सल्यानमा अस्पताल परिसरमै डाक्टर अचेत अवस्थामा फेला परेका छन।
जिल्ला अस्पताल सल्यानमा कार्यरत ३७ वर्षीय एमडीजीपी चिकित्सक डा. बुद्धिनाथ शाह आइतबार बिहान अचेत अवस्थामा फेला परेका हुन् ।
नियमित रूपमा हुने बिरामी जाँचमा राउन्डमा डा. शाह उपस्थित नभएपछि सहकर्मीहरूले खोजी सुरु गरेका थिए । खोजी गर्ने क्रममा अस्पताल परिसरभित्र निर्माणाधीन भवन नजिकै उनी अचेत अवस्थामा फेला परेका स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक तथा जिल्ला अस्पतालका प्रमुख डा. अर्जुन कुमार बुढामगरले बताए।
अचेत अवस्थामा फेला परेका शाहलाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको हो । काठमाडौ लिने तयारी भएपनि प्रतिकूल मौसमका कारण सुर्खेत पठाइएको हाे। अहिले सुर्खेतस्थित प्रदेश अस्पतालमा उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल प्रमुख डा. बुढामगरले बताए।
उनी कसरी अचेत हुन पुगे भन्ने बारे भने अहिलेसम्म एकिन भएको छैन। अहिले अनुसन्धान भइरहेको र केही एकिन नभएको हुदा ठ्याक्कै भन्न नसकिने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डा. हेम केसीले बताए ।