कात्तिक ७ काठमाडौ – बाढीपहिरो पीडितलाई घोषित सहयोग रकम शीघ्र उपलब्ध गराउन नेपाली काँग्रेसका सह-महामन्त्री डा.प्रकाशशरण महतले सरकारकाे ध्यानाकर्षण गराएका छन।

गत असोज ३१ गतेदेखि नेपालको विभिन्न जिल्लामा परेको भारी बर्षाका कारण गएको पहिरो र बाढी परेर जीवन गुमाउनुभएका तथा घरबास क्षतिग्रस्त भएर पराश्रित भएका नेपाली नागरिकको परिवारलाई तत्काल राहत र आवास निर्माणको लागि सरकारले घोषणा गरेको सहयोग रकम यथाशीघ्र उपलब्ध गराउन सरकारलाई सह-महामन्त्री डा.महतले आग्रह गरेका छन।

आइतबार एक वक्तव्य निकाल्दै महामन्त्री डा.महतले कार्तिक ३ गते बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढी पहिरोमा परी जीवन गुमाएका व्यक्तिका परिवारलाई दुई लाख रुपैया आर्थिक सहयोग दिने र एकभन्दा बढी सदस्यको मृत्युभएको भए प्रतिव्यक्ति थप एक लाख रुपैया दिन तथा प्राकृतिक प्रकोपमा परेर आबास गुमाएका, खाद्यान्नबाली तथा जग्गाजमिन र व्यवसाय गुमाएर गुजरा चलाउन समस्या भएका नागरिकको ५ जनाको परिवारलाई १५ हजार र सोभन्दा ठूलो परिवारलाई २० हजार रुपैया उपलब्ध गराउने तथा बाढी पहिरोमा परेर घाइते हुने सबैको निःशुल्क औषधोपचार गर्ने निर्णय पनि गरेकोमा साेहि अनुसार समयमै सरकारले उपलब्ध गराउन आग्रह गरेका छन।                                                                                                                                                 सहमहामन्त्री डा.महतद्वारा हस्ताक्षर वक्तव्यमा लेखिएको छ:

गत असोज ३१ गतेदेखि नेपालको विभिन्न जिल्लामा परेको भारी बर्षाका कारण गएको पहिरो र बाढी परेर जीवन गुमाउनुभएका तथा घरबास क्षतिग्रस्त भएर पराश्रित भएका नेपाली नागरिकको परिवारलाई तत्काल राहत र आवास निर्माणको लागि सरकारले घोषणा गरेको सहयोग रकम यथाशीघ्र उपलब्ध गराउन सरकारसंग अनुराेध गर्दछु।

म यस अवसरमा प्रदेश सरकार र स्थानीय सरकारले दिने राहत रकम पनि समन्वयात्मक ढंगले वितरण गर्न सम्बन्धित निकायहरुलाई अनुरोध गर्दछु । नेपाली कांग्रेससहित अन्य राजनीतिक दलहरुले बर्षा र बाढी पहिरोबाट पीडितहरुको उद्धार,राहत र बसोबासको व्यवस्थाको लागि पहल गर्न गरेको अनुरोधलाई सकारात्मक रुपमा ग्रहण गरी राहत सहयोग घोषणा गरेर बाढी, पहिरो र बर्षाले पुर्याएको नोक्सानीको स्थलगत निरीक्षणमा स्वयं अग्रसर हुनुभएका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको पहलकदमीको पनि म सराहना गर्न चाहन्छु ।

यही कार्तिक ३ गते बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढी पहिरोमा परी जीवन गुमाएका व्यक्तिका परिवारलाई दुई लाख रुपैया आर्थिक सहयोग दिने र एकभन्दा बढी सदस्यको मृत्युभएको भए प्रतिव्यक्ति थप एक लाख रुपैया दिन तथा प्राकृतिक प्रकोपमा परेर आबास गुमाएका, खाद्यान्नबाली तथा जग्गाजमीन र व्यवसाय गुमाएर गुजरा चलाउन समस्या भएका नागरिकको ५ जनाको परिवारलाई १५ हजार र सोभन्दा ठूलो परिवारलाई २० हजार रुपैया उपलब्ध गराउने तथा बाढी पहिरोमा परेर घाइते हुने सबैको निःशुल्क औषधोपचार गर्ने निर्णय पनि गरेको थियो ।

सरकारले घर भत्किएर बिचल्ली भएकालाई प्रतिघर ५० हजार रुपैया दिने तथा घर पुनर्निमाणका लागि पहाडमा ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख रुपैया उपलब्ध गराउने निर्णय पनि गरेको छ भने घर निर्माणको लागि जग्गा नभएकाहरुको लागि थप ३ लाख दिने निर्णय पनि गरेको छ ।

सरकारले बाढी पहिरो र बर्षाबाट भएको क्षतिको आँकलन गरी प्रतिवेदन पेश गर्न मन्त्रालयहरुलाई निर्देशन दिनुका अलवा क्षतिग्रस्त सडक,पुल,विमानस्थलको मर्मत संभार गरेर सञ्चालन गर्न,विपद् प्रभावित क्षेत्रमा रोग फैलन नदिन, प्रभावितहरुको उद्धार,राहत र पुनस्थापना वा पुर्नबासको व्यवस्थामा प्रदेश र स्थानीय तहबीच समन्वय गर्ने व्यवस्था मिलाउने पनि निर्णय गरेको थियो ।

असोजको अन्तिम दिनदेखि नेपालको सुदूरपश्चिमबाट पसेको बर्षाले पाकेर भित्र्याउन तयार भएको धान बालीमा ठूलो क्षति पुर्‍याएकाले नेपालका किसानहरु चिन्तित छन् । यसैले स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय कायम गरी क्षतिको यथार्थ विवरण संकलन गरेर क्षति अनुसारको सहयोग दिन अत्यावश्यक छ । अन्यथा नयाँपुस्ताका लागि आकर्षणबिहिन र उपेक्षित बन्दै गएको कृषि अरु उपेक्षित हुन सक्ने स्थिति पैदान हुन सक्छ ।

देशभरका किसानहरु पीडित भएको यस दुःखद अवसरमा म देशका बीमा कम्पनीहरुलाई किसानलाई कृषि बीमाको जानकारी गराएर बाली बीमा गराउन उत्प्रेरित गर्न पनि आग्रह गर्दछु । यसले भविष्यमा बालीको क्षतिपूर्ति सहज हुन जानेछ ।

बेमौसममा परेको बर्षाले पुर्याएको क्षतिले हामीलाई मौसमसम्बन्धी जानकारीलाई गम्भीरतापूर्वक लिन पनि शिक्षा दिएको छ । खास गरी भारतीय उपमहाद्धीप र पश्चिमी अरब सागरमा विकसित हुने मौसमी प्रणालीको प्रत्यक्ष असर नेपालमा पर्ने भएकोले यससम्बन्धी जानकारी विशेष प्राथमिकतासाथ सार्वजनिक गर्न जल तथा मौसम विज्ञान विभागलाई अनुरोध गर्दछु र नेपालका सम्पूर्ण सञ्चार माध्यमहरुलाई पनि मौसमसम्बन्धी समाचारलाई प्राथमिकतामा राखेर लक्षित वर्गमा सूचना प्रवाहित गर्न सहयोग गरिदिन बिनम्र अनुरोध गर्दछु ।

जय नेपाल !

मिति : २०७८ कार्तिक ७ गते ।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार