनिवार